एशियाली ऋण महासंघ (अकू) द्वारा संयोजन गरिएको “भियतनाम अध्ययन अवलोकन कार्यक्रम २०२६” ले नेपालको सहकारी क्षेत्रका लागि गहिरो सिकाइ, आत्मसमीक्षा तथा रूपान्तरणकारी सोचको महत्वपूर्ण अवसर प्रदान गरेको छ । सहकारी बैंक भियतनाम तथा भियतनाम सदस्य बचत तथा ऋण कोष महासंघद्वारा अवलम्बन गरिएको सहकारी वित्तीय मोडेलले सहकारी प्रणालीलाई कसरी सुरक्षित, व्यवस्थित, सदस्यकेन्द्रित तथा दिगो बनाइन्छ भन्ने विषयमा व्यवहारिक र प्रेरणादायी दृष्टान्त प्रस्तुत गरेको छ । नेपालको वर्तमान सहकारी संकटसँग तुलना गर्दा भियतनामको अभ्यास केवल अनुकरणीय मात्र होइन, नेपालको सहकारी आन्दोलन पुनर्जीवित गर्ने प्रभावकारी मार्गचित्रका रूपमा समेत स्थापित भएको देखिन्छ ।
भियतनामको “जनताको बचत तथा ऋण कोष” प्रणाली विश्वकै सफल सहकारी सूक्ष्म वित्तीय सञ्जालमध्ये एकका रूपमा परिचित छ । सन् २०२५ सम्ममा १,१४६ सदस्य संस्था आबद्ध रहेको यस सञ्जालले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार, बचत परिचालन, साना उद्यम प्रवद्र्धन तथा आर्थिक समावेशीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । यस प्रणालीको केन्द्रीय आधारका रूपमा रहेको सहकारी बैंक भियतनामले सदस्य संस्थाहरूलाई तरलता व्यवस्थापन, डिजिटल सेवा विस्तार, थोक वित्तीय सहयोग तथा जोखिम व्यवस्थापनमा सहजीकरण गर्दै सम्पूर्ण सहकारी प्रणालीलाई सुदृढ बनाएको छ । त्यस्तै, भियतनाम सदस्य बचत तथा ऋण कोष महासंघले नीति पैरवी, व्यावसायिक तालिम, सदस्य सशक्तीकरण तथा प्रविधिमैत्री प्रणाली विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
भियतनामको सफलताको मूल आधार भनेको बलियो नियामकीय संरचना, स्पष्ट संस्थागत उत्तरदायित्व, सदस्य स्वामित्व तथा राष्ट्रिय बचत सुरक्षा कोष हो । त्यहाँको केन्द्रीय बैंकले सहकारी क्षेत्रलाई निरन्तर अनुगमन गर्दै जोखिम व्यवस्थापन, वित्तीय अनुशासन तथा पारदर्शितालाई प्रभावकारी रूपमा कार्यान्वयन गरेको छ । डिजिटल रूपान्तरण, हरित बैंकिङ अभ्यास तथा सदस्य सहभागितालाई उच्च प्राथमिकतामा राखिएको कारण सहकारीप्रति जनविश्वास मजबुत बनेको देखिन्छ ।
यसको ठीक विपरीत, नेपालको सहकारी क्षेत्र हाल गम्भीर संकटबाट गुज्रिरहेको छ । कमजोर सुशासन, राजनीतिक हस्तक्षेप, अपर्याप्त नियमन, बचत दुरुपयोग, जोखिम व्यवस्थापनको कमी तथा डिजिटल पूर्वाधारको अभावका कारण सहकारीप्रतिको जनविश्वास निरन्तर कमजोर बन्दै गएको छ । सार्वजनिक प्रतिवेदनहरू अनुसार अर्बौँ रुपैयाँ बराबरको बचत अपचलन भएको घटनाले हजारौँ बचतकर्तालाई प्रत्यक्ष रूपमा प्रभावित बनाएको छ । यसले सहकारी आन्दोलनको विश्वसनीयता र सामाजिक आधारलाई समेत चुनौती दिएको अवस्था छ ।
यस्तो परिस्थितिमा नेपालले भियतनामको सहकारी मोडेलबाट गम्भीर रूपमा पाठ सिक्न आवश्यक देखिन्छ । वित्तीय सहकारीका लागि छुट्टै कानुनी व्यवस्था, राष्ट्रिय बचत संरक्षण कोष, प्रभावकारी नियमन, जोखिममा आधारित अनुगमन प्रणाली तथा डिजिटल संरचनाको विकास आजको अपरिहार्य आवश्यकता बनेको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई सहकारी प्रणालीको केन्द्रीय वित्तीय केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ भने नेफ्स्कूनजस्ता शीर्ष संस्थाहरूले तालिम, सुशासन, प्रविधि विकास तथा अन्तर्राष्ट्रिय सहकार्यमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।
सहकारीको वास्तविक शक्ति सदस्यमा आधारित हुने भएकाले सदस्यहरूको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण हुन्छ । पारदर्शिता, जवाफदेहिता तथा वित्तीय अनुशासन सुनिश्चित गर्न सदस्यहरू स्वयं सचेत, जिम्मेवार र सक्रिय बन्न आवश्यक छ । सहकारी आन्दोलनलाई पुनः विश्वसनीय, सुरक्षित तथा सदस्यमुखी बनाउन संस्थागत सुधारसँगै सदस्य चेतनाको विकास पनि उत्तिकै अपरिहार्य देखिन्छ । भियतनामको सहकारी मोडेलले स्पष्ट रूपमा प्रमाणित गरेको छ कि सही नीति, बलियो संस्था, प्रभावकारी नियमन तथा सदस्यकेन्द्रित अभ्यास भए सहकारी क्षेत्रलाई दिगो, सुरक्षित र विश्वसनीय बनाउन सकिन्छ । नेपालको सहकारी आन्दोलनमा अझै पनि विशाल सम्भावना विद्यमान छ । अब आवश्यकता केवल सुधारप्रतिको दृढ इच्छाशक्ति, संस्थागत प्रतिबद्धता र सामूहिक उत्तरदायित्वको हो ।
१२ घण्टा अगाडि
१३ घण्टा अगाडि
१३ घण्टा अगाडि
१५ घण्टा अगाडि
१५ घण्टा अगाडि
१६ घण्टा अगाडि
१६ घण्टा अगाडि
१६ घण्टा अगाडि
१३ घण्टा अगाडि
१५ घण्टा अगाडि
४ दिन अगाडि
१६ घण्टा अगाडि
९ दिन अगाडि
१३ दिन अगाडि
७ दिन अगाडि
३ दिन अगाडि