यसरी तयार भएको थियो ‘साकोस गान’ र मनछुने फेसबुक पोष्ट
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
यसरी तयार भएको थियो ‘साकोस गान’ र मनछुने फेसबुक पोष्ट

काठमाडौं । (बागमती प्रदेश अन्तर्गत काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका ढुङ्खर्कमा २ं०३७ वैशाख १५ गते जन्मनुभएका प्रकाश भूर्तेल सहकारी र साहित्यकर्मीका रुपमा परिचित हुनुहुन्छ । काभ्रेको बनेपा ६ स्थित बुडोल सामुदायिक-बुसा बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति सदस्य भूर्तेलको उक्त संस्थामा यो चौथो स्वयंसेवी कार्यकाल हो । 

सहकारीबाहेक उहाँको अर्को परिचय पनि खास छ । उहाँ नेफ्स्कूनले घोषणा गरेको ‘साकोस गान’,  ‘हातमा हात मिलाऔं’ का सर्जक हुनुहुन्छ । गत पुस महिनामा उहाँले ‘सहकारी अभियन्ता, सञ्चालक र कर्मचारीले कहिल्यै बिर्सन नहुँने कुरा’ शीर्षकमा गर्नुभएको एउटा मर्मस्पर्शी फेसबुक पोष्ट अत्यधिक मन पराइयो र थुप्रै लाइक तथा सेयर समेत गरियो । अर्को अर्थमा उक्त पोष्ट ‘भाइरल’ भयो ।

पेशाले विगत १६ वर्षदेखि एक सामाजिक संस्थामा प्रमुख व्यवस्थापकका साथै निर्यात व्यवसायसँग पनि जोडिनुभएका भूर्तेल अध्ययन, संगीत, कला र साहित्य साधक पनि हुनुहुन्छ । बुबा आमा सहित १० जनाको परिवार भएपनि हाल श्रीमती र २ छोराहरु सहितको ४ जनाको भूर्तेल परिवार बनेपा नगरपालिका ६, बुडोलमा स्थायी बसोबासरत छ । साकोस आबाजले उहाँसँग ‘साकोस गान’ सृजनाको पृष्ठभूमि, यसको लोकप्रियता, पछिल्लो फेसबुक पोष्टको प्रसङ्ग लगायत सहकारी साइनोका बारेमा थप जान्ने प्रयास गरेको छ ।)


यसरी बनेको थियो ‘साकोस गान’
२०६६ सालमा बुडोल सामुदायिक (बुसा) साकोसमा शिक्षा उपसमिति सदस्य रहँदा तत्कालिन टिमबाट आफ्नो सहकारीको एउटा गान तयार गर्नुपर्यो भन्ने छलफल चल्यो । सोही अनुसार मलाई रचना गर्ने इच्छा उत्पन्न भयो । एउटा गीत लेखेर संस्थाको साधारणसभा कार्यक्रममा कलाकार र संगीतका बाजागाजा सहित प्रस्तुतिको अवसर मिल्यो । 

उक्त कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका तत्कालिन उपाध्यक्ष ऋषिराज घिमिरे सर हुनुहुन्थ्यो । मन्तव्यको क्रममा ऋषि सरले साकोस अभियानको पनि एउटा गीत आवश्यक रहेको धारणा राख्दै सहकारी गीतहरु रचनाका लागि हौसला प्रदान गर्नुभयो । बुसाका त्यस समयका अध्यक्ष तथा सहकारी अभियन्ता रामहरि के.सी सर, व्यवस्थापक विवेकराज ठकुरी लगायत त्यस समयको सञ्चालक समितिको सहयोग र हौसलाबाट सहकारी गीतहरु र हालको साकोस गानको सृजना सम्भव भएको जस्तो लाग्छ । 

गान निर्माणमा खर्चिएको समय   
साकोस गान लेख्नु अघि १/२ वटा सहकारी गीत लेखिसकेको थिएँ, यसबीचमा संस्थामा प्रस्तुत गरेकै सहकारी गीत सहकारीका विभिन्न केन्द्रिय स्तरका र राष्ट्रिय स्तरका कार्यक्रममा हामीले गायन प्रस्तुति दिइसकेका थियौँ । करिब ४ महिना पछि नेफ्स्कूनमा साकोस अभियानलाई समग्र प्रतिनिधित्व गर्ने गान तयार गर्ने सल्लाह भएछ । संयोग र सौभाग्यवश नेफ्स्कूनले सङ्कलन गरेका गानहरुमा मेरो रचना पनि परेछ । मैले तयार गरेको गान उत्कृष्ट त लागेछ तर अभियानका केही चीज सन्देशका रुपमा थप गर्नुपर्ने भएकाले केही छोटो भएको भन्दै विष्यवस्तु थपेर अलि लामो लेख्नुपर्ने कुरा भएपछि लगभग १ हप्ताको समय पश्चात् हालको साकोस गान तयार भएको थियो ।

सृजना गर्दाको  रोचक प्रसङ्ग 
शुरुमा सिङ्गो सहकारी अभियानका लागि मन छुने गान बनाएकोमा बचत तथा ऋण सहकारीका लागि मात्र केन्द्रित गर्नुपर्दा अलि साँघुरो भयो कि जस्तो महशुस भएको थियो तर लम्बाएर साकोस भित्रका धेरैकुरा समावेश गर्न पाउँदा खुशीनै लाग्यो । साकोस गान पश्चात् झन हौसला प्राप्त भयो अनि सहकारी सम्बन्धि कविता, गजल र करिब १० वटा गीतहरु लेखेको छु, अभियानको साथ सहयोग पाए रेकर्ड गर्ने सोचमा छु ।

साकोस गानको लोकप्रियता
धेरै बचत तथा ऋण सहकारीहरुमा मेरो गान बज्ने गरेको छ, कतिपय सहकारीमा यस गानमा बाल बचतकर्ताहरुले नृत्य समेत प्रस्तुत गरेको देखेको छु । केही  सहकारीहरुले साकोस गान रचनाकारको हिसाबले सर्जक सम्मानका लागि बोलाउनु हुन्छ । धेरै ठाउँमा राम्रो स्थान पाएर बजेको हुँदा पनि राम्रै बजेको सुन्छु । एकपटक काम विशेषले पूर्वी नेपालको भ्रमण गर्दा आफू बसेको होटल पल्लोपटीको घरका कौशीमा साना नानीहरु मैनबत्ती लिएर “हातमा हात मिलाऔं....” भनेर गानमा नृत्य गर्दै रहेको देखेर भोलीपल्ट सोधेको थिएँ, उनीहरुले साधारणसभाका लागि तयारी गरेको र यस गानका रचनाकारका रुपमा मेरो नाम लिएको सुन्दा बडो खुशी महशुस भएको सम्झन्छु । 

नेफ्स्कूनका कारण साकोस गानको रचनाकारको हिसाबले मेरो एउटा पहिचान बनेको महशुस गरेको छु । यो नै नेफ्स्कूनबाट प्राप्त ठूलो सम्मान हो भन्ने लाग्छ । जति ठाउँमा यो गान पुगेको वा पुर्याइएको छ, त्यहाँ महत्वका साथ नै लिइएको  पाएको छु । यद्यपि, हुनुपर्ने जति यसको प्रचार प्रसार र वितरण भएको छैन जसले गर्दा बचत तथा ऋण सहकारीको पनि आफ्नै गीत तयार भएको छ भन्ने अभियानकर्मीहरुलाई नै थाहा नहुनसक्छ । यसमा नेफ्स्कूनका तर्फबाट पहल हुनुपर्ने जस्तो लाग्छ । 

सहकारीको महत्व र आवश्यकताका विषयमा जानकारी दिन वा जनमानसलाई सहकारीतर्फ आकर्षित गर्न पोष्टर, पम्प्लेट, व्यानर एवं भाषणका तुलनामा श्रव्य दृष्य वा गीत संगीतको माध्यम सहज र प्रभावकारी हुनसक्ने भएकोले सहकारी गीतको रचनामा जुटेँ । आफ्नो रचना ‘साकोस गान’ को रुपमा छनोट भएपछि नेफ्स्कून र बुडोल सामुदायिक साकोसको सहकार्यमा अडियो रेकर्ड गरी सिडी बनाएर देशका अधिकांश सहकारीमा पुर्याइसकिएको छ । उक्त गीतलाई नेफ्स्कूनको २० औं साधारण सभाका अवसरमा काठ्माण्डौमा, अन्तराष्ट्रिय सहकारी वर्ष सन् २०१२ को उद्घाटन समारोह खुल्लामञ्च काठमाडौंमा र सन् २०१२ मा सोल्टी क्राउन प्लाजा, काठमाडौंमा आयोजित ‘साकोस शिखर गोष्ठी’ को उद्घाटन सत्रमा आफू लगायत अन्य कलाकारहरुद्वारा प्रत्यक्ष गायन प्रस्तुत गरिएको थियो । सोही कार्यक्रममा तत्कालिन विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाबाट उक्त अडियो सिडी विमोचित भएको थियो । 

हालसम्म १० वटा सहकारी गीत रचना गरिसकेको छु । आगामी दिनमा सहकारी सम्वन्धित व्यक्ति, संघ संस्थाको सुझाव, सल्लाह एवं साथ पाए सहकारी गीति संग्रहको रुपमा रेकर्ड गरी अडियो र संभव भए सन्दर्भ सामाग्री सहित छायांकन गर्ने चाहना छ । 

पछिल्लो फेसबुक पोष्ट
सहकारी मुल्य मान्यता सिद्धान्त र वास्तविक मर्मलाई नजिकबाट मनन् गर्ने हो भने यस्ता कैयौं मनमा खेलिरहन्छन् । पछिल्लो समय सहकारी क्षेत्रमा बढ्दो अस्वस्थ प्रतिस्पर्धा,  विकृति एवं सहकारीलाई आफ्नो नीजि पेसा व्यवसायका रुपमा चलाउने वा अन्य बैंक वा वित्तीय संस्था जस्तै बुझ्ने गरेको देख्ता, पढ्दा र सुन्दा सबैको जानकारीको लागि केही मननीय र सटिक पोष्ट आवश्यक छ भन्ने लागेर तयार गरेको हुँ ।

मनमा बेला बेला यस्ता संगीन विषयहरु आउने गरेपनि समेटेर लेख्ने मौका मिलेको थिएन । मेरो संस्थाका पूर्व अध्यक्ष आदरणीय रामहरि केसी सरले पनि बेला बेला सहकारीका कार्यक्रम वा जमघटमा यस्ता विषयहरु उठाउनुहुन्थ्यो जसले यो पोष्ट तयार गर्न प्रेरणा मिल्यो र गएको पुसमा लेखेर पोष्ट गरेँ । बिहानीको समयमा एकै बसाइमा तयार गरेँ । अझ धेरै समेट्न मन थियो तर लामो भए पठनीय नहोला भन्ने लागेर संक्षेपीकरण गरेँ । पोष्ट भएपछि मौखिक र लिखित दुवै माध्यमबाट असाध्यै घतलाग्दा प्रतिक्रियाहरु प्राप्त भएका छन् । यतिधेरै लाइक, कमेन्ट र शेयर होला भन्ने अपेक्षा थिएन । प्राप्त सुझाव र प्रतिक्रया केलाउदा मैले उठाएका विषयमा धेरैको ध्यानाकर्षण भएको पाएको छु । कतिले त आफ्नो संस्थामा फ्लेक्स प्रिन्ट तयार गरी देखिने स्थानमा टाँस्ने समेत जानकारी गराउनुभएको छ । यी कुरा वास्तवमै हामी सबैले मनन् गर्नैपर्छ । 

साहित्य सृजना
विद्यार्थी वयदेखि जग बस्यो भन्ने लाग्छ । २०५१ सालपछि साहित्यको जन्म मेरो जीवनमा भयो । कविता, लेख, निबन्ध, गजल, गीत नाटक, गीत, वृत्तचित्रको आलेख विधा हुँदै पत्रकारितातर्फ पनि पद्चाप बस्यो । विद्यालय जीवनमा साथीभाइ र आफन्तहरुमाँझ राम्रो चित्रकारका रुपमा परिचित थिएँ भने अन्तरविद्यालय एवं जिल्लास्तरीय चित्रकला प्रतियोगितामा पुरस्कृत समेत भएँ । त्यसैगरी, ११ वर्षबाट नाट्य विधामा समेत पाइला राखेर डेढ दशकभन्दा बढी समय नाट्य क्षेत्रमा संलग्न रहेँ । विद्यालयदेखि हालसम्म नाटक लेखन, अभिनय र निर्देशन तिनै विधामा काम गरेको छु र विद्यालयका तथा अन्य विविध सांस्कृतिक कार्यक्रम, स्टेज प्रोग्राम, रंगमञ्च, सडक नाटक, संघ—संस्थाका कार्यक्रम र रेडियो नाटकमा गरी लगभग २०० भन्दा बढी अभिनय पस्केको छु । 

व्यावसायिक भन्दा पनि रुचि र सौखका लागि लेख्छु । सृजनाको निश्चित समय छैन । कसैले तयार गरिदिनुपर्यो भन्दा त्यतिनै खेर पनि गर्छु अन्यथा भित्रबाटै लेख्न मन लागेको  बेलामा लेख्छु । विशेषतः बिहान र बेलुकी लेखनले समय ओगट्छ । कविता रचनाबाट साहित्य सुरुवात गरेपनि पछिल्लो समयमा गजल र गीत रचनामा बढी सक्रिय छु । विषयगत संघ संस्थाका गीत देखि चलचित्रका गीत रचनासम्म आफ्नो कलम कुदाएको छु । मलाई लक्ष्मी प्रसाद देवकोटा, पारिजात र वालकृष्ण समका रचनाहरु बढी प्रिय लाग्छन् । 

साहित्य–सहकारी सम्बन्ध
हरेक क्षत्रसँग साहित्यको सम्बन्ध धेरथोर उनिएको हुन्छ । सहकारी र साहित्यबीच दौत्य सम्बन्ध पुरानो र घनिष्ठ छ । सहकारीका कतिपय भन्ने र बुझाउने गहनतम विषय साहित्यको सहयोगबाट अभिव्यक्त गर्दा रसमाधुर्य, रोचक, कर्णप्रिय अनि स्मरणीय बन्छ । गेयात्मकता, वर्ण विन्यास वा शब्दरसले सहकारीको अभिव्यक्तिमा प्राण सिञ्चित गर्छ भन्ने लाग्छ । सहकारी गीत, कविता, नाटक र लेख रचनाहरु हामीले सानैदेखि पढ्दै आएका पनि छौं । सन्देश वा जानकारी वा सूचना प्रवाहमा साहित्य प्रभावकारी हुने हुँदा सहकारी र साहित्य क्षेत्रबीच अन्योन्याश्रित सम्बन्ध छ भन्ने लाग्छ ।

सृजनाको समय, स्थान र विधि
लेख्न कुनै बिशेष स्थान वा समय खोज्दिन र कुर्दिन । कसैले तयार गरिदिनुपर्यो भन्दा त्यतिनै खेर फुर्सद भए लेख्छु । अन्यथा आफूलाई मुड चलेको बेला, विशेष गरेर बिहान र बेलुकाको समय बढी समय दिन्छु । पहिले पहिले कापीमा लेख्ने गर्थें अचेल मोबाइल र कम्प्युटरमा सजिलो लाग्छ ।

सामान्यतया लेख्नुपूर्व मानसपटलमा स्पष्ट अवधारणा बनाएर शुरु गर्छु, यसोगर्दा लेखनीको विषयवस्तुको मोटामोटी ढाँचा तयार हुन्छ र लेख्न सुरु गरेपछि अर्थपूर्ण शब्द र वाक्यहरु निर्माण हुन्छन् । केरमेट भन्दा पनि उत्कृष्टताका लागि शब्द र भाषा चयनमा समय खर्चिन्छु । तर पनि कहिलेकाही एकैदिन २ वा ३ वटा सिर्जना समेत तयार भएको छ । साहित्य क्षेत्रमा मेरो गुरु परिस्थिति र प्रकृति हो । 

सहकारीमा साहित्यका पाठक 
खासै धेरै हुनुहुन्छ जस्तो लाग्थेन तर साकोस गान र मेरा अन्य सहकारी सम्बन्धिका लेख रचना गीत सामाजिक सञ्जालमा र पत्रपत्रिकामा प्रकाशित भएपछि प्राप्त सुझाव र प्रतिक्रिया हेर्दा र सिंगो अभियानमा सहकारीको संख्या, सदस्य, अभियन्ता र कर्मचारीहरुको संख्या हेर्दा सहकारीभित्रै साहित्यका पाठक ठूलो संख्यामा हुनुहुन्छ भन्ने लाग्छ ।

सम्मान पुरस्कार 
कविता र निबन्धका क्षेत्रमा विद्यालयदेखि जिल्लास्तरीय हु‘ंदै राष्ट्रव्यापी प्रतियोगिताहरुमा पुरस्कृत भएको छु । वि.सं. २०५१ मा विद्यालयव्यापी कविता प्रतियोगितामा प्रथम स्थान, वि.सं. २०५३ मा जिल्लाव्यापी कविता लेखनमा द्घितीय, वि.सं.२०५४मा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेद्वारा आयोजित जिल्लाव्यापी निबन्ध प्रतियोगितामा प्रथम, २०५४ मै नेपाल अवुद्र्घरोग निवारण संस्थाद्घारा आयोजित जिल्लास्तरीय निबन्ध प्रतियोगितामा प्रथम, २०५४ मा सोही संस्थाद्घारा आयोजित राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा सान्त्वना पुरस्कार र २०६२ सालमा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयद्घारा आयोजित अधिराज्यव्यापी खुल्ला निबन्ध प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेँ ।

सहकारी साइनो 
२०६१ सालतिर आफ्नै गाउँमा सुरु गरिएको पाँचकुमारी बचत तथा ऋण सहकारी संस्थामा सञ्चालक सदस्य, तत्पश्चात् लेखा समिति सदस्य (२०६३), प्रिमियर बचत तथा ऋण सहकारी संस्थामा संस्थापक कोषाध्यक्ष (२०६६), त्यसपछि बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था बनेपा, काभ्रेमा विभिन्न जिम्मेवारीमा रहेर भूमिका निर्वाह गर्दै आएको छु । २०६६ देखि २०६९ सम्म शिक्षा उपसमिति सदस्य र २०६९ देखि २०७३ सम्म–सञ्चालक समिति सदस्य रहेँ । सञ्चालक रहँदा लघुवित्त उप–समिति र एकिकृत कृषि तथा लघुवित्त उप–समिति संयोजक तथा प्रकाशन उप–समिति र संस्था एकिकरण कार्यदलको सदस्य रहेँ ।

लघुवित्त उपसमितिको संयोजकको हैसियतमा लघुवित्तको अवधारणा, आवश्यकता र गठन सम्बन्धी छलफलमा सहभागी लघुवित्त सञ्चालन विधि विषयमा जानकारी लिइ लघुवित्त सञ्चालन नीति तयार समूहको गान रचना गरेको थिएँ ।

प्रकाशन उपसमितिको सदस्यको हैसियतमा संस्थाको त्रैमासिक रुपमा मुखपत्र (बुलेटिन) प्रकाशनमा सम्पादकीय, लेखरचना र भाषा सम्पादनमा सहयोग गर्दै आएको छु । बुसाको १९ औं वार्षिकोत्सवको अवसरमा व्यक्तिगत प्रयासमा संस्थाको नमुना वृतचित्र तयार गर्ने जिम्मेवारी अनुसार प्राविधिक सम्पर्क र लेखन, पाश्र्व आवाज र वृतचित्र पनि तयार गरेको थिएँ ।

संस्था एकिकरण कार्यदलमा रही विभिन्न सहकारी संस्थालाई एकिकरण गर्ने कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छु । त्यस्तै, २०७३ देखि २०७७ सम्म–एक्सेस् व्यवस्थापन उप–समिति सदस्य रहँदा थप जिम्मेवारीका रुपमा प्रकाशन उप–समिति, संस्था एकिकरण कार्यदल र जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यदलको सदस्य रहेँ । २०७७ पुस १८ गते सम्पन्न बुसाको साधारण सभाबाट सञ्चालक सदस्यको रुपमा निर्वाचित भई शिक्षा तथा प्रकाशन उप–समिति संयोजकको रुपमा कार्यरत छु ।

सहकारी
सहकारी हरेक सुख दुःखमा साथ दिने सहयोगी हो । आपसमा मिलेर कामगर्न सिकाउने एउटा असल शिक्षक हो । गरिब, पिछडिएका र आर्थिक रुपले विपन्न वर्गका लागि सीप र उद्यमशीलता विकास गरी वित्तीय पहुँच स्थापित गर्न बाटो देखाउने सारथी हो । अझ भन्नुपर्दा जन्मभन्दा अघिदेखि मृत्युपश्चात् पनि साथ दिने असल साथी हो सहकारी ।

सहकारी सिकाइ 
सहकारीले धेरैकुरा सिकाएको छ । महत्वपूर्ण कुरा एक्लै केही हुन्न, मिलेर गरे नहुने केही छैन भन्ने पाठ हो । सहकारीमा आएपछि हाँसिल गरेको महत्वपूर्ण कुरा भनेको साथीभाई, सहकारीकर्मी र अभियन्ताहरुसँगको सम्पर्क, सहयोग र साथ हो । त्यसमा पनि सहकारी आफैंमा सुख दुःखको साथी हो । 

सहकारीमा प्रेरणा
सहकारीमा योगदान गर्ने धेरै अभियन्ताहरु हुनुहुन्छ तथापि नामै लिनुपर्दा कैलाशभक्त प्रधानाड्ग, केशवप्रसाद बडाल, मिनराज कडेल, ऋषिराज घिमिरे र मेरो संस्थाका निवर्तमान अध्यक्ष रामहरि केसी लगायतबाट प्रेरणा प्राप्त गरेको छु ।  

भावी योजना
विगत केही वर्षयता सहकारी गीतहरुको रचनामा जुटेको छु यो क्रमले थप सक्रियता पाउने छ । केही धार्मिक, सामाजिक एवं वित्तीय संघ-संस्थाका पुस्तिका, स्थानीय पत्रपत्रिकामा तथा सामाजिक सञ्जालमा विषयगत विश्लेषणात्मक लेख रचना समेत पस्कदैं आइरहेको छु, जसलाई  पनि निरन्तरता दिन्छु । आधा दर्जनजति धार्मिक, सामाजिक र वित्तीय संघ-संस्थाको आबद्धतालाई पनि परिणाममुखी बनाउने योजना छ । साहित्य सृजनाहरुलाई पुस्तकाकार दिने तयारीमा छु । एक साहित्यानुरागीको रुपमा आफ्ना रचनाहरुलाई छापाको माध्यमा लिपिबद्ध गर्ने, सहकारी गीतहरुको संगालो निकाल्ने योजना छ । साथै सहकारी भूमिकालाई थप मजबूत बनाउँदै लाने सोच छ हेरौं समय कसरी अघि बढ्छ !


 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

३ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३५ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप