काठमाडौं । कर्णाली प्रदेशको उत्कृष्ट सहकारी संस्थामध्येमा पर्छ–सुर्खेतस्थित वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि.। त्यही साकोसका अध्यक्ष बम बहादुर बि.सी. २०८१ साल साउन साउन १५ गते मंगलबार सिंहदरबारमा संघीय सांसदहरुसमक्ष सहकारी सफलताको कथा सुनाउन भेला भएका देशभरका ३४ सहकारी संस्थाका सञ्चालकहरुमध्येका एक हुनुहुन्थ्यो ।
सिंहदरबार स्थित लेखा समितिको हलमा झण्डै ६ घण्टा चलेको छलफलमा देशभरका ३४ सहकारी संस्थाका करिब ६० जना सहकारीकर्मीको उपस्थिति थियो । सातै प्रदेशका सफल सहकारीको प्रतिनिधित्व रहेको छलफलमा संस्था सफलताको कथा, वित्तीय अवस्था र सुझावहरु पेश भएको थियो ।
कर्णालीबाट कस्सिएर कथा भन्न काठमाडौं झर्नुभएका बि.सी यो अवसरबाट खुसी हुनु स्वाभाविक थियो । खुसीका स्पष्ट धर्साहरु उहाँका निधारमा देख्न सकिन्थ्यो । वीरेन्द्रनगर साकोसले गरेका असल अभ्यासहरु मुलुकका माननीयज्यूहरुलाई मनमा बस्ने गरी सुनाउन पाएको खुसीसँगै अन्य केही थप विषय बि.सी.ले साकोस आवाजसँग संघको केन्द्रीय कार्यालयमै आएर अझै धेरै उक्त खुसी सँगै संस्था र आफ्नो संलग्नताबारे अन्य विषयहरु पनि साट्नुभयो ।
‘यो हाम्रा लागि अवसर हो,’अध्यक्ष बि.सी.ले सुनाउनुभयो, ‘कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै देशभरबाटै बोलाइएका सहकारीहरुमाझ मैले संस्थाको तर्फबाट काम कारवाही र सदस्य सेवाबारे जानकारी गराउन पाएँ ।’
३४ वटै सहकारीका सञ्चालकहरुको कुरा सुनेर सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति पनि प्रभावित भएको उहाँले बताउनुभयो ।
‘के गरेका कारण हामी सफल हुन सक्यौं, सदस्य विश्वास आर्जन गर्न सक्षम भयौं अनि संस्था राम्रोसँग सञ्चालन हुन सक्यो भन्ने विषयहरु सुनायौं । एक अर्काका असल अभ्यासहरुबारे जानकारी आदानप्रदान गर्न पायौं । जनप्रतिनिधिहरुलाई कुरा सुनाउन पायौं । सहकारीहरुले देशभर राम्रो काम गरेका छन् भनेर उदाहरणहरु प्रस्तुत गर्न पायौं ।
हाम्रा सबै कुरा सुनेपछि विशेष समितिका सांसदहरुले काठमाडौंमा बसेर सहकारी खराब, बचत फिर्ता गर्न सकेनन्, दुःखजिलो गरेको रकम फिर्ता पाएनौं, सञ्चालक तथा कर्मचारीले बेइमानी गरे लगायतका गुनासा तथा पीडा मात्र सुनेका थियौं तर आज तपाईहरुको प्रस्तुतिले सहकारीले संविधानको एउटा खम्बाको रुपमा भूमिका निर्वाह गरेको रहेछ भन्ने पनि थाहा पायौं’ उहाँले भन्नुभयो ।
‘मुलुकको अर्थतन्त्रलाई धान्न सहकारीको भूमिका रहेछ भन्ने बोध भयो, ‘अध्यक्ष बि.सी.ले भन्नुभयो, ‘त्यतिमात्र होइन यो त दिगो पिलर रहेछ अर्थतन्त्रको भनेर माननीयज्यूहरुले बोल्नुभयो । यद्यपि, यस भित्र केही चुनौती रहेको कुरा पनि उहाँहरुले छुटाउनुभएन । उहाँहरुले हाम्रो स्थायित्वका कुरा, सदस्यहरुको सन्तुष्टिको कुरा, बचत सुरक्षणको कुरा, सामाजिक उत्तरदायित्वका कुरा र अहिलेको बिग्रिएको भाष्यलाई बिस्थापित गर्ने विषयमा राख्नुभयो ।’
‘दिगो, प्रतिस्पर्धी र उत्तरदायी वीरेन्द्रनगर साकोस’
२०५८ साल असार २२ गते स्थानीय २७ जनाको पहलमा स्थापना भएको वीरेन्द्रनगर साकोसले यसै वर्ष २३औं स्थापना दिवस मनाएको छ । रजत वर्षको निकट पुगेको साकोसले यसबीच स्वाभाविक रुपमा थुप्रै आरोह अवरोह पार गरेको छ । अवरोहहरुबाट सिक्दै सफलता आरोहण गरेको छ साकोसले ।
लगानीमा छैन समस्या
‘ऋण लगानीमा हामीलाई कुनै समस्या छैन, ‘अध्यक्ष बि.सी. भन्नुहुन्छ, ‘अहिले पनि कतिपय सहकारीहरुमा तरलता थुप्रिएको र ऋण लगानी नभएको भन्ने देखिएको छ तर हाम्रोमा त्यस्तो समस्या छैन । सरकारले निर्धारण गरेको ब्याजदरको क्यापभित्र बसेर लगानी गर्दा पनि ऋण माग प्रशस्त छ, सदस्यको माग पूर्ति गर्न पनि चुनौती छ । हामीसँग केही उत्कृष्ट व्यवसायी हुनुहुन्छ, सदस्य संख्या पनि ठूलो भएकाले स–साना ऋण माग भैरहन्छन् भने स्वयंसहायता समूहका कारण पनि लगानीमा समस्या छैन ।’
साकोसले सदस्यका होटलहरुमा ऋण लगानी गरेको छ भने हायर पर्चेज, कृषि, आदि क्षेत्रमा पनि ऋण लगानी गरेको छ । अध्यक्ष भन्नुहुन्छ, ‘हाम्रा सदस्यहरुले घरबास (होमस्टे) सञ्चालन गरेका छन् । साना रेष्टुराँहरु पनि छन् । रेडिमेड तथा खाद्यान्न पसलहरु, सिलाई बुनाईको पसल पनि सदस्यहरुले राम्रोसँग सञ्चालन गरिरहनुभएको छ ।’
पछिल्लो समय ऋण सदुपयोगिताको विषयलाई प्राथमिकतामा सहित टीम बनाएर सघन रुपमा ऋण सुदपोगिता अनुगमन गर्ने गरी अघि साकोस अघि बढेको पनि उहाँले बताउनुभयो ।
के गर्दैछ साकोसले ?
अध्यक्ष बि.सी.ले सुनाउनुभयो, ‘हाम्रा सदस्यहरुसँग सीप र प्रमाणपत्र हातमा छ । तर व्यवसाय सञ्चालनका लागि पुँजी अभाव छ । कतै रोजगारीमा जानका लागि सही रोजगारदाता भेटिएका छैनन् ।
यस्तो विषयमा तथ्याङ्कन संकलन र विश्लेषण गरेर रोजगारदाता र रोजगार खोजीकर्ताहरु सहभागी रोजगार सम्मेलन गर्ने भनेर २०७८ सालमा वीरेन्द्रनगर साकोसले प्रस्ताव गरेको थियो । तर, लगानी केही बढी चाहिने भयो त्यसैले पोष्टपोन गर्यौं । २०७९ मा पनि त्यो कार्यक्रम गर्ने सोच बनायौं तर साझेदार वा सहयोगीहरुसँग समन्वय गर्न कठिनाइ भयो, ‘उहाँले भन्नुभयो, ‘खासगरी प्रदेशको सामाजिक विकास मन्त्रालय, पशु सेवा कार्यालय, कृषि विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नगरपालिका लगायतसँग समन्व्य गर्न खोज्यौं । तर, हुन सकेन । यस पटक सरकारले हामीले जे सोचेका थियौं त्यही श्रमाधान मेला भनेर सातवटै प्रदेशमा गर्यो ।’
उहाँले अगाडि सुनाउनुभयो, ‘सुर्खेतमा भएको सम्मेलनमा हामी पनि पुग्दा, हाम्रो जे अवधारणा थियौं, ठीक त्यसै अनुरुप मेला आयोजना गरिएको थियो । यस विषयमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयसँग छलफल गर्दा अघिल्लो आर्थिक वर्ष पनि मन्त्रालयले सोही प्रकारको कार्यक्रमका लागि ५ लाख रुपैयाँ विनियोजन गरेपनि कार्यान्वयन गर्ने निकाय नपाएर फ्रिज भएछ, हामीले मन्त्रालयसँग समन्वय गर्न नसकेर अवधारणा कार्यान्वयनमा लान सकेनौं । त्यही भएर यो वर्ष हामीले समयमै समन्वय गरेका छौं । सम्भवतः मेला आयोजना गर्छौं । यसले चालकलाई यातायात व्यवसायीसँग, सिलाई बुनाइ गरेकाहरुलाई त्यसको छाता संगठनसँग, कुक वा होटलमा काम गर्न इच्छुकहरुलाई होटल व्यवसायी संघसँग जोड्ने काम गराउँछौं जसले रोजगारी सृजनामा सहयोग पुग्छ ।’
सदस्यहरुको व्यवसाय प्रवर्धन, उनीहरुलाई नयाँ सीप र सम्भावनाहरुसँग जोड्ने तथा स्थानीय सरकार एवम् अन्य निकायहरु मिलेर प्रभावी किसिमको रोजगार मेलाको आयोजना गर्ने तयारीमा वीरेन्द्रनगर साकोस छ ।
अध्यक्ष बि.सी. भन्नुहुन्छ, ‘यो पटक हामीले डेढ करोडको सीमा ननाघ्ने गरी सदस्यहरुलाई १० हजार रुपैयाँ सम्मको कर्जा निब्र्याजी उपलब्ध गराइ साना व्यापार व्यवसाय गर्न प्रेरित गर्ने काम गरेका छौं भने त्यो भन्दा बढी रकम आवश्यक हुनेलाई धितो सुरक्षणका आधारमा विस्तृत परियोजना अध्ययन विश्लेषण गरेर लगानी गर्ने गरेका छौं ।’
यसैगरी, यो पटकबाट साकासले वार्षिक साधारण सभामा सदस्यहरुको उत्पादनको बजारीकरणमा सहयोगका लागि स्टलको व्यवस्था गर्दैछ । कृषि उत्पादन, जडीबुटी, दुग्धजन्य उत्पादन तथा तिनबाट बनाइएका सामाग्रीहरु, घरेलु उत्पादन, हस्तकला आदिको बजार बिस्तारका लागि संस्था सहयोगी बन्दैछ । त्यस्तै, जिल्ला बाहिर वा अन्यत्र बिक्री वितरणका लागि पठाउनुपर्ने उत्पादनहरुका लागि विभिन्न निकायहरुसँग समन्वय गरिदिने काम पनि साकोसले गर्दैछ ।
संस्थागत पुँजी वृद्धि, सरल र सहज ब्याजदरमा ऋण लगानी तथा बचतमा प्रतिस्पर्धी ब्याजदर उपलब्ध गराउँदै उद्यमशीलता प्रवर्धन मार्फत सदस्यहरुको बहुआयामिक विकासमा जोडिने साकोसको योजना हो ।
साकोसको नाममा एक ठाउँमा साढे ५१ धुर र अर्को ठाउँमा १ कठ्ठा जग्गा छ भने आफ्नै भवन बनाउने योजना अनुरुप एक ठाउँमा ६ कोठाको जग समेत राखिएको अध्यक्षले बताउनुभयो ।
वीरेन्द्रनगर साकोसले करिब ५ वर्षअघि एउटा अभियान चलाएको थियो । ‘हामीले अहिलेसम्म सुर्खेत जिल्लाका १ सय ५१ सहकारी संस्थाहरुसँग सामूहिक छलफल चलायौं, ‘अध्यक्ष बि.सी.ले भन्नुभयो, ‘सहकारीहरुबीच सहकार्यको छैठौं सिद्धान्तलाई व्यावहारिक रुप दिन अन्य संस्थाहरुसँग पनि सहकार्य गर्यौं । भाइचारा सम्बन्ध विकास गरेका छौं । त्यसको उत्कृष्ट रुप भनेको हामीले ८ वटा संस्थासँग गरेको एकीकरण हो । त्यही अभियानको नतिजा हो एकीकरण ।’
उहाँले थप्नुभयो, ‘सुर्खेतमा हामी राम्रो भएर मात्र हुँदैन । तर, वीरेन्द्रनगर साकोसँगै रहेको अर्को संस्थाले बद्मासी गर्यो भने उसलाई मात्र होइन हामीलाई पनि असर गर्छ । अथवा, पल्लो सहकारी राम्रो छ ओल्लो राम्रो भएन भने पनि हुँदैन । सहकारी दिगो हुँदैन, यसप्रति आममानिसको दृष्टिकोण राम्रो हुँदैन । हामीले सहकारीलाई जे बनाउन खोजेका छौं, राष्ट्र निर्माणको अभियानको रुपमा जसरी अघि बढाउन खोजेका छौं त्यो सफल बनाउन सबै सहकारी सबल, व्यावसायिक र दिगो हुनुपर्छ । ‘सहकारी’ मात्र राम्रो भएर हुँदैन ‘सहकारीहरु’ राम्रो हुनुपर्छ । त्यही भएर त्यो अभियान अहिले पनि हाम्रो जारी छ ।
वीरेन्द्रनगर जस्तो एउटा प्रारम्भिक संस्थाले त १ सय ५१ वटा संस्थासँग भाइचारा सम्बन्ध गाँस्न सक्छ र सहकारी क्षेत्रलाई राम्रो बनाउन भूमिका खेल्न सक्छ भने हाम्रा छाता संघहरुले त चाहने र लाग्ने हो भने धेरै काम हुन सक्छ ।
सहकारीप्रतिको आम धारणा
‘सहकारीप्रतिको गलत भाष्य निर्माण गरिएको छ, ‘अध्यक्ष बि.सी.ले बताउनुभयो, ‘हाम्रो जिल्लामा पनि खासगरी शिवशिखर शिलादेवी र नागरिक सहकारी आदिका कारण केही समस्या उत्पन्न भएपनि ठूलो रुपमा असर परेको छैन । किनकि संस्था सदस्यसँग सधै नजिक छ । सदस्यबाट कहिल्यै टाढा गएका छैनौं । यसो भन्दै गर्दा के भुल्नुहुँदैन भने सहकारीप्रति आम मानिसको दृष्टिकोण सकारात्मक छैन ।
सहकारीका विषयमा सञ्चारमाध्यममा दिनदिनै आउने नकारात्मक समाचारहरुले अवस्था फरक बनाएको छ । राम्रा सहकारीहरुलाई पनि शंका गर्ने ठाउँ सदस्य र समुदायलाई मिलेको छ । यसप्रति हामी अझ बढी सचेत छौं । यी विषयहरुमा सदस्यहरुलाई हामीले विश्वस्त बनाएका छौं ।’
समितिलाई सुझाव
‘हाम्रो संस्थाको तर्फबाट मैले ऋण असुलीमा सरकारले सहजीकरण गर्नुपर्ने र यो विषयबाट राज्य पछि हट्नुहुँदैन’ भनेँ । उहाँले अगाडि भन्नुभयो, ‘ऋण लिएपछि तिर्नुपर्छ मात्रै भन्ने हो भने ठूलो काम गर्छ । अहिले धेरै स्थानीय तहहरुले पैसा तिर्नुपर्छ है सहकारीको भनेपछि धेरै संस्थाहरुमा ऋण उठेको छ । यो विषयमा राज्यले ओनरसीप लिइदिनुपर्छ । सबै सहकारीको रकम सञ्चालकहरुले खाए मासेको हुँदैनन् । सहकारीको पैसा सदस्यहरुमै लगानी गरिएको हुन्छ । केहीले मात्र बद्मासी गरेका छन् सबैले होइन ।
हाम्रो हकमा भन्ने हो भने सञ्चालक समितिको बैठकमा न्यूनतम भत्ता सम्म लिने हो । त्यसबाहेक केही हुँदैन । स्वयंसेवी भावनाले सामाजिक सेवा गरिरहेका हुन्छौं । सहकारी सञ्चालकहरु ठग हुन भन्दा हामीलाई पनि त्यो आरोप लाग्छ र त्यसले हामीलाई कस्तो लाग्ला भन्नुस् त ? हामीसँग संस्थामा भएको रकममध्ये धेरै लगानी गरेका छौं । छाता संघहरुको सेयर खरिद गरेका छौं । बैंकहरुमा राखेका छौं । तरलता रकम छ । कही कतै बद्मासी भएको छैन ।
हामीले हाम्रो संस्थालाई हेर्दा अरुको संस्था पनि यही ढंगले चलेको होला भन्छौं तर ऋणीले रकम समयमै नतिर्दिएका कारण सञ्चालकहरु समस्यामा परेका पनि छन् केही बाहेक । राम्रोसँग सञ्चालनमा रहेका हामीजस्ता सहकारीहरुले यो क्षेत्रलाई राम्रो बनाउन आफ्नो संस्थालाई थप उदाहरणीय बनाउनुपर्ने दायित्व छ ।’
त्यस्तै अर्को विषय भनेको सहकारी स्वनियमनमा चल्ने स्वायत्त संस्था हो । तर, केही बद्मासी भएका कारण सरकारको निगरानी बढाउनुपर्ने अवस्था छ । निगरानी बढाइदेऊ भन्ने अवस्थामा सहकारीहरु पुगेको अध्यक्ष बि.सी.ले बताउनुभयो । ‘जुन कुराको हामीले विरोध गथ्र्यौं, त्यही काम गरिदेऊ भन्ने अवस्थामा पुगका छौं, ’उहाँले भन्नुभयो, ‘यो विवशता र बाध्यता हो । तर, अहिलेका लागि आवश्यकता हो । अर्को, भनेको एकीकरणको नीतिलाई लचिलो र इन्सेन्टिभहरु दिएर सहकारीको संख्या घटाउनुपर्छ । अभियानले पनि यतातर्फ जोडतोडका साथ लाग्नुपर्छ ।’
त्यस्तै, कहाँ के बिग्रिएको छ, बिग्रन लागेको के छ ? भन्ने टाइम्ली पूर्वानुमान गरेर अभियानले निरोधात्मक क्रियाकलाप अघि बढाउनुपर्छ । उपचारात्मक विधि भन्दा निरोधात्मक विधि अवलम्बन गर्नुपर्ने बि.सी.को बुझाइ छ ।
संविधानको अनुसूची ८ ले दिएका सहकारी क्षेत्रसम्बन्धित अधिकारहरुलाई मात्रै पनि स्थानीय तहले उपयोग गर्ने हो भने पनि धेरै कुरा गर्न सकिने दाबी उहाँको छ । ‘अछामको मंगलसेन नगरपालिकाको वडा नं १ मा भाखा नाघेको ऋण शुन्य भएको सहकारी संस्था छ , ’बि.सी.ले उदारण प्रस्तुत गर्नुभयो, ‘र त्यसको कारण भनेको स्थानीय सरकारले सहकारीको ऋण समयमै नतिर्नेहरुलाई पालिकाबाट उपलब्ध गराउने सेवाबाट बञ्चित गराउने भनेपछि हो । त्यसपछि सबैले तिरे ।
यसलाई मात्र पनि 'रिफरेन्श' मान्ने हो भने अरु स्थानीय तहले धेरै सहयोग गर्न सक्छन् सहकारीहरुलाई । अर्को भनेको, पछिल्ला केही घटनाक्रमबाट राम्रा सहकारीहरुले पनि राम्रै शिक्षा पाएका छन् । यसअघि भएका कमी कमजोरीहरुलाई अब नीतिगत प्रबन्धसहित सुधार्नुपर्छ भन्ने बुझेका छन् । कानूनमा भएका प्रावधानहरुलाई राज्यले कडाइका साथ लागू गर्नुपर्छ ।’
अनुभवी बि.सी.को धारणा छ–‘प्रारम्भिक संस्थाहरुले सदस्य शिक्षालाई थप प्रभावकारी बनाउनुपर्छ । सहकारी बुझाउनुपर्यो सदस्यहरुलाई । उत्पादनसँग जोड्नुपर्छ । कमाउने ठाउँमा ऋण लगानी गर्न सिकाउनुपर्छ । सदस्यहरुसँग निरन्तर सम्पर्कमा रहनुपर्ने हुन्छ । उनीहरुका सुखदुःखसँग एकाकार हुनुपर्छ ।
सञ्चालक तथा व्यवस्थापन टीमले मिलेर काम गर्नुपर्छ । व्यवस्थापनलाई अधिकार दिनुपर्छ, जिम्मेवार बनाउने र नीतिगत रुपमा निर्देशित गर्ने काम गर्नुपर्छ ।’
अध्यक्ष बि.सी. को व्यस्तता
२०५४ सालदेखि सहकारी अभियानमा लाग्नुभएका वीरेन्द्रनगर साकोसका अध्यक्ष बि.सी.अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित चेतना बचत तथा ऋण सहकारी संस्था लि. बाट यस क्षेत्रमा लाग्नुभयो । अहिले पनि जिल्लाको सबैभन्दा राम्रो संस्थाको रुपमा सञ्चालन भैरहेको उक्त संस्थाको उहाँ संस्थापक सचिव हुनुहुन्थ्यो । २०५८ सालबाट भने उहाँले २०६४ सालसम्म जिल्ला बचत संघ अछामको दुई कार्यकाल नेतृत्व पनि गर्नुभयो । बीचमा करिब १ दशक सहकारी अभियानबाट बाहिर रहनुभयो बि.सी. । तर, पछि पुनः जोडिनुभयो ।
२०४८ सालदेखि नै सुर्खेत आउने जाने क्रम उहाँको चलिरह्यो । दुबैतिर बसोबासका स्थायी आधारहरु भएका कारण उहाँ अछाम र सुर्खेत आउने जाने गरिरहनुहुन्थ्यो जुन क्रम अहिले पनि छ नै । यसैक्रममा, २०६१ सालमा वीरेन्द्रनगर साकोसको सेयर सदस्य बन्नुभयो । उहाँको विज्ञता साकोसले बुझिहाल्यो र त्यसको केही समयपछि सल्लाहकार बन्नुभयो ।
बि.सी. सम्झनुहुन्छ, ‘२०६६ सालमा वीरेन्द्रनगर साकोसको प्रथम रणनीतिक व्यावसायिक योजना (३ वर्षे) निर्माणको मैले सहजीकरण गरेको थिएँ । योजनागत ढंगले संस्थालाई व्यावसायिक बनाउनुपर्छ भन्ने उद्देश्यसहित दोस्रो व्यावसायकि योजना निर्माण गरियो । हाल तेस्रो रणनीतिक योजनाको मध्यावधि समीक्षाको नजिक हामी छौं । कोभिडका कारण लक्ष्यमा केही संशोधन गर्नुपर्ने अवस्था भएकाले हामी चाँडै बसेर त्यो निर्धारण गर्दैछौं’ उहाँले सुनाउनुभयो ।
असहज र कठिन विगतबाट बिस्तारै वीरेन्द्रनगर साकोस सहजताको यात्रामा अघि बढेको हो । बि.सी.ले संस्थाको नेतृत्व गर्दा करिब ८ करोडको कुल सम्पत्ति रहेको साकोसको कुल पुँजी १ अर्ब ३१ करोड ५४ लाख ३८ हजार भन्दा बढी पुगेको छ । ९८ करोड बढी लगानी रहेको छ भने भाखा नाघेको ऋणको अवस्था सन्तुलित छ । २३ हजार ५ सय ८९ सदस्यमध्ये महिलाहरु बढी छन् । वीरेन्द्रनगर स्वयंसहायता समूह भनेर लघु समूहरु सञ्चालन गरेको छ । सुर्खेत जिल्लाभर कार्यक्षेत्र रहेको साकोसको १३ वटा सेवा केन्द्र छन् भने ८४ जना कर्मचारी छन् । १७ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति छ । साकोसले ८ वटा संस्थासँग एकीकरण पनि गरेको पनि सुनाउनुभयो ।
वीरेन्द्रनगर साकोसले एउटा क्षेत्रीयस्तरको र ३ वटा केन्द्र स्तरबाट गरी नेफ्स्कून तथा राष्ट्रिय सहकारी बैंक बाट ४ वटा पुरस्कार पनि प्राप्त गरिसकेको छ । नेफ्स्कूनमा विगत लामो समयअघि नै आवद्ध वीरेन्द्रनगर साकोस संघले सञ्चालन गरेको राष्ट्रिय मान्यताप्राप्त गुणस्तर सुनिश्चितता सम्बन्धी स्तरीकरण कार्यक्रम–प्रोवेसनमा पनि आवद्ध छ ।
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
११०७ दिन अगाडि
२१ दिन अगाडि
५३६ दिन अगाडि
६६५ दिन अगाडि
७१४ दिन अगाडि
८२८ दिन अगाडि
८३० दिन अगाडि
८३५ दिन अगाडि