कोरोना महामारीबाट सहकारीलाई कस्तो असर परेको छ ?
कोरोना महामारीबाट मुलुकका सबै क्षेत्र प्रभावित बनेका छन् । यसबाट सहकारी क्षेत्रमा पनि नकारात्मक असर परेको छ । धेरै साथीहरु संक्रमित बन्नुभयो । केही साथीहरुको निधन समेत भयो । महामारीले सहकारीको वित्तीय अवस्थामा नराम्रो धक्का दिएको छ । चैत देखि कात्तिक सम्मको ८ महिनाको अवधिमा भएको क्षतिलाई व्यवस्थापन गर्न न्यूनतम पाँच वर्ष मेहनत गर्नुपर्छ भन्ने हाम्रो निश्कर्ष रहेको छ ।
विपत व्यवस्थापन गर्न नेफ्स्कूनको भूमिका कस्तो रह्यो ?
हामीले बन्दा बन्दी सुरु भएपछि विषम परिस्थितिको व्यस्थापन गर्न नेफ्स्कूनमा एउटा कार्यदल बनायौं । हामीसंग जोडिएका सबै सहकारीलाई यस्तो टिम बनाउन आह्वान गर्यौं । प्रतिकूल समयमा सहकारीको सेवा प्रवाह गर्न मार्गनिर्देश जारी गर्यौं । विभाग मार्फत आउनुपर्ने निर्देशिका जारी गर्न लबिईङ्ग गर्यौं । हाम्रो पहलमा नेपाल सरकारबाट पनि नीतिगत कुराहरु आए । विपत् व्यवस्थापन गर्न सहकारी बैंकसंग मिलेर जाने सम्झौता गर्यौं । विपत्मा परेका सहकारीलाई उद्धार गर्न १ अर्बको कोष खडा गर्न सुरुमै १० करोड रुपैयाँ छुट्टयायौं । अहिले पनि हामीले अप्ठ्यारोमा परेका सहकारीलाई यो कोष मार्फत ‘सफ्ट लोन’ दिने व्यवस्था मिलाएका छौं । सदस्य साकोसहरुमा परेको प्रभावलाई नेफ्स्कूनले व्यवस्थापन गरेका कारण दुर्घटनाको संख्या कम भएको हो ।
सहकारी ऐनले सम्भावित जोखिमबाट जोगाउन नेफ्स्कून मातहत स्थिरीकरण कोषको व्यवस्था गरेको छ । यो कोषले अहिले सम्म किन पूर्णता पाउन नसकेको ?
सहकारी ऐन, २०७४ मा भएको स्थिरीकरण कोषको व्यवस्थालाई पूर्णरुपमा कार्यान्वयन गर्ने किसिमको नियमावली आएन । फरक किसिमका ‘स्टेकहोल्डर’ राखेर कार्यान्वयन गर्ने संयन्त्र बनेको छ । राज्यको दृष्टिकोणबाट हेर्दा ठीक होला । तर सहकारी अभियानको प्रतिस्पर्धालाई आधार मानेर हेर्दा तादात्म्यता मिलेर जाने अवस्था देखिदैन । कार्यविधि पनि कठिन छ । स्थिरीकरण कोषको सोच भनेको ठूलो मात्रामा दायित्व रहित स्थिर पुँजीको व्यवस्थापन गरेर समस्यामा परेका सहकारीलाई सहयोग गर्ने हो । यो आयातित् विषय हो । क्यानडा, दक्षिण कोरिया लगायतका सहकारीमार्फत रुपान्तरित भएका ठूला मूलुकले यही कोष अपनाएर छन् । सहकारी संस्थाहरु एकीकृत भएर संख्या कम तर सदस्य संख्या र पुँजी वृद्धि गरेका छन् । यसबाट सेवा प्रवाहमा प्रभावकारिता आएको छ । मुलुकमा बैंक वित्तीय संस्थाहरुसंग प्रतिस्पर्धा गरेर बचत संकलन गर्दा सहकारीको पुँजी महंगो हुनेगरेको छ । वित्तीय अवस्था राम्रो भएका सहकारीको योगदानमा सानो पुँजी संकलन गरेर ठूलो ‘रिभल्भिङ्ग’ पुँजी निर्माण गर्ने र भोलिका दिनमा प्राविधिक कारण संस्थामा जोखिम उत्पन्न हुँदा त्यो दायित्वरहित सामुहिक पुँजी उपयोग गर्न स्थिरीकरण कोष स्थापना हुने हो । तर यहाँ हामीले सांगठनिक संरचनामै हार्दिकता देखेनौं । यसैगरी पुँजी र नीतिको विषयमा राज्यको भूमिका पनि सहज भएन । सहकारी संस्थाले असहज हुने ठाउँमा पुँजी योगदान गर्दैनन् । यसको सांगठनिक संरचनामा पुँजीको योगदान गर्ने र नगर्ने क्षेत्रलाई एकै ठाउँ राख्न हुँदैन ।
नेफ्स्कूनले विभिन्न स्तरीकरण कार्यक्रम संचालन गरेको छ । कार्यक्रम किन आवश्यक पर्यो ?
स्तरीकरण कार्यक्रम ब्राण्डिङ्गसंग जोडिएको छ । मुलुकमा साढे १३ हजार भन्दा बढी बचत तथा ऋण सहकारी क्रियाशिल छन् । सबै संस्थालाई हेर्ने व्यवसायिक दृष्टिकोण एउटै रहिरह्यो । त्यसैले संस्थाहरुको गुणस्तर मूल्याङ्कन गरेर ‘ग्रेडिङ्ग’ गर्नुपर्छ भनेर स्तरीकरण कार्यक्रमको सुरुवात गरेका हौं । नेफ्स्कून सुशासनको सवालमा कसैसंग सम्झौता नगर्ने संघको रुपमा चिनिएको छ । व्यक्तिको बारेमा गुनासो होला, तर आम सहकारीकर्मीहरु नेफ्स्कूनको ‘प्ल्याटफर्म’ र काम प्रति नतमस्तक हुनुहुन्छ । स्तरीकरण कार्यक्रमका लागि सहकारी विभागसंग मिलेर विधि पनि बनाएका छौं । एसियाली ऋण महासंघको गुणस्तर कायम गर्न ‘एक्सेस ब्राण्ड’मा काम ग¥यौं । यसमा एक सय भन्दा बढी संस्था आवद्ध छन् । विभाग र हामीले नीति बनाएर संचालन गरेको ‘प्रोबेसन’ कार्यक्रममा ३ सय संस्था सहभागी छन् । सहकारी विभागको स्वीकृति लिएर नेफ्स्कून एक्लैले ‘कब्र्स’ संचालन गरेको छ । यसमा ६ सय सहकारी संलग्न भएका छन् । यी सबै कार्यक्रममा सहभागी नभएका संस्थाका लागि साकोस जोखिम विश्लेषण कार्यशाला -सार संचालन गरेका छौं । नेफ्स्कूनमा सदस्य नभएका तर हुने सम्भावना भएका संस्थामा पहुँच पुर्याउन ‘आधारशीला’ कार्यक्रम ल्याएका छौं । यसरी हामीले गुणस्तरताको कुरा गरेको हो । केही संस्थामा यस्ता खालका नीति, विधि र प्रविधि कार्यान्वयन गरिदिँदा अन्य सहकारीलाई पनि गुरस्तरीय बन्न प्रेरणा मिल्ने भएकाले यसको सान्दर्भिकता महत्वपूर्ण छ । अभियानमा विश्वासिलो, सुशासनको नमूना केन्द्रीय संघ नेफ्स्कून नै आर्थिक रुपान्तरणको आधारशिला हुनसक्छ ।
पछिल्लो समय गुणस्तरको कार्यक्रम विवादित बनेको छ ?
विवादित बनेको छैन । क्रमभंगता भएर एउटा चरणबाट अर्को चरणमा प्रवेश गर्दाको अवस्था कसैका लागि दुखान्त र कसैका लागि सुखान्त हुन्छ । नेफ्स्कूनले सहकारी ऐन, २०७४ को कार्यान्वयन गरेको हो । नेफ्स्कून सुशासनको हिमायती हो भनेर मैले गर्व महसुस गरेको छु । सहकारी विभागका रजिष्ट्रार र हामीबीच यस विषयमा गत साल पनि संवाद भएको थियो । यस वर्ष रजिष्ट्रारज्यूले नेफ्स्कूनलाई ऐनले नै आफ्नो काम गर्ने अधिकार दिएकाले अन्य निकायसंग ‘टाईअप’ गर्न आवश्यक छैन भन्नुभयो । भोलिका दिनमा संस्थागत गर्ने काममा मद्दत गर्छौं, तपार्इंहरु अगाडि बढ्नुस् भन्नुभयो । यस विषयमा मन्त्रीज्यू र सचिवज्यूसंग पनि कुरा भयो । नेफ्स्कूनको साधारण सभामा बोल्दै विभागका डेपुटी रजिष्ट्रारले नेफ्स्कूनले केही मापदण्ड पालना गरेर ‘सर्टिफाईड’ गरेर जान मिल्छ भन्नुभयो । अरुले गरेका राम्रा कामको सहजरुपमा प्रशंसा गर्ने हाम्रो चलन छैन । केही साथीहरु अपडेट नभएर वा हामीले अपडेट गर्न नसकेर पनि गुनासो आएको हो । अभियान भनेको ‘लिड’ गरेर जाने विषय हो । हामीले कोभिड–१९ महामारीको समयमा कसरी सुरक्षित भएर साधारण सभा गर्ने भन्ने विषयमा पनि नेतृत्व गरेर देखाईसकेका छौं ।
ऐन कार्यान्वयनको कुरा गर्नुभयो । दोहोरो सदस्यता, दोहोरो संचालक लगायतका व्यवस्था कार्यान्वयन गर्न अभियानले सहयोग गरेन भन्ने नियामक निकायको गुनासो छ नि ?
सहकारी ऐन, २०४८ आउनु भन्दा अगाडि नेफ्स्कून स्थापना भएको हो । अभियानले जहिले पनि बाटो देखाउने हो । नेफ्स्कूनका २२ जना पदाधिकारी तथा संचालकहरुले पूर्णरुपमा ऐन कार्यान्वयन गरेर हाम्रो विषयमा प्रश्न उठ्न दिन हुँदैन भनेका छौं । विगतको ऐनले दोहोरो सदस्यता लिन बन्देज नलगाएकाले म दुईटा संस्थामा सस्य बनेको थिएँ । तर मौजुदा ऐन पालना गर्दै मैले भारी मन बनाएर भएपनि लामो समयदेखि सदस्य रहेको एउटा संस्थाको सदस्यता त्यागेँ । नेफ्स्कूनको टिम भित्र दोहोरो सदस्यता भएका, कार्यकारी पदमा बसेर सेवा सुविधा लिने, स्वार्थ बाझिने ठाउँमा रोजगारी भएका वा ऐनले प्रतिकुल ठानेका योग्यता भएका साथीहरु छैनौं । कोही छौं भने नेफस्कून वा अर्को निकायमा खाली गरौं भनेका छौं । अर्काले टिप्पणी गर्ने खालको काम गर्न हुँदैन भनेर हामीबाटै सुरुवात गर्यौं । तर नेफ्स्कून बाहेकका अरुको विषयमा बोल्न सक्दिनँ । हिजो राष्ट्रिय सहकारी महासंघको संचालककोरुपमा कुरा उठाउन सक्थेँ, तर आज सक्दिनँ । ऐनलाई पूर्णरुपमा कार्यान्वयन गर्ने हो भने यसको सुरुवात महासंघले गर्नुपर्छ । महासंघका अध्यक्षज्यूले महासंघ सहित अभियान भित्रका सबै केन्द्रीय संघ र जिल्ला स्तरीय संघमा रहेका पदाधिकारीहरुले ऐन प्रतिकुल हुने कुनैपनि काम गर्दैनौं भन्ने प्रतिवद्धता गर्नुपर्छ । नेतृत्वले भनेको नमानेको अवस्थामा कानुन सक्रिय हुनुपर्छ । सहकारी विभागका रजिष्ट्रारले सूचना प्रकाशित गरेर बस्ने मात्र होईन ऐन प्रतिकुल बसेका सबै साथीहरुलाई तत्काल ऐन भित्र बस्नुस भन्नुपर्छ । अभियानले झकझक्याउँदा र नेतृत्वले अडान राख्दा पनि मानेनन् भने कानुनले व्यवस्थापन गर्ने विधिमा जानुपर्छ ।
भूतपूर्व सहकारी मन्त्री पद्मा अर्यालले सहकारी अभियानको नेतृत्व गर्ने नेताहरुले उत्पादनको विषयमा आफूले नमूना काम गरेर नदेखाउने, खाली भाषण मात्र गर्दै हिँड्ने गरेकाले पनि प्रतिफल प्राप्त नभएको गुनासो गर्नुभएको थियो । अभियन्ताहरुले आफू आवद्ध भएका सहकारीलाई नमूना संस्था बनाउनुपर्ने होईन र ?
उहाँ लामो समय सहकारी मन्त्री हुनुभयो । उहाँले सहकारी बुझ्नुभएन भन्दा चित्त दुखाउनुहोला । मैले उहाँलाई अनौपचारिकरुपमा पनि भनेको थिएँ । हामीले बचत ऋण सहकारी अभियानको नेतृत्व गरिरहेका छौं । बचत ऋण सहकारीलाई उत्पादन, व्यवसाय, र उद्यमशीलतामा जानका लागि अहिलेको ऐन बाधक छ । हामीले बर्तमान सहकारी ऐन, २०७४ संशोधन गर्न माग गरिरहेका छौं । यस विषयमा मन्त्रालय र अभियानबीच छलफल भएपनि संशोधन भईसकेको छैन । यसैगरी हामीले बचत तथा ऋण सहकारीका लागि छुट्टै ‘क्रेडिट युनियन एक्ट’ जारी गर्न राज्यसंग माग गर्दै आएका छौं । हामीले यसको मस्यौदा समेत सरकारलाई बुझाईसकेका छौं । यो ऐनले मात्र अभियानले उठाएका सबै विषय निरुपण गर्न सक्छ भन्ने मेरो धारणा हो । मन्त्रीज्यू बचत ऋणमा यति अर्ब पैसा छ, तिमीहरुले उत्पादनमा लगानी गरेनौ मात्र भन्नुहुन्छ । सहकारी ऐनको कुनैपनि दफाले हामीसंग भएको शेयर, बचत, कोषको पैसा उत्पादनमा लगानी गर्न मिल्छ भनेको छैन । उहाँलाई हामीले यो कुरा बुझाउन सकेनौं । उहाँले यो कुरा बहुउद्देश्यीय र कृषिलाई भन्नुपर्यो । हामीसंग भएको बचत देखेर भाषण गर्नुहुन्छ तर मञ्च अर्को प्रयोग गर्नुहुन्छ । हाम्रो मञ्चमा आउँदा त मैले पनि उहाँलाई भनेकै छु । बचत ऋण सहकारीले सदस्य मार्फत मात्र बचतको पैसा लगानी गर्न मिल्छ । हामीले गरेको लगानी सदस्यले उत्पादनमा लगाउने हो भने मात्र सम्भव हुन्छ । हामीले उहाँहरुलाई उत्पादनमा लगानी गर्नुस् भनिरहेका छौं । तर यसका लागि ब्याज सस्तो हुनुपर्छ । कमर्सियल बैंकबाट ४ प्रतिशतमा कृषि कर्जा लिन्छन् । अनि हामीले ११ प्रतिशतमा दिएको कर्जा लगेर कसरी प्रतिस्पर्धा गर्न सक्छन् त रु हामीले ‘डिप्राईभ्ड सेक्टर’ को पैसा दिनुस न भन्दा उहाँले त्यो कुरा सुन्नुभएन ।
सहकारी ऐनले परिकल्पना गरेको कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधीकरण स्थापना गर्नमा अभियानको लबिईङ्ग नपुगेको हो ?
लबिईङ्ग नभएको होईन । राज्य दह्रो भएको हो । तर चाहिने भन्दा नचाहिने कुरामा दह्रो भएको हो । राज्यले जारी गरेको ऐनमा भएको कर्जा सूचना केन्द्रको स्थापना गर्दा खर्च बढी हुन्छ भन्ने केटाकेटी कुरा गर्न मिल्दैन । राज्यले गर्ने लगानी कम बढी भन्ने हुँदैन । ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्नुपर्छ । नेफ्स्कूनलाई कर्जा सूचना केन्द्र संचालन गर भनेर कानुन बनाएर दिने हो भने हामी चलाईदिन्छौं । यी हामीलाई चाहिने संरचना हुन् । तर हामीले कार्यान्वयन गर्न नमिल्ने विषय भएकाले संचालन हुन नसकेको हो ।
समस्याग्रस्त सहकारीका कारण बचत गुमाएका सदस्यलाई पैसा फिर्ता दिन सरकारले गठन गरेको व्यवस्थापन समितिले न्याय दिन सकेको छैन । यस विषयमा अभियानले बोल्न मिल्दैन र?
समितिले काम गर्न नसकेपनि नेफ्स्कून लगायतका छाता संघहरुलाई कानुनीरुपमा बोल्ने ठाउँ छैन । तर गलत काम गर्ने सहकारीलाई किन कारबाही गरेको भनेर गुनासो गरेका छैनौं । नेफ्स्कूनमा आवद्ध भएका कुनैपनि सहकारी समस्याग्रस्त बनेका छैनन् । हामीसंग जोडिएका संस्था समस्यामा नपरुन भनेर नै हामीले गुणस्तर सुनिश्चितताका लागि स्थिरीकरण र स्तरीकरणको काम गरेको हो । राज्यले आफ्ना ‘विङ्ग्स’लाई नतिजामुखी बनाउनुपर्छ । तर यो समिति बनाउँदा नै विवाद उत्पन्न भएको थियो । अहिले साढे १३ हजार बचत तथा ऋण सहकारीहरु मध्ये ४ हजार जति जिल्ला बचत संघ र नेफ्स्कूनमा आवद्ध बनेका छैनन् । समस्याग्रस्त हुने जोखिममा छन् । किनकि सुशासनमा नरहेका संस्था समस्यामा पर्ने निश्चित छ । संघ, प्रदेश र स्थानीय तहले हेर्न सकेका छैनन् । अझै चार पाँच वर्ष हेर्न सक्ने सम्भावना देखिदैन । त्यसैले छाता संघहरुमा आएर संस्थागत हुने सहकारी जोगिन्छन्, बाँकी ढल्छन् ।
१६ घण्टा अगाडि
१७ घण्टा अगाडि
१८ घण्टा अगाडि
१८ घण्टा अगाडि
१९ घण्टा अगाडि
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
१८ घण्टा अगाडि
२१ घण्टा अगाडि
४ दिन अगाडि
१८ घण्टा अगाडि
१६ घण्टा अगाडि