बारीपनि स्वस्थ राख्छु, ज्यान पनि स्वस्थ राख्छु, ५८ बर्षिय कृषि उद्यमी सरिता लामाको तन्दुरिस्तिको राज पनि यहि हो । झण्डै ६० बर्ष टेक्न लाग्नुभएकी लामा निकै स्वस्थ र फुर्तिली हुनुहुन्छ । स्वस्थ शरिरका लागि आहार र व्यायाम त प्रमुख रहेछ, उहाँ भन्नुहुन्छ बारीको कामले कसरत पुग्छ, स्वस्थ उत्पादन खान पाइएको छ, भगवानको कान नपरोस ! आजसम्म केही भएको छैन ।
मकवानपुरको इन्दसरोबर वडा नं. ४ मा उहाँको बासस्थान छ । घरसँगै जोडिएको ४ रोपनी जग्गा उहाँकै नाममा छ । श्रीमान पासाङ लामा हुलाकमा जागिरे हुनुहुन्छ । दुई छोरा र एक छोरी सबैको विहेबारी भइसकेको छ । ठूलो छोरा र बुहारी छुट्टै आफ्नै गरिखाएका छन् । साना छोरा बुहारी घरमै बाबुसँग वस्छन् । उद्यमी सरिता भने नजिकैको छोरीको घरमा बस्नुहुन्छ, छोरी विदेश छिन्, छोरीको घरको रेखदेखको जिम्मा पनि उहाँकै छ । दुर्गम गाउँ बस्ती, आम्दानीको स्रोत अभाव, जीवन निर्वाहमुखी खेती किसानीमै वित्यो । उहाँ स्मरण गर्नुहुन्छ, “तीनतीन वटा बच्चा हुर्काउनु पढाउनु साथै घर खर्चको चाँजो मिलाउनु कम सास्ती थिएन त्यतिवेला । त्यो बेलाको हेरी त अहिले निकै सुख छ नि !” उहाँले सुनाउनुभयो । उहाँको जीवनको कथा यतिमै सीमित छैन । २० बर्षको उमेरमा घरपरिबारबाटै पासाङ सँग प्रगतिशिल विवाह भएको थियो । धेरै जानेबुझेका ज्वाई पाईयो छोरीले निकै सुख पाउनेभई भन्ने सोच उहाँका आमा बाबुको थियो । भनेजस्तै पनि भयो । घर, परिवार बच्चाबच्ची हुर्कदै गए । दुई छोरा र एक छोरी जन्माएपछि सरिताले गाउँमै परिवार नियोजनको क्याम्प आउँदा स्थाई परिवार नियोजन गराउनुभयो । यही परिवार नियोजनको निर्णय सरिताका श्रीमान श्रीमती बीचको टकराब बन्न पुग्यो । उहाँ भन्नुहुन्छ, “छोरा छोरी बुझ्ने भईसकेपछि पनि श्रीमान श्रीमती बीच राम्रो बातावरण बन्न नसकेकोले मैले छुट्टाछुट्टै बस्ने निर्णय गरे, आफै दुख जिलो गरेर छोराछोरी पढाउने हुर्काउने गरेँ ।”
उद्यमी सरिता स्मरण गर्नुहुन्छ, त्यस्तो दुखको बेला सहकारीले साथ दियो, सहकारीको यो गुण म कहिल्यै तिर्न सक्दिन ।

सहकारीले आज मलाई राम्रो ठाउँमा ल्याइपुर्यायो, त्यहीँ बचत गर्छु, त्यहीँको सदस्य छु, उहाँ भन्नुहुन्छ, “गाउँमा सहकारी भएर आज बोल्न पनि नजान्ने आमा बुबा साथै दिदीबहिनीहरुलाई बचतको महत्व सिकाएको छ, आफ्नै पैसाले व्यवसाय गरेर जिविकोपार्जन सहज बनाउन मद्दत गरेको छ । सहकारीकै साथ पाएर आर्थिक रुपमा आत्मनिर्भर भएर बाँच्न सकेँ ।
उद्यमी सरिता २०६४ सालमा सहकारीमा सदस्य बन्नुभयो । नियमित बचत गर्ने, सहकारीले विभिन्न समयमा राखेका कार्यक्रम तथा सीप विकास र तालिमका कार्यक्रममा सहभागिता बढ्न थाल्यो । सहकारी र विभिन्न संघ संस्थाले माटोको संरक्षण गर्दै अग्र्यानिक तरकारी खेती कसरी गर्न सकिन्छ भन्ने तालिम प्राप्त गरेसँगै उद्यमी सरितालाई व्यावसायिक तरकारी खेतिप्रति आकर्षण बढ्यो ।
सरिताले सहकारीबाट शुरुमा ५० हजार ऋण लिएर कुखुरा पालन व्यवसाय सुरु गर्नुभयो । कुखुराको व्यवसाय राम्रो बनिरहेको थियो । सँगै तरकारी खेतीको उब्जनी पनि निकै बढ्दो थियो । एक्कासी कोभिड १९ भित्रिएसँगै कुखुरा, तरकारीको माग घट्यो । कुखुराबाट राम्रो आम्दानी भएन उत्पादित तरकारी पनि सबै कटेन उहाँले दुःख सुनाउनुभयो ।