सहकारीले आत्मनिर्भर बनाएको छ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीले आत्मनिर्भर बनाएको छ

बारीपनि स्वस्थ राख्छु, ज्यान पनि स्वस्थ राख्छु, ५८ बर्षिय कृषि उद्यमी सरिता लामाको तन्दुरिस्तिको राज पनि यहि हो । झण्डै ६० बर्ष टेक्न लाग्नुभएकी लामा निकै स्वस्थ र फुर्तिली हुनुहुन्छ । स्वस्थ शरिरका लागि आहार र व्यायाम त प्रमुख रहेछ, उहाँ भन्नुहुन्छ बारीको कामले कसरत पुग्छ, स्वस्थ उत्पादन खान पाइएको छ, भगवानको कान नपरोस ! आजसम्म केही भएको छैन । 

परिवारिक स्थितिः 

मकवानपुरको इन्दसरोबर वडा नं. ४ मा उहाँको बासस्थान छ । घरसँगै जोडिएको ४ रोपनी जग्गा उहाँकै नाममा छ । श्रीमान पासाङ लामा हुलाकमा जागिरे हुनुहुन्छ । दुई छोरा र एक छोरी सबैको विहेबारी भइसकेको छ । ठूलो छोरा र बुहारी छुट्टै आफ्नै गरिखाएका छन् । साना छोरा बुहारी घरमै बाबुसँग वस्छन् । उद्यमी सरिता भने नजिकैको छोरीको घरमा बस्नुहुन्छ, छोरी विदेश छिन्, छोरीको घरको रेखदेखको जिम्मा पनि उहाँकै छ । दुर्गम गाउँ बस्ती, आम्दानीको स्रोत अभाव, जीवन निर्वाहमुखी खेती किसानीमै वित्यो । उहाँ स्मरण गर्नुहुन्छ, “तीनतीन वटा बच्चा हुर्काउनु पढाउनु साथै घर खर्चको चाँजो मिलाउनु कम सास्ती थिएन त्यतिवेला । त्यो बेलाको हेरी त अहिले निकै सुख छ नि !” उहाँले सुनाउनुभयो । उहाँको जीवनको कथा यतिमै सीमित छैन । २० बर्षको उमेरमा घरपरिबारबाटै पासाङ सँग प्रगतिशिल विवाह भएको थियो । धेरै जानेबुझेका ज्वाई पाईयो छोरीले निकै सुख पाउनेभई भन्ने सोच उहाँका आमा बाबुको थियो । भनेजस्तै पनि भयो । घर, परिवार बच्चाबच्ची हुर्कदै गए । दुई छोरा र एक छोरी जन्माएपछि सरिताले गाउँमै परिवार नियोजनको क्याम्प आउँदा स्थाई परिवार नियोजन गराउनुभयो । यही परिवार नियोजनको निर्णय सरिताका श्रीमान श्रीमती बीचको टकराब बन्न पुग्यो । उहाँ भन्नुहुन्छ,  “छोरा छोरी बुझ्ने भईसकेपछि  पनि श्रीमान श्रीमती बीच राम्रो बातावरण बन्न नसकेकोले मैले छुट्टाछुट्टै बस्ने निर्णय गरे, आफै दुख जिलो गरेर छोराछोरी पढाउने हुर्काउने गरेँ ।” 

उद्यमी सरिता स्मरण गर्नुहुन्छ, त्यस्तो दुखको बेला सहकारीले साथ दियो, सहकारीको यो गुण म कहिल्यै तिर्न सक्दिन ।

सहकारीको साथ 

सहकारीले आज मलाई राम्रो ठाउँमा ल्याइपुर्यायो, त्यहीँ बचत गर्छु, त्यहीँको सदस्य छु, उहाँ भन्नुहुन्छ, “गाउँमा सहकारी भएर आज बोल्न पनि नजान्ने आमा बुबा साथै दिदीबहिनीहरुलाई बचतको महत्व सिकाएको छ, आफ्नै पैसाले व्यवसाय गरेर जिविकोपार्जन सहज बनाउन मद्दत गरेको छ । सहकारीकै साथ पाएर आर्थिक रुपमा आत्मनिर्भर भएर बाँच्न सकेँ । 

उद्यमी सरिता २०६४ सालमा सहकारीमा सदस्य बन्नुभयो । नियमित बचत गर्ने, सहकारीले विभिन्न समयमा राखेका कार्यक्रम तथा सीप विकास र तालिमका कार्यक्रममा सहभागिता बढ्न थाल्यो । सहकारी र विभिन्न संघ संस्थाले माटोको संरक्षण गर्दै अग्र्यानिक तरकारी खेती कसरी गर्न सकिन्छ भन्ने तालिम प्राप्त गरेसँगै उद्यमी सरितालाई व्यावसायिक तरकारी खेतिप्रति आकर्षण बढ्यो ।  
सरिताले सहकारीबाट शुरुमा ५० हजार ऋण लिएर कुखुरा पालन व्यवसाय सुरु गर्नुभयो । कुखुराको व्यवसाय राम्रो बनिरहेको थियो । सँगै तरकारी खेतीको उब्जनी पनि निकै बढ्दो थियो । एक्कासी कोभिड १९ भित्रिएसँगै कुखुरा, तरकारीको माग घट्यो । कुखुराबाट राम्रो आम्दानी भएन उत्पादित तरकारी पनि सबै कटेन उहाँले दुःख सुनाउनुभयो । 

सहकारी

२०५६ साल मंसिर १० गते स्थानीय महिला दिदीबहिनीहरुको सक्रियतामा मकवानपुरको इन्द्रसरोवरमा स्थापना भएको सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था सक्रिय र क्रियाशिल महिला सदस्यहरुको साथ सहयोगले फक्रेको छ । आज १६ सय ३२ सदस्यहरुमार्फत संस्थाको कुल पुँजी १२ करोड ४४ लाख पुगको छ । १ करोड १२ लाख सेयर पूँजी, ८ करोड ३२ लाख बचत, ९ करोढ २८ लाख ऋण लगानी रहेको संस्थाको संस्थागत पूँजी पनि १ करोड २० लाख पुगेको छ । संस्थामा १ हजार २३ जना बालबचत कर्ताहरु पनि हुनुहुन्छ । २०७३ सालदेखि सक्रिय महिला साकोसको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आउनुभएकी कुशल व्यवस्थापक सविना लामा दिनरात सदस्यहरुको सेवामा खटिनुहुन्छ । यति मात्र होइन विभिन्न दातृ निकायहरुले स्थानीय महिलाहरुको विकासका लागि ल्याएका विकास साझेदारी कार्यक्रमहरुमा सहभागी संस्था मार्फत महिला उत्पादनशील कार्यक्रम, नेतृत्व विकास कार्यक्रम साथै महिला हिंसा विरुद्धको अभियान मार्फत महिलाको आर्थिक सशक्रिकरणका लागि काम गर्दै पनि आउनुभएको छ । उहाँ भन्नुहुन्छ, संस्था मार्फत महिला सदस्यहरुलाई बढी भन्दा बढी कृषि तथा पशुपालन व्यवसायका लागि सहयोग गर्दै आएका छौं, यहाँका प्राय सबै सदस्यहरु कृषि पेसामै आबद्ध हुनुहुन्छ । संस्थाले कृषिलाई आधुनिक र व्यावसायिक बनाउन जर्मनस्थित कम्पनी कारितास नेपालको सहयोगमा सञ्चालित परियोजना मार्फत कृषि बालिका लागि माटो परीक्षण, भकारो सुधार, नर्सरी व्यवस्थापन, बालीमा लाग्ने रोग किरा निदान लगायतका कार्यमा कृषि प्राविधिक (जटिए) माफृत सहजीकरण गर्दै आउनुभएको छ । 
 

 व्यावसायिक तरकारी खेती 

दुई रोपनी अलि मिलेको सम्म छ, २ रोपनी अलि भिरालो छ । तरकारी दुई सिजन हुन्छ, मकै एक सिजन मात्रै । सम्म मिलेको जमिनमा टनेल छ । बन्दा, काउली, टमाटर, साग बर्खाको सिजनमा टनेलमा राम्रो हुन्छ । जाडोमा पनि सीत पर्नबाट टनेलले जोखाउने हुँदा तरकारीका लागि कुनै समस्या हुँदैन । बाख्रा १४ वटा छन् । दशैका लागि ३ वटा खसी तयार भएका छन् । टनेलका लागि प्लाष्टिक, बीऊबिजन र पम्पहरु कृषिबाट पाइन्छ । जैविक मल र जैविक विषादी घरमै बनाउँछु । उहाँले भन्नुभयो, “जैविक विषादीले बोट विरुवा र फलमा किरा लाग्न पाउँदैन । एक पटक छर्केपछि ३/४ महिना ढुक्क हुन्छ, फेरी किरा लाग्न लागेजस्तो देखिएपछि पुन छर्किनुपर्छ ।”   

इन्द्रसरोबर गाउँमा धेरैको व्यावसायिक तरकारी खेती छ । गाउँको तरकारी काठमाडौंको कालिमाटी बजारसम्म स्थानीय व्यक्तिलेनै ठेक्कामा लिएर पु¥याउने गर्दछन् । बजार मुल्य चर्को छ, उपभोक्ता चर्को मूल्यमा पर्छन, उत्पादकले पनि खासै मुल्य पाउँदैन । बीचको बिचौलियालाई राम्रै फाइदा बस्छ । 

कसरी बन्छ जैविक विषादी 

निमको पात, तीतेपाती, क्याचकी, अकबरे खुर्सानी, टिमुर, गाईको गहुँत यी विभिन्न चिजलाई एकैठाउँमा राखी थिचिन्छ, र त्यसलाई ठूलो प्लाष्टिकको भाँडामा राखिएको पानीमा ३४ दिनसम्म डुवाएर राखिन्छ । ३५ दिनको दिनमा त्यसलाई झिकिन्छ, त्यसको राग र गन्ध यति कडा हुन्छ कि नजिक बस्न समेत सकिँदैन । त्यसलाई छानेर पम्पमा हालिन्छ र बोटविरुवामा छर्किइन्छ । 

अत्यमाः 

सक्रिय महिला बचत तथा ऋण सहकारी संस्थाले त हाम्रो गाउँका महिला दिदीबहिनीहरुको आँखा खोलिदियो, भविष्य उज्यालो बनाइदियो । उहाँ भन्नुहुन्छ, सहकारी नभएको भए हामीले न त व्यावसायिक कृषि गर्न जानेको थियो न त अग्र्यानिक तरकारीको महत्व नै बुझेको थियो । केही न केही काम त हामीले अवश्यै गर्नुपर्छ । जिन्दगी नै संघर्ष हो !   दिदीबहिनीहरु कुनै एउटा काम गर्नुस् र त्यसैलाई निरन्तरता दिनुहोस् । कुनै पनि काममा निरन्तर लागेपछि सफलता पक्का छ । 
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप