“सहकारीको संस्थागत सुशासनमा गरिने अभ्यास मुल समस्या हो”
सहकारीहरुको जागरण, प्रवर्द्धन, विकास र सञ्जालीकरणका लागि नेफ्स्कूनले सञ्चालन गरेको आधारशिला कार्यक्रम महत्वपूर्ण कार्यक्रमको रुपमा रहेको छ । नेफ्स्कूनद्वारा विभिन्न पालिकाहरुसँगको सहकार्यमा सञ्चालित आधारशिला कार्यक्रम सम्झौता गरि कमलामाई नगरपालिकाले सहकारी संस्थाहरुको दिगो संस्थागत विकासको नीति अनुरुप तालिम सञ्चालन, नीतिगत सहजीकरण, योजना निर्माण लगायतका कामहरु संघसँगको सहकार्यमा निरन्तर गरिरहेको छ ।
आधारभूत तहबाट सहकारीको प्रवर्द्धन गरिनुपर्छ भन्ने अठोटका साथ कमलामाई नगरपालिकाले पनि संघद्वारा प्रवर्द्धित आधारशिला कार्यक्रमलाई महत्वका साथ अघि बढाएको छ । नगरपालिकाका सहकारी शाखा प्रमुख मुकेश तामाङ भन्नुहुन्छ, “प्रत्येक सहकारीले आफ्ना सदस्यहरुको आर्थिक सामाजिक जीवनस्तर परिवर्तनमा सहयोगी भूमिका खेल्न सक्नुपर्छ ।,“सहकारी संघ संस्था आफै अग्रसर भएर आय, उत्पादन र रोजगारी सिर्जनाका काम गर्न नसके पनि सहकारी संघ संस्थामा थुप्रिएको बचत सदस्यहरुमा उद्यमशीलता प्रवर्द्धन र उत्पादनमुलक क्षेत्रमा लगानी गरि उत्पादन वृद्धि, रोजगार सृजना तथा गरिबी निवारण गर्न सकिने प्रचुर सम्भावनालाई अव अवसरमा बदल्ने गरि काम गर्नसक्नुपर्छ ।”
यसै सन्दर्भ र परिवेशलाई मध्येनजर गर्दै सहकारी क्षेत्रको जागरण, प्रवर्द्धन, विकास र सञ्जालिकरण का लागि संघ र नगरपालिकाबीचको आधारशिला कार्याक्रम कार्यान्वय अवस्था र आगामी आर्थिक वर्षका लागि नगरपालिकाको नीति तथा योजनाका सम्बन्धमा नगरपालिकाका सहकारी शाखा प्रमुख मुकेश तामाङसँग गरिएको संक्षिप्त कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।
सहकारी व्यवस्थापनमा स्थानीय तहको चासो कस्तो रहेको छ ?
संघीयतासँगै स्थानीय सरकारको प्राथमिकता प्राप्त अधिकार क्षेत्रको रूपमा सहकारी दर्ता, नियमन लगायतको जिम्मेवारी छ । एकै किसिमको चासो वा प्राथमिकता सबै पक्षमा एकै नहुन पनि सक्ला ! स्थानीय तहको कार्य व्यस्तता, बहुप्रकृतिका कामहरू र कोर कामभन्दा पनि ननकोर काममा बढी अल्झिनुपर्दा उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना, आय, उत्पादन र रोजगारी वृद्धि लगायतका आर्थिक क्षेत्रलाई गतिशीलता प्रदान गर्ने काम र नागरिकको जीवनमा देखिने प्रभाव (भिजिवल ईम्प्याक्ट) का विषयमा अपेक्षाकृत सफलता प्राप्त नभए पनि पालिकाको प्रयास जारी रहेको छ ।
'सहकारीलाई रूपान्तरणको आधारस्तम्भ बनाउन समय लागेको छ ।'
अर्कोतर्फ, सहकारी मार्फत आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका कामहरू अपेक्षित रूपमा हुन बाँकी नै छन् । स्थानीय तहले नियमन र प्रवर्द्धन दुवैलाई प्राथमिकताका साथ लैजान पहल गरिरहेको छ, तर पनि जनशक्ति, स्रोत-साधन अभाव जस्ता विविध समस्या प्रतिफलमा बाधक बन्छन् नै ।
बजेट विनियोजनमा पनि सहकारी क्षेत्र उच्च प्राथमिकता पर्ने सम्भावना न्यून नै रहन्छ । सहकारी मार्फत स्थानीय तहलाई आर्थिक विकासको केन्द्रको रूपमा विकास गर्न सकिने अवस्था हो, तर संघीयताको नयाँ अभ्यास भएको कारण पनि सहकारीलाई रूपान्तरणको आधारस्तम्भ बनाउन समय लागेको हो भन्ने लाग्छ ।
सहकारीको प्रवर्द्धन र विकासमा कमलामाई नगरपालिकाले के गरिरहेको छ ?
पहिलो कुरा त सहकारीसँग सम्बन्धित रहेर स्थानीय तहले सहकारी संस्थाको नियमन गर्ने अधिकारी दिएको छ । जुन राज्यको शक्तिको रुपमा रहेको छ । नगरपालिकाले पहिलो चरणमा निक्षेपकर्तालाई सहकारी कारोबारका सम्बन्धमा जानकारी गराउने, सूचना प्रवाह गर्ने काम गरेका छौं । सहकारीको कार्यगतिविधि र प्रक्रियालाई नियालिरहेका छौं । त्यसमा सहकारीको अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण, निक्षेप संकलनका क्रियाकलापहरु, सहकारी ऐनले व्यवस्था गरेका कोषहरुको अवस्था, कार्यान्वयन प्रक्रिया के छ भन्ने कुराको पनि अनुगमन मूल्यांकन गरिरहेका छौं । ऐनले स्पष्ट व्यवस्था गरेको कोषहरुमा सम्बन्धमा सहकारीको कार्यान्वयन प्रक्रिया के छ भन्ने विषयमा हामीले सोधखोज गर्ने काम गरेका छौं ।
नगरपालिका भित्र कुल १२६ सहकारी छन्, ती मध्ये ६८ वटा सहकारी नियमित प्रतिवेदन बुझाउनेमा छन् भने १० वटा जति सहकारी विविध समस्याका कारण प्रतिवेदन बुझाउन सकेनौं भन्नेमा छन् । कुल क्रियाशिल सहकारी संस्था मध्ये ७८ प्रतिशत बचत तथा ऋण सहकारी संस्था छन् । मर्जर प्रक्रियालाई पनि जोड दिएर नगरपालिकाको कार्ययोजनामा पनि राखेका छौं ।
सहकारी सञ्चालनमा के कस्ता समस्या पहिचान गर्नुभएको छ ?
सहकारीको समस्या आम समस्याको रुपमा सर्ववितिदै छ । अहिलेसम्म नगरपालिका भित्र खास समस्या त देखिएको छैन । तरपनि सहकारीको संस्थागत सुशासनमा गरिने अभ्यास मुल समस्या हो भन्ने मलाई लाग्छ । सुशासनको अभ्यासमा हेर्ने हो भने ४०ः६० को रेसियोमा सहकारी संस्थाहरु पर्छन् भन्न सकिन्छ । एकिकृत व्यवस्थापन सूचना प्रणाली कोपोमिस, जुन नेपाल सरकारले सुरु गरेको छ, संस्थाको आर्थिक गतिविधि, आर्थिक प्रक्रिया सञ्चालन लगायत संस्थाको स्वमूल्यांकन समेत यसभित्र रहने हुनाले कोपोमिसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ भनेर विभिन्न कार्यक्रम तथा तालिम मार्फत आव्हान पनि गरेका छौं । पछिल्लो समय कोपोमिसमा सुधार भइरहेको पनि देखिएको छ । हाल ५६ प्रतिशत सहकारीहरु नियमित कोपोमिसको रिपोटिङमा सहभागी छन् ।
अर्को कुरा आम सदस्यमा सहकारीको ज्ञान महत्वपूर्ण कुरा हो । सहकारी हाम्रै हो भनि अपनत्व लिन सक्ने खालको सहकारी शिक्षा आवश्यक छ भन्ने लाग्छ । कुशल प्रशिक्षकद्वारा सहकारी सम्बन्धी शिक्षा तथा तालिमको आवश्यकता मैले महशुस गरेको छु । अर्को स्थानीय तहमा अथवा जनप्रतिनिधिहरुलाई सहकारीको सम्बन्धमा स्वामित्व लिनुपर्ने विषय छ । सहकारीहरुले पनि आवश्यकताका आधारमा जनप्रतिनिधिहरुलाई कार्यक्रममा सहभागी गराउने र जनप्रतिनिधिहरुले पनि सहकारी सम्बन्धी जानकारी त्यति हामीलाई आवश्यक छ्रैन भन्ने खालको सोचलाई एकिकृत गरेर जान आवश्यक देख्छु । सहकारी पनि समाजको एउटा अंग हो, जसले आर्थिक उपचार संस्थागत रुपमा गरिरहेको छ । समाजमा सदस्यहरुमाझ आर्थिक उपचार गर्ने सहकारी संस्थाहरु कुनै बदमास भएमा अथवा कुनै अप्ठ्यरो परिस्थितिमा परेमा, ऋणिहरुले ऋण जोखिममा पारेको अवस्था भएमा के कस्तो कार्यान्वयन गर्न सकिन्छ भनि स्थानीय तह र सहकारी संघ संस्थाहरुबीच समन्वय तथा साझेदारी गरेर जाने वातावरण बन्नुपर्छ । सहकारी ऐन, २०७४ र नियमावली, २०७५ नै कार्यान्वयनमा जानुपर्छ, स्थानीय तहमा फरक कानुन बनाउनुपर्छ भन्ने हुँदैन ।
आगामी कार्ययोजना के छन् ?
हामीले सहकारीको आधारभूत आधार खोजिरहेका छौं, सहकारीको असल अभ्यास के भइरहेको छ भनेर मैले सहकारीकर्मीहरुलाई प्राय सोध्ने गर्छु । उत्पादन र स्वरोगार निर्माणको क्षेत्रमा सहकारी संस्थाहरु सचेत छन्, तर असल अभ्यासको प्रक्रिया शुरु हुन सकेको छैन । म उहाँहरुलाई तपाईंको सहकारी स्थापना भएको कति बर्ष भयो ? भन्ने प्रश्न गर्छु, उहाँहरु कोही ८ बर्ष, कोही १३ वर्ष भयो भन्नुहुन्छ । ८ बर्षमा सहकारीले गरेको असल अभ्यास के छ ? सदस्यहरुको जीवनमा के परिवर्तन ल्याउन सहयोग गर्यो ? सहकारी मार्फत सदस्यहरुले आफ्नो आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याएको विषय र सहकारीका असल अभ्यासहरु संकलन गरेर प्रकाशन गर्न पाईयो भने त्यसले ठूलो महत्व राख्छ भन्ने लाग्छ । असल अभ्यासमा गरिएका क्रियाकलापहरु के हुन् । त्यसले प्रभाव पार्ने पक्ष को हो भन्ने पहिचान सहज हुन्छ ।
सहकारीले आफूले गरेका कामहरु, प्रवाह गर्ने सेवाहरुको प्रचार प्रसारका लागि स्टिकर बनाउनुहोस्, त्यसका लागि आवश्यक सहयोग म व्यक्तिगत रुपमा गर्न तयार छु पनि भनेको छु । आधारभूत तहबाट सहकारी प्रवर्द्धन शुरु गर्नुपर्छ भन्ने मेरो सोच हो । जसबाट सहकारीले पनि त गरेको रहेछ है भन्ने सन्देश फैलाउन सकियोस् ।
दोस्रो कुरा साधारणसभा, ऐन नियम कानुनले दिएको कुराहरु हामीले गौण रुपमा हेरेका छौं । सहकारीको व्याजदर, प्राथमिक पुँजी कोष, जगेडा कोषका कुराहरु नियामक निकाय भएकोले हामीले त्यो हेर्ने नै छौं । आधारभूत कुराको प्रवर्धन गर्न खोजिएकोले त्यसमा पनि जोड दिइएको छ ।
मानवीय संशाधन विकासमा विशेष गरि सहकारीमा कार्यरत रहेको बजार प्रतिनिधिदेखि लिएर व्यवस्थापक सम्मको मानवीय संशाधन विकास र वृद्धि हुनुपर्छ । वृद्धि पनि एउटा सामान्य तहमा मात्र नभएर एक किसिमको ‘टट’ दिन सक्ने, आफूमा विश्वस्त भएर सहकारी सम्बन्धी ज्ञान सीप वितरण गर्न सक्ने हुनुपर्छ भनेर सोचेका छौं ।
नगरपालिकाको १० बर्षे रणनीतिक योजना निर्माणको काम कहाँ पुगेको छ ?
नेफ्स्कूनसँग आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता पछि हामीले नेफ्स्कूनकै सहकार्यमा सहकारी प्रवर्द्धनमा १० वर्षे रणनीतिक योजना निर्माणको काम थालनी गरेका छौं । जसको प्रारम्भिक चरणको छलफल भेलाको काम सम्पन्न भईसकेको छ । विभिन्न सरोकार रहेका सहकारीका प्रतिनिधिहरु, प्रमुखहरुसँग छलफल गरेर सहकारीको स्वरुप कस्तो हुन्छ भन्ने कुराको भिएमजे नै तयार गरेका छौं । त्यसमा अन्य तोकिएका विभिन्न सेवा केन्द्र स्थापना र सहकारीको संख्याको विषयमा एउटा प्रारम्भिक मस्यौदा नै तयार गरेर ल्याएका छौं । यो मस्यौदा आफैमा झट्ट सुन्दा र पढ्दा सहकारीको संख्या घट्ने जस्तो देखिन्छ । तर पनि यो एउटा रणनीतिक योजनामा परेकोले यसले सिंगो कमलामाई नगरपालिकामा एउटा टेवा पुर्याउन सक्छ भन्ने हामीलाई लागेको छ । यसले एउटा अवसर पनि दिएको छ, जोखिम पनि दिएको छ । यही अवसर र जोखिमका बीचमा हामीले सामन्यत आधारभूत क्रियाकलापका कार्यहरु सुरुवात गर्दै आएका छौं, प्रारम्भिक मस्यौदा ल्याएका छौं । यस सम्बन्धमा टेवल गरेर प्रमुख उपप्रमुखहरुज्यूहरुमा वितरण गरिसकेका छौं । टेवल भईसकेपछि अन्य क्रियाकलापहरु हुनेछ, समय केही लाग्न सक्छ । सम्पन्न हुनेछ भन्ने विश्वास लिएका छौं, रणनीतिक योजना निर्माणको काम तोकिएको समयमा सम्पन्न भयो भने सम्भवत हामी पहिलो पनि हुनेछौं ।
आगामी बर्षको बजेट तथा योजना ?
सरकारको आगामी बर्षको बजेटको भोल्यूम के कति हुन्छ त्यसको आधारमा नै नगरपालिकाले पनि आफ्ना बजेट तथा योजनाहरु कार्यान्वयन चरणमा लान्छ । आउँदो बर्ष पनि हामी नेफ्स्कून सँगको साझेदारीमा हुने क्रियाकलापहरुलाई निरन्तरता दिने नै छौं । साथै विभिन्न बचत संघहरु, अन्य विकास साझेदार संस्थाहरुसँग सम्बधिन्त भई विशेष गरेर सहकारीको संस्थागत विकास लक्षित क्रियाकलापहरुलाई प्राथमिकतामा राखेर काम गरिनेछ । सहकारीसँग सम्बन्धित कर्मचारीहरु पनि क्वीक कार्यक्रम केन्द्रीत भएर आ आफ्नो जिम्मेवारीमा लाग्नेछन् ।
'नेफ्स्कूनले स्थानीय निकाय सँगको समन्वय र साझेदारी मार्फत सहकारीहरुको दिगो विकास र प्रवर्द्धन गर्ने लक्ष्य सहित २०७७ साउनदेखि आधारशिला कार्यक्रम प्रारम्भ गरेको थियो । वित्तीय पहुँच अभिबृद्धि, सहकारी संस्थाहरुको दिगो संस्थागत विकास, सञ्जालिकरण र उद्यमशीलता मार्फत सदस्यहरुको जीवनस्तर सुधार गर्ने अभिप्राय राखेर सहकारी क्षेत्रका प्राप्त उपलब्धीहरुको सम्वर्द्धन गर्न आधारशिला कार्यक्रम अगाडि सारिएको हो ।'
७ घण्टा अगाडि
७ घण्टा अगाडि
७ घण्टा अगाडि
८ घण्टा अगाडि
९ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
७ घण्टा अगाडि
७ घण्टा अगाडि
९ घण्टा अगाडि
७ घण्टा अगाडि
८ घण्टा अगाडि
३८ दिन अगाडि
३८ दिन अगाडि