सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

सन् २००८ देखि २०१२ सम्मको विश्वव्यापी वित्तीय संकट र युरोजोनको सार्वभौम ऋण व्यवस्थापनमा देखिएको समस्या पश्चात त्यस क्षेत्रका बैंकहरूको संस्थागत सुशासन सम्बन्धी नियमन र सुपरीवेक्षणमा महत्वपूर्ण परिवर्तन आएको थियो । विश्वव्यापी वित्तीय संकटपछि बैंक तथा वित्तीय संस्थाको सुशासन र नेतृत्व क्षमतामाथि विश्वभर नै पुनर्विचार हुन थाल्यो । संकट पश्चात युरोपेली सङ्घले वित्तीय संस्थाहरुको सञ्चालक तथा प्रमुख जिम्मेवारीमा रहने व्यक्तिको उपयुक्तता र योग्यता परीक्षणलाई थप कडा बनायो भने अमेरिकामा वित्तीय संस्थाका सञ्चालक समितिको जोखिम सुपरीवेक्षण गर्ने क्षमता र सामूहिक उत्तरदायित्वलाई केन्द्रीत गरिएको थियो । त्यसैगरी सन् २००४ मा नै भारतले निजी क्षेत्रका बैंकका सञ्चालकका लागि ‘फिट एन्ड प्रपर’ परीक्षणको व्यवस्था सुरु गरिसकेको थियो र उक्त संकटपछिको समयमा त्यसलाई थप सुदृढ ग¥यो । सन् २००५ मा सिंगापुरले बैंकका सञ्चालक तथा कार्यकारी अधिकृतको नियुक्तिमा ‘फिट एन्ड प्रपर’लाई नियामकीय मापदण्डसँग जोडेको छ । बैंकिङ्ग फर इन्टरनेशलन सेटलमेन्ट (विआइएस) को सन् २०२० को ‘बैंक सञ्चालक समिति : वित्तीय संकटपछिका नियामकीय अभ्यासको समीक्षा’ सम्बन्धी अध्ययनले १९ वटा क्षेत्राधिकारमा बैंक तथा वित्तीय संस्थाका सञ्चालकको ‘फिट एन्ड प्रपर’ परीक्षण, सञ्चालक समितिको संरचना र भूमिका सम्बन्धी व्यवस्थाको समीक्षा गरेको थियो । 

विश्वका विभिन्न मुलुकका वित्तीय सहकारी वा क्रेडिट युनियनको अभ्यासमा सञ्चालकको ‘फिट एन्ड प्रपर’ सम्बन्धी व्यवस्था संस्थाको प्रकृति र जोखिम अनुकूल बनाइएको देखिन्छ । संसारभरका बचत ऋण सहकारीहरुको थिङ्क ट्याङ्क विश्व ऋण परिषद्ले क्रेडिट युनियनका सञ्चालकका लागि इमान्दारिता, क्षमताका साथै व्यक्तिगत र सामूहिक प्रतिबद्धतालाई आधारभूत आवश्यकता मानेको छ भने वित्तीय साक्षरता, वित्तीय विवरण बुझ्न सक्ने क्षमता र संस्था सञ्चालनको लागि आवश्यक सिप तथा पर्याप्त समयको प्रतिबद्धतालाई समेत महत्व दिएको छ । आयरल्यान्डको केन्द्रीय बैंकले वित्तीय सहकारीहरूका लागि लागि ‘उपयुक्तता र सदाचारिता’ को व्यवस्था लागू गर्दै सञ्चालकको क्षमता, अनुभव, ज्ञान, इमान्दारिता र वित्तीय सबलतालाई महत्व दिएको छ । त्यस्तै, अस्ट्रेलियाको सहकारी सहित वित्तीय क्षेत्रको नियमन गर्ने प्राधिकरण अप्राले व्यक्तिगत सञ्चालकको क्षमता मात्र नभई सम्पूर्ण सञ्चालक समितिको सामूहिक क्षमतालाई समेत ‘फिट एण्ड प्रपर’ परीक्षणको महत्वपूर्ण आधार मानेको छ । दक्षिण एसियामा बंगलादेशको अभ्यास पनि उल्लेखनीय हुन सक्छ । बंगलादेशमा सहकारी संस्थाका सञ्चालकको उपयुक्ततालाई ‘फिट एण्ड प्रपर’ को नामले छुट्टै परीक्षण गर्नेभन्दा सहकारी कानुन, नियम, सञ्चालकको अयोग्यता, तालिम, लेखापरीक्षण तथा नियामकीय निरीक्षणमार्फत सुशासन सुनिश्चित गर्ने प्रयास गरिएको देखिन्छ । बंगलादेशको सहकारीसम्बन्धी एउटा नियामकिय निर्देशनमा सञ्चालक समितिमा उम्मेदवार बन्ने व्यक्तिले सहकारी व्यवस्थापन सम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्ने र सञ्चालक समितिको कार्यसम्पादनलाई वाह्य लेखापरीक्षणसँग जोडेर मूल्याङ्कन गरी प्रतिवेदन तयार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । यि दृष्टान्तले सहकारीमा प्रभावकारी नेतृत्वका लागि केवल निर्वाचनबाट पद प्राप्त गर्नु मात्रै पर्याप्त नभई सहकारीसम्बन्धी ज्ञान, व्यवस्थापकीय क्षमता र उत्तरदायित्व समेत आवश्यक हुन्छ भन्ने दक्षिण एसियाली सन्दर्भलाई प्रष्ट्याउँछ । 

विभिन्न अन्तर्राष्ट्रिय अभ्यासले सहकारीमा ‘फिट एन्ड प्रपर’ मापदण्ड निर्धारण गर्दा बैंकिङ क्षेत्रकै व्यवस्था जस्ताको त्यस्तै लागू गर्नुभन्दा संस्थाको आकार, प्रकृति, जटिलता र जोखिमको तह अनुसार अनुपातिक व्यवस्था गर्दै इमान्दारिता, वित्तीय साक्षरता, सहकारीसम्बन्धी ज्ञान, जोखिम बुझ्ने क्षमता र सामूहिक नेतृत्व क्षमतालाई समेट्नुपर्ने देखाउँछ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेका सुशासनसम्बन्धी व्यवस्थालाई यही अन्तर्राष्ट्रिय नियामकीय अभ्यासको नेपाली सन्दर्भका रूपमा लिन सकिन्छ । तसर्थ नेपालको सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका सुशासन र विश्वास सम्बन्धी चुनौतीका सन्दर्भमा ‘फिट एन्ड प्रपर’ को अवधारणालाई यही दृष्टिकोणबाट हेर्न आवश्यक छ । 

विश्वका विभिन्न देशका दृष्टान्त हेर्दा वित्तीय संस्थाको असफलताको कारण कमजोर संस्थागत सुशासन र नेतृत्वको क्षमता तथा जवाफदेहितासँग जोडिएपछि ‘फिट एन्ड प्रपर’ परीक्षणलाई वित्तीय स्थायित्व र त्यस्ता संस्थाको निक्षेपकर्ताको हित संरक्षण गर्ने एउटा बलियो नियामकीय उपकरणका रूपमा विकास गरिएको पाइन्छ । नेपालको सन्दर्भमा पनि वित्त बजारभित्रको अभिन्न क्षेत्र सहकारी संस्थाहरुको व्यापक विस्तारसँगै संस्थागत सुशासनको प्रश्न झनै महत्वपूर्ण बन्दै गएको छ । कतिपय अवस्थामा सहकारी क्षेत्रमा खराब कर्जा असुलीमा देखिएको चुनौती, ऋणको मागमा आएको कमी, विश्वासको संकट, बचतकर्ताको बचत फिर्ता सम्बन्धी दबाब तथा संस्थागत सुशासनका समस्याले सहकारी संस्थाको सञ्चालन, स्थायित्व र विश्वसनीयतामाथि प्रश्न उठेको छ । यी परिस्थितिले सहकारी संस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सञ्चालक समिति र व्यवस्थापनको निर्णय गर्ने क्षमता, व्यावसायिकता तथा उत्तरदायित्वको महत्वलाई अझ स्पष्ट रूपमा उजागर गरेको छ । यस अर्थमा ‘फिट एन्ड प्रपर’ कुनै व्यक्तिलाई पदमा पुग्न रोक्ने औपचारिक मापदण्ड नभई सक्षम नेतृत्व मार्फत सहकारीको सुशासन, स्थायित्व र सदस्य हितको सुनिश्चित गर्ने व्यवस्था मान्न सकिन्छ । 

सहकारी संस्था निश्चित समुदायमा आधारित त्यहाँका मानिसहरुको व्यापक चासो रहने एउटा सामाजिक व्यवसाय हो । नेपालको सहकारी अभियानमा नेतृत्वको भूमिका र जिम्मेवारी विगत तीन दशकमा उल्लेख्य रूपमा परिवर्तन भएको पाईन्छ । सहकारी ऐन, २०४८ ले मुख्यतः संस्था सञ्चालन र साधारण सभाका निर्णयको कार्यान्वयन तथा संस्थाको उद्देश्यअनुरूप कार्यसम्पादनमा मात्रै सञ्चालक समितिको भूमिकालाई केन्द्रीत गरेको थियो भने सहकारी ऐन, २०७४ ले सञ्चालकको जिम्मेवारीलाई थप फराकिलो बनाउँदै सहकारीका मूल्य, मान्यता र सिद्धान्त अनुरूप संस्था सञ्चालन गर्न, साधारण सभाका निर्णयको कार्यान्वयन गर्न, विधि प्रक्रियाको कार्यान्वयन गर्न , जोखिम पहिचान र व्यवस्थापन गर्न र समग्र सहकारी अभियानको वृद्धि र विकासका लागि सहकारीको नेतृत्वलाई जिम्मेवार बनाएको छ । पछिल्ला चरणहरुमा सहकारी विभाग र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी नियामकीय निर्देशनहरुले सञ्चालकको भूमिकालाई थप विस्तार गरी सुशासन, आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन, सामूहिक उत्तरदायित्व र सञ्चालकहरुको व्यक्तिगत जवाफदेहितालाई समेत जोड्दै लगेको छ । यसर्थ सहकारी संस्थाको सञ्चालक निर्वाचनबाट प्राप्त हुने पद मात्रै नभई संस्था र सदस्यको हित संरक्षण गर्न आवश्यक ज्ञान, सिप, अनुभव, इमान्दारिता र निर्णय क्षमता भएको जिम्मेवार व्यक्ति हुनुपर्ने अवधारणा क्रमशः स्थापित गर्न खोजिएको देखिन्छ । पछिल्लो समय वित्तीय क्षेत्रमा देखिएको प्रतिकूल अवस्था र दबाबका कारण समेत सहकारीको नियामकीय दायरा केही कडा (प्रुडेन्ट) र फराकिलो बन्दै गइरहेको छ । नियमनको दायराभित्र मुख्यतः सहकारी संस्थाको नेतृत्वको योग्यता र सक्षमता एक प्रमुख सुचकको रुपमा राखिएको छ । विगतका दुई आर्थिक वर्षभरि सहकारी विभाग र सहकारी नियमन प्राधिकरणले जारी गरेका विभिन्न निर्देशन तथा परिपत्रहरुको मुख्य केन्द्र संस्थागत सुशासन रहेको कारण पनि सहकारीको नेतृत्व चाहे त्यो सञ्चालक समिति होस वा व्यवस्थापन सबल, सक्षम र इमान्दार हुनुपर्ने तथ्यलाई प्रमाणित गरिदिएको छ । त्यस्तै हालसालै संसोधित सहकारी ऐन, २०७४ को दफा ४१, दफा ४४ र दफा ४६ एवं सहकारी नियमावली २०७५ को नियम ८१ तथा नियमन प्राधिकरणले विभिन्न समयमा जारी गरेका निर्देशनले सहकारीको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत वा व्यवस्थापकको योग्यताको बारेमा स्पष्ट व्यवस्था गरेको छ । 

कानुनतः योग्य नेतृत्वले स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्दछन् भने सहकारी संस्था सञ्चालन सम्बन्धी ज्ञान, सीप एवं उचित शैक्षिक योग्यता सहितको नेतृत्व सहकारी संस्थालाई कामयावी र सफल बनाउनका लागि रणनीतिक मार्गदर्शन प्रदान गर्दै जोखिमको पहिचान एवं व्यवस्थापन, स्रोतको प्रभावकारी परिचालन तथा सदस्य हितमा आधारित दिगो निर्णय लिन सक्षम हुन्छन् । सहकारी संस्थाको सफलता केवल कानुनको परिपालना, पर्याप्त पूँजी वा बलियो नियमनले मात्र सुनिश्चित हुँदैन । त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सक्षम, इमान्दार, उत्तरदायी र दूरदर्शी नेतृत्व उत्तिकै आवश्यक हुन्छ । अझ महत्वपूर्ण कुरा, व्यक्तिगत योग्यता मात्र होइन, सञ्चालक समितिको सामूहिक निर्णय गर्ने क्षमता समेत महत्वपूर्ण मानिन्छ । तसर्थ नेपालको सहकारी क्षेत्रमा ‘फिट एन्ड प्रपर’ लाई केवल नियामकीय औपचारिकताका रूपमा नभई सदस्यको वचत र विश्वासको संरक्षण, सुशासनको सुदृढीकरण तथा सहकारी अभियानको दीर्घकालीन विश्वसनीयता कायम गर्ने नेतृत्व विकासको आधारका रूपमा स्थापित गर्नु आजको आवश्यकता हो ।

बल्लभ तिमल्सिना
तालिम तथा स्रोत केन्द्र प्रमुख
नेफ्स्कून
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

११ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

११ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५९ दिन अगाडि

पाठकबाट थप