झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) झापा सेवा केन्द्र, दमकको आयोजनामा बचत तथा ऋण सहकारी संस्थाहरूका समसामयिक समस्या, आगामी कार्यदिशा तथा संस्थागत सुदृढीकरणका विषयमा दुईदिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीको अध्यक्षतामा मंसिर ८ गते नेफ्स्कून झापाको बैठक हल तथा मंसिर ९ गते झापाको बुधबारेस्थित हातेमालो साकोसको सभाहलमा कार्यक्रम सञ्चालन गरिएको हो।
संघको व्यवस्थापनमा आयोजित दुईदिने कार्यक्रममा १८ वटा बचत तथा ऋण सहकारी संस्थाका २५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी संस्थाहरूको आगामी कार्यदिशा, नेफ्स्कूनसँगको आबद्धता, सदस्यता, संस्थागत सहकार्य तथा आपसी समन्वयका विषयमा विचार आदानप्रदान गरिएको थियो।
अन्तरक्रियामा महासचिव अधिकारीले बचत तथा ऋण सहकारी संस्थाहरूको आगामी कार्यदिशा, संघसँगको आबद्धता तथा सदस्यताका विषयमा चर्चा गर्दै संस्थागत विकासका लागि आपसी समन्वय र साझा पहलको आवश्यकतामा जोड दिनुभयो।
उहाँले प्रस्तावित सहकारी बैंक, नेफ्स्कूनको आसन्न वार्षिक साधारणसभा, साकोस शिखर गोष्ठी, संस्था सुपरिवेक्षण तथा स्तरीकरण, संस्थागत विकास, प्रवर्द्धन तथा सशक्तीकरण र स्क्यान (SCAN) कार्यक्रमका विषयमा जानकारी गराउँदै सहभागीहरूसँग छलफल गर्नुभयो।
त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी सञ्जालसँगको सम्बन्ध र सहकार्य, संस्थागत सुशासन, नेतृत्व तथा नीतिगत व्यवस्थापन, प्रशासन, जनशक्ति तथा कार्यालय व्यवस्थापन, सम्पत्ति शुद्धीकरण, प्रविधिगत रूपान्तरण तथा डिजिटल सेवाका विषयमा पनि छलफल गरिएको थियो।
महासचिव अधिकारीले नीतिगत बहस तथा पैरवी, एकद्वार प्रणालीको विकास, नेफ्स्कूनले विकास गरेका विभिन्न सेवा, व्यवसाय विकास सेवा (BDS) तथा तालिम र गोष्ठीमा सदस्य संस्थाहरूको सहभागिताका विषयमा समेत विशेष जोड दिनुभयो।
कार्यक्रममा सहकारी संस्थाहरूले पालना गर्नुपर्ने नियामकीय मापदण्ड तथा निर्देशनहरूको प्रभावकारी कार्यान्वयन, आवश्यक संस्थागत सुधार र सहकारी सञ्चालनका क्रममा देखिएका व्यावहारिक चुनौतीका विषयमा गहन छलफल गरिएको थियो।
सरकार तथा सम्बन्धित नियामकीय निकायसमक्ष नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि पहल गर्न आवश्यक पृष्ठपोषण र सुझावसमेत संकलन गरिएको थियो। साथै नेफ्स्कूनको आगामी वार्षिक साधारणसभामा उठाउनुपर्ने विषय र संघले तत्काल कार्यान्वयन गर्नुपर्ने कार्यक्रम तथा कार्यदिशाका सम्बन्धमा पनि विस्तृत छलफल भएको थियो।
अन्तरक्रियामा सहभागी साकोसका प्रतिनिधिहरूले भाखा नाघेको ऋण व्यवस्थापन, करसम्बन्धी व्यवस्था, भू-सेवा, तालिम तथा शिक्षा, सुरक्षित लगानीका अवसर र राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा नवीकरण तथा जारी भएका नियामकीय मापदण्डका विषयमा आफ्ना धारणा तथा समस्या प्रस्तुत गरेका थिए।
त्यसैगरी कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, लिलामी प्रक्रियामा देखिएका कठिनाइ, विभिन्न समयमा जारी भएका निर्देशनहरूको कार्यान्वयन तथा ब्याजदरसम्बन्धी व्यवस्थाका विषयमा समेत छलफल गरिएको थियो।
सहभागीहरूले सञ्चालक समिति तथा व्यवस्थापनको योग्यता, फिट एन्ड प्रपर टेस्ट (Fit & Proper Test), लाभांश वितरण, सुरक्षण कोषको व्यवस्था, सहकारी बैंक गठन तथा गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनसँग सम्बन्धित विषयहरू पनि उठान गरेका थिए।
यसका अतिरिक्त विभिन्न तहका सहकारी संघ तथा नियामकीय निकायहरूको भूमिका, समन्वय र नियमित सहकारी सञ्चालनका क्रममा संस्थाहरूले सामना गर्नुपरेका समस्याका विषयमा पनि विचार आदानप्रदान गरिएको थियो।
सहभागी संस्थाहरूबाट उठाइएका समस्या तथा सुझावका सम्बन्धमा नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले सहजीकरण गर्नुभएको थियो। उहाँले सहकारी संस्थाहरूको सञ्चालनमा देखिएका चुनौती, समस्या समाधानका सम्भावित उपाय र सम्बन्धित निकायसँग गर्नुपर्ने समन्वय तथा नीतिगत पहलका विषयमा छलफल गर्नुभएको थियो।
दुईदिने अन्तरक्रियाले सदस्य संस्थाहरूका समसामयिक समस्या तथा अपेक्षाहरू संघसमक्ष प्रस्तुत गर्ने, नियामकीय विषयमा साझा बुझाइ विकास गर्ने र आगामी कार्यक्रम तथा नीतिगत पैरवीका लागि आवश्यक सुझाव संकलन गर्ने अवसर प्रदान गरेको छ।
२२ घण्टा अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
२७ दिन अगाडि
२८ दिन अगाडि
२७ दिन अगाडि
९१ दिन अगाडि
८७ दिन अगाडि
६१ दिन अगाडि