काठमाडौं । लघुवित्त कारोबार गर्दै आएका बहुउद्देश्यीय सहकारी संस्था तथा बचत तथा ऋणको मुख्य कारोबार गर्ने ठूला सहकारी संस्थाहरूसँग नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आगामी कार्यदिशा, सदस्यता तथा संस्थागत सहकार्यका विषयमा छलफल गरेको छ। नेफ्स्कूनको केन्द्रीय कार्यालय, मिनभवनमा २०८३ मंसिर ४ गते आयोजित अन्तरक्रिया कार्यक्रममा ठूला वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूको भावी भूमिका, नेफ्स्कूनसँगको आबद्धता तथा आपसी समन्वयका विषयमा विचार आदानप्रदान गरिएको हो।
छलफलमा सहभागी सहकारी संस्थाहरूको कुल पूँजी तथा वित्तीय कारोबारको आकार उल्लेखनीय रहेको जनाइएको छ। सहभागीमध्ये बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थाहरूको कुल पूँजी ३५ अर्ब रुपैयाँभन्दा बढी रहेको जानकारी दिइएको थियो।
कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा तथा उच्च व्यवस्थापन तहबाट दुर्गाप्रसाद ढकाल, गणेशप्रसाद तिमल्सिना र नवीनराज दाहालको उपस्थिति रहेको थियो।
त्यसैगरी नेपालको वित्तीय सहकारी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका ठूला बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूका नेतृत्व तहबाट चण्डीप्रसाद शर्मा पौडेल, महेन्द्र गिरीलगायत प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अन्तरक्रियामा झापास्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था, बागलुङस्थित सिवाइसी नेपाल बचत तथा ऋण सहकारी संस्था, नवलपुरस्थित नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था, काठमाडौंस्थित महिला सहयोगी बहुउद्देश्यीय सहकारी संस्था, कञ्चनपुरको महेन्द्रनगरस्थित उदयदेव बहुउद्देश्यीय सहकारी संस्था, झापास्थित नवोदय बहुउद्देश्यीय सहकारी संस्था तथा कैलालीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्थालगायतका प्रतिनिधिहरू सहभागी भएका थिए।
छलफलमा सहभागी सहकारी संस्थाहरूको आगामी कार्यदिशा, नेफ्स्कूनसँगको आबद्धता तथा सदस्यताका विषयलाई केन्द्रमा राखेर विचारविमर्श गरिएको थियो। विशेषगरी ठूलो वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूबीच आपसी समन्वय, नयाँ सदस्यता, संस्थागत सहकार्य तथा साझा रणनीति निर्माणका सम्भावनाबारे छलफल भएको थियो।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था र बहुउद्देश्यीय सहकारी संस्थाहरूबीच अनुभव आदानप्रदान गर्दै सञ्जालगत सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्न यस प्रकारका अन्तरक्रियाले अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
ठूला वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूको सहभागितामा भएको यस छलफललाई आगामी कार्यदिशा, नेफ्स्कूनसँगको आबद्धता, नयाँ सदस्यता तथा आपसी सहकार्यका विषयमा साझा बुझाइ विकास गर्ने अवसरका रूपमा लिइएको छ।
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
७ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
२४ दिन अगाडि
२५ दिन अगाडि
२४ दिन अगाडि
२३ दिन अगाडि
२१ दिन अगाडि
८६ दिन अगाडि