भीम सरको मातृवियोगमा भक्कानिदाँ.......
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भीम सरको मातृवियोगमा भक्कानिदाँ.......

मिलन ढकाल
मुख्य प्रबन्धक, पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.

मृत्यु अवश्यम्भावी छ । यो शास्वत् सत्यबोधका बाबजूद अधिकांश मृत्युहरु मानिसलाई असीम पीडा पस्कन्छन् । त्यसमाथि कठिन संघर्षको बुतामा सफल सन्तानको दरिलो आधार तय गर्ने आमाको मृत्यु–एउटा छोराको लागि कति कष्टकर हुन्छ होला ? भर्खरै यस्तो विराट वेदनाको आहालमा डुबेका पोखरेली अग्रज सहकारीकर्मी एवम् अनन्य मित्र भिम गुरुङलाई भन्दा बढी कसलाई पो ज्ञात होला र ? २०७७ फागुन १० गते उहाँले आमा डिलसिरी गुरुङ्ग गुमाउनुभयो । भीमसँगै हामीजस्ता समाज र सहकारीमा रमाएका दौतरीहरुले पनि अकल्पनीनय रिक्तता महसूस गरेका छौं । भीमकी आमाले भोग्नुभएको जीवन बुझ्दा उहाँ केवल सन्तानका लागि मात्र नभइ हामी सबै परिचित सहकारीकर्मीहरुका लागि पनि प्रेरणा पुञ्ज हुनुहुन्थ्यो ।

 

भौतिक मातृवात्सल्यबाट अब भीम बिमुख हुनुभएको छ । १३ औं दिनको पून्य तिथिको पूर्व सन्ध्यामा यी शब्द सृजना गर्दैगर्दा मेरा आँखा ओभानो रहन सकेनन् भने भोक्ता भीमको दुःखदायी अवस्था र आमाका आडहरु पाठकहरुका लागि पनि कम पीडादायी पक्कै हुँदैनन् । यति हुँदा हुँदै पनि भावनाको भेललाई शब्दास्त्रद्वारा अभिव्यक्ति गर्दा पुन्यको अंश मिल्ने प्रलोभनमा आज म फसेको छु । नेपालसँगै सम्पूर्ण विश्व १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको तयारीमा महिलाहरुको योगदान र भूमिकाका विषयमा आवाज बुलन्द गर्न तम्सिरहँदा अनन्य मित्र भीम सम्भवतः जीवनको सबैभन्दा महत्वपूर्ण महिलाको दारुण देहावसानको दुःखबाट मुक्तिका लागि संघर्षरत हुनुहुन्छ । कस्तो वियोगपूर्ण संयोग ? 

विक्रम सम्वत १९९५ साल बाबा भविश्वर गुरुङ्ग र आमा सुक्मा गुरुङ्गको कोखबाट साविक फिरफिरे गाविस वडा नं. २ हाल शुक्लागण्डकी १२ फिरफिरे लामागाउँ ढुङ्गीनीथर तनहुँमा दोस्रो सन्तानको रुपमा डिलसिरी गुरुङ्ग (भिमकी आमा) को जन्म भएको थियो । उहाँको वाल्यकाल गाउँमा नै वित्यो । २०१४ सालमा १९ वर्षको उमेरमा गाउँ नजिक ७ सय मिटर दूरीको फिरफिरे देवीस्थानका (सोल्टी नभए पनि नाताले सोल्टी पर्ने १ वर्ष जेठा) निल प्रसाद गुरुङ्गसँग उहाँको मागी विवाह भएको थियो । विवाहको लामो समय सम्म खासै बोलचाल नभएको श्रीमानले बताउनुभयो । उ बेला अहिले जस्तो विवाहपूर्व बोल्ने र घुम्न जाने चलन नहुनु अस्वाभाविक थिएन । विवाहको ४ वर्ष सम्म माइतमा नै बस्नुभएको थियो रे डिलसिरी ।

माइजुलाई समवेदना दिन आएका भान्जा गायक क्षेत्र गुरुङ्गले मखमलको कपडा ओडेर निधार भरी टिका लगाएको झलझली सम्झे । विवाहको ५ वर्ष पछि पहिलो सन्तान ननसिरी गुरुङ्गलाई जन्म दिनुभएकी डिलसिरीले दोस्रो सिरमति, तेस्रो तिलसरा, चौथो सुकमायालाई जन्म दिनुभयो भने पाँचौ बच्न सकेन । २०३० साल वैशाख १२ गते छैठौं सन्तान भिम बहादुर गुरुङ्ग र पछि सातौ सन्तान डिल कुमारी गुरुङ्गलाई जन्म दिनुभएको थियो । छोराको रहरले धेरै सन्तान भएको  श्रीमान निल प्रसादको भनाई थियो । तिनै आमा बाबुको रहरको भाग्यमानी सन्तान भीम सर आज आमाबिहीन बन्नुभएको छ भने ५ छोरी, ५ ज्वाई, १ छोरा १ बुहारी, ८ नातिनी र ७ नाती सहितको परिवारले पनि पाको अभिभावक गुमाएको छ । 

सरल स्वभावकी धनी डिलसिरी पुरानो भाखा सुनिमाया÷यानी माया राम्रोसँग गाउनुहुन्थ्यो । मोटोपन उहाँको चिनारी कहिल्यै बनेन । घरको होस् वा मेलापात–हरेक काम छिटो फत्ते गर्न शरिरले भरपूर साथ दिन्थ्यो । छोरीको घर जाँदा होस वा छोरासँग शहर जाँदा–काममा जुटिरहने उहाँको स्वभाव थियो । सामान्य कृषिकर्मी डिलसिरी र निलप्रसादका लागि ठुलो परिवारको पालनपोषण धौ धौ थियो रे । गुरुङ्ग गाउँका सवै जसो लाहुरे हुने चलन भएकोले श्रीमान निलप्रसाद ले पनि भारतिय सेनामा भर्ती देखाउनुभएको थियो तर सानो उचाइ अग्लो अवरोध भएपछि कृषि कर्ममै फर्कनुभयो । खाना पुग्ने खेतवारी नभएकाले अर्काको जग्गा कमाएर खानुपथ्र्यो । परिवारका सदस्यलाई पढाउने चिन्ता थियो । तर काँहिली छोरी सुकमायाले ५ कक्षा सम्म पढ्ने अवसर पाउनभुयो । भीमलाई भने जसरी पनि पढाउनु पर्छ भन्ने विषयमा गुरुङ्ग दम्पत्तीको बाक्लो बहस हुन्थ्यो । २०३२ सालमा घर नजिकै वाराही प्रावि वरडाँडाको विद्यालय स्थापना हुनेभएपछि दम्पतीले छोरा पढाउन पाउने आशमा श्रमदान गर्नुभयो । कक्षा ५ सम्म सोही विद्यालयमा र ६ देखी १० कक्षा सम्म जनप्रेमी माध्यमिक विद्यालयमा पढी २०४६ सालमा उहाँले एसएलसी उक्लिनुभयो । पछि आमाले भर्ति हुन पर्यो, विबाह गर्नु पर्यो भनेर कर गर्नुभयो । गाउँले कृषकका सन्तान भिमलाई उच्च शिक्षा अध्ययनको खर्च जोहो गर्ने चिन्ताले सतायो ।

२०४६ सालको परिवर्तनले ‘पढनु पर्छ’ भन्ने भावना उहाँमा जगायो । दुलेगौडाको भानुभक्त क्याम्पसमा जेठाबाको छोरा हेमले पैसा दिएर भर्ना भएको र ढोरफिर्दीमा रहेको ठुली दिदीका बसेर बुबाआमाले मेलापात कृषि गरेको पैसाले आई ए सम्म अध्ययन गर्नुभयो ।  गाउँका पढेका दाजुभाईको सल्लाहमा स्नातक पढ्न काठमाडौ हानिएका भिमले रत्न राज्य लक्ष्मी क्याम्पसमा विए पढदा पढदै एभरेष्ट क्यासिनो मा २०५० सालमा जागिरमा जोडिने मौका पाउनुभयो । जागिर खादै बीए सकेपछि एमए र एमविए समेत पूरा गर्नुभयो उहाँले । देशमा आएको आमुल परिवर्तन संगै श्रमिकहरुको पनि हक हितको लागि क्यासिनोमा युनियन गठन गर्ने असफल प्रयास गर्नुभयो ।
शुरुका दिन क्यासिनोमा क्वालिटी सर्कलको रुपमा रही काम गर्नुभएका उहाँले २०५५ सालमा सहकर्मी सिताराम काफ्ले लगायतसँग मिलेर रोयल कोअपरेटिभ लिमिटडको संस्था स्थापना गरी स्थापनाकालीन उपाध्यक्ष भई औपचारिक रुपमा सहकारी क्षेत्रमा प्रवेश गरेको उहाँबाटै सुनेको थिएँ । पछि रोयल कोअपरेटिभ लिमिटेडको क्षेत्रीय कार्यालय र स्वायत्त संस्था भै स्थापना भएको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा विगत २२ वर्ष देखी हामीसँगै छौ । 

 

यसरी अघि बढ्दै आजको ओजपूर्ण छवि बनाउनुभएका भीम सर आमा सम्झदै भक्कानिुहुन्छ, ‘बाल्यावस्थामा आफु अनपढ भएपनि आमा मलाई पढ भन्नु हुन्थ्यो, कहिले भलिबल खेल्न जाँदा पढाइ बिग्रियो भन्ने चिन्ताले ‘त्यही बल खा’ भनेर गाली गर्नु हुन्थ्यो, छोरा बिग्रन्छ भनेर विवाह गर भन्नु हुन्थ्यो ।’ आमाका स्नेही वाणीहरु अब भीमको सुमधुर सम्झनामा सीमित छन् । शीघ्र निर्णय र कुशल कार्यसम्पादन आमाका अनगिन्ती गुणहरुमध्ये पर्ने भीम सरले सुनाउनुभयो । स्मृतिको पानाहरु पल्टाउनुहुन्छ सर ‘धुमपान गर्ने आमा छोराले हर्काछ भनेर मेरा अगाडि खानुहुन्नथ्यो तर एक दिन बाटोमा चुरोट पिउँदै गर्दा अचानक आमाछोराको जम्काभेट भयो । बालकले झैं नाटक गरेर विस्तारै भुई तिर चुरोट निभाएर फाल्नु भएको झल्झल्ती याद आउँछ ।’ मैले मौन प्रतिक्रिया जनाएँ । 

‘गाउँबाट पोखरा घरमा बस्ने गरी आमा आउनु भएको थियो,’ अश्रु सहारा लिदै मेरा मित्र सुनाउनुहुन्छ, ‘१ हप्ता जति बसेर आमा २०७७ साल फागुन ३ गते गाउँ जानु भएको थियो  । यस पटक आमा कोदो कोसेली लिएर आउनुभएको थियो । त्यसलाई सुकाउने, फल्ने र पोखरा मा कोदो पिस्नको लागि पहिलो पटक मिल सम्म जानु भएको थियो र कोदोको पिठो बनाएर छाडनु भयो । आमा पोखरा घर आए पछि वरिपरिको सवैलाई घरमै पुगेर बोलाउनुभएको थियो । कान्छी बहिनी डिलुलाई आमाले बढी माया गर्ने हुँदा पोखरा घर आए पछि कान्छीलाई फोन लत्ते (फोन लत्ते भनेको गुरुङ्ग भाषामा फोन लगा भनेको) भन्नुहुन्थ्यो र बात मार्नु हुन्थ्यो ।  

यस पटक आमा गाउँ जाने वेलामा किन हो थाहा भएन, अति हतार भयो बस छुट्यो कि भनेर गाउँ जानु भएको थियो सायद पोखरा अव फर्केर कहिल्यै नआउनको लागि आमाले हतार गर्नु भएको रहेछ ।’ उहाँले अगाडि सुनाउनुभयो ‘गाउँमा माईली दिदी र भान्जा संगै बस्नु हुन्थ्यो । कुरा २०७७ साल फागुन १० गतेको हो आमाले घरमा काम गर्ने र वरिपरिकालाई सेलरोटी र अन्य खाने कुरा राम्रोसँग खुवाउनु भएछ आफुले पछि सेल रोटी खानु भयो रे । आमालाई बिहानदेखी नै पेटले पीडा दिएको रहेछ । करिब १० बजे सहन कठिन भएपछि भान्जाले मलाई फोन गरी आमाको अवस्थाको वारेमा जानकारी गराए । गाउँ कै जिप व्यवस्थापन गरेँ र भान्जाले विहान १०.३० बजे तिर आमालाई अस्पताल तिर लिएर झर्ने कार्य भयो । ढोरफिर्दीमा रहनुभएकी ठुलो दिदीलाई आमासँग जान अनुरोध गरेको थिए । आमा दिदी र भान्जा ११.३० बजे तिर तनहुँ सेवा अस्पताल दुलेगौडामा पुग्नु भएको थियो होला ।

आमाले धेरै दुख्यो भनेकाले डाक्टले ईन्जेक्सन दिएका रहेछन । आमालाई वान्ता भएछ, त्यस पछि अक्सिजन लगाइयो ।  दिदिले रुदै मलाई फोन गर्नु भयो । तत्काल दुलेगौडास्थित सहकर्मी सरस्वती भुजेललाई अस्पताल जान अनुरोध गरेँ । भीम सरले त्रास र भयको अनुभूति गरेको बताउनुभयो । त्यसपछि म सँग सल्लाह गरी दुलेगौडा जाने तयारी भयो । सरस्वती म्याडमले मलाई फोन गर्नु भयो भीम सरको आमाको अवस्था बढी नै गम्भिर छ म त फोन गर्न पनि सकिन भने पछि आफै ड्राईभिङ्ग गरेर बहिनी डिलु लाई लिई भिम सर सँगै दुलेगौडा प्रस्थान गर्यौं । विजयपुर पुल पुग्दा पुनः म्याडमको फोन आयो– ‘सर, डाक्टरको भनाई अनुसार आमा त हुनुहुन्न । यद्यपि, प्रयास गर्ने भए पोखरा लग्ने सल्लाह दिनुभएको छ ।’ म अवाक् भएँ ।  भीम सर र डिलु बहिनी साथमा भएकोले मौन रहेँ । दुलेगौडाका मित्र एक बहादुर गुरुङ्गलाई भिम सरले नै फोन गरेर पुग्न भन्नु भएको थियो । ४० मिनेटको ड्राईभिङ्ग पछि दुलेगौडास्थित तनहुँ सेवा अस्पताल पुग्यौं । तर नियतिको खेल– आमा चिर निन्द्रामा पुगिसक्नुभएको थियो । आमाले आफ्नो ठुलो सन्तान ननसिरीको काखबाट यस संसार बाट विदा लिनु भयो । मैले सरलाई सम्हाल्ने यत्न गरेँ । केही समयपछि मृत्यु संस्कार गरियो । 

आज भीम सरको लोभलाग्दो सफलताले हिजोको डिलासिरी आमाको प्रसव पीडाप्रति न्याय गरेको छ । सहकारीको क्षेत्रको तपाईको क्रियाशीलताले २२ वसन्त पार गरिसकेको छ । मुलुकभरका २९ हजार ८ सय ८६ सहकारी संस्थाका सेयर सदस्यहरुलाई सिर्जनशील विचार, प्रेरणादायी लेख र कुशल तालिम मार्फत सधै पथप्रर्दशन गर्ने तपाईको नेफस्कुनको सञ्चालकको रुपमा १ कार्यकाल, कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षको ३ कार्यकाल, जिल्ला सहकारी संघ लिमिटेड कास्कीको राष्ट्रिय प्रतिनिधि, पोखरा महानगरपालिकाको सहकारी समितिमा विज्ञ सदस्य एवं पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सबैका लागि अविस्मृत रहने पक्का छ । आखिर भीम सर तपाईको यी सबै सफलताको प्रारम्भिक स्रोत आमा डिलासिरी नै त हुनुहुन्छ नि ? होइन र ?

 

हिजो छोराको रहरले बग्रेल्ती सन्तान जन्माई दुःखजिलो गरेर भीम सरलाई उच्च शिक्षा सम्म अध्ययन गराउने आमाले यतिका वर्षपछि पनि छोरालाई मन पर्ने कोदो लिएर पोखरा घरसम्म आउनु वात्सल्य प्रेम नै त थियो नि ? अब यी र यस्ता सम्झनाहरुको पोका कहिलेकाही एकान्तमा फुकाएर उर्जा पुनरावृत्तिका लागि अश्रु धारा बहाउने अधिकार भीम सरसँग सुरक्षित रहनेछ भन्ने पूर्ण विश्वास दिलाउन चाहन्छु । आखिर हाम्रो लामो मित्रताले मलाई यति सम्म त विश्वास गर्ने हक प्रदान गर्छ नि होइन र भीम सर ?

त्यही मित्रताको अडेस लागेर भन्न सक्छु, शोकलाई असीमित शक्तिमा बदल्ने भीमकाय सामर्थ्य तपाई विकास गर्न सक्नु हुन्छ । ममा कुनै आशंका छैन–आमाका असल सन्तान तपाईले अब सहकारी क्षेत्रमा थप योगदानबाट मातृसेवाको उच्चतम मोल तिर्नुहुनेछ भन्नेमा । अनि ममा केही द्वविधा छैन– स्वर्ग महाप्रस्थान गर्नुभएकी डिलसिरीको १३ औं दिनको पुण्यतिथीको अवसरमा आत्माको चिरशान्तिका लागि तपाईले आफ्ना कठिन भोगाइलाई दीर्घ उर्जाको श्रोतमा रुपान्तरित गर्नुहुनेछ भन्नेमा । 

अन्त्यमा सुप्रसिद्ध गायिका तारादेवीको स्वरमा सजिएका आमाको त्याग र बलिदानीको उदात्त भाव व्यक्त गर्ने गीतका केही शब्द छोड्दै बिदा हुन्छु अस्तु ।
आमा भएर बोकी हेर सन्तानका पिरहरु
आमा भएर बाँडी हेर सन्तानका खुसीहरु
आफ्नो लागि त सबै बाँच्दछन् यस लोकमा
अरुको लागि बाँची हेर सन्ताप अनि दुःखमा


 

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

३ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

३ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

५ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

पाठकबाट थप