काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा सहकारी संघहरूको संस्थागत रूपान्तरण, साझा कार्यदिशा तथा भावी भूमिकाका विषयमा अन्तरक्रिया तथा कार्यशाला सम्पन्न भएको छ। २०८३ कात्तिक १९ गते काठमाडौंमा आयोजित कार्यक्रममा बदलिँदो नियामकीय परिवेशमा सहकारी संघहरूको दिगो सञ्चालन, संस्थागत सुदृढीकरण र सञ्जालगत सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको हो।
कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले मन्तव्य राख्नुभएको थियो। कार्यशालामा संघहरूको रूपान्तरणका लागि आवश्यक साझा दृष्टिकोण, शिक्षा तथा तालिम प्रणाली, सदस्य संस्थाहरूको एकीकृत अनुगमन, जोखिम व्यवस्थापन र कार्यान्वयन कार्ययोजनाका विषयलाई प्राथमिकता दिइएको थियो।
कार्यशालामा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले ‘बदलिँदो नियामकीय परिवेशमा सहकारी संघहरूको रूपान्तरण : आवश्यकता, अवधारणा र भावी कार्यदिशा’ विषयमा प्रस्तुतीकरण गर्दै अन्तरक्रिया सहजीकरण गर्नुभएको थियो। उक्त सत्रमा बदलिँदो नियामकीय वातावरणअनुसार सहकारी संघहरूको संरचना, भूमिका र सञ्चालन प्रणालीलाई रूपान्तरण गर्नुपर्ने आवश्यकतासम्बन्धी विषयमा छलफल गरिएको थियो।
नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकालले ‘सहकारी शिक्षा, तालिम तथा जनशक्ति विकास प्रणाली तथा सदस्य संस्थाहरूको एकीकृत अनुगमन तथा जोखिम व्यवस्थापन : साझा कार्यक्रम निर्माण’ विषयमा सामूहिक अभ्यास तथा पृष्ठपोषण संकलन सहजीकरण गर्नुभएको थियो।
यस सत्रमा सहकारी संघहरूबीच शिक्षा, तालिम र जनशक्ति विकासलाई थप व्यवस्थित तथा समन्वयात्मक बनाउने, सदस्य संस्थाहरूको एकीकृत अनुगमन प्रणाली विकास गर्ने र जोखिम व्यवस्थापनका साझा कार्यक्रम निर्माण गर्ने विषयमा सामूहिक अभ्यास गरिएको थियो।
कार्यशालामा ‘सहकारी संघहरूको रूपान्तरण : साझा प्रतिबद्धता तथा कार्यान्वयन कार्ययोजनाको समूह प्रस्तुति’ विषयमा सामूहिक अभ्यास तथा पृष्ठपोषण संकलन गरिएको थियो। सहभागीहरूबीच संघहरूको रूपान्तरणलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक साझा कार्यक्रम, समन्वय र कार्ययोजनाका विषयमा छलफल गरिएको थियो।
कार्यशालामा सहकारी संघहरूको भावी भूमिका स्पष्ट पार्ने, शिक्षा तथा तालिमका साझा कार्यक्रम विकास गर्ने, सदस्य संस्थाहरूको अनुगमन र जोखिम व्यवस्थापनमा सहकार्य बढाउने तथा संस्थागत रूपान्तरणका लागि कार्यान्वयनयोग्य कार्ययोजना निर्माण गर्ने विषयमा विचार आदानप्रदान गरिएको थियो।
प्रस्तुतीकरण, अन्तरक्रिया, सामूहिक अभ्यास तथा पृष्ठपोषण संकलनका माध्यमबाट सञ्चालन गरिएको कार्यक्रमले सहकारी संघहरूबीच साझा बुझाइ, समन्वय र संस्थागत सुदृढीकरणका विषयमा छलफल गर्ने अवसर प्रदान गरेको थियो।
कार्यक्रमको सञ्चालन नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेशप्रसाद तिमल्सिनाले गर्नुभएको थियो।
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
६ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
४८ दिन अगाडि
६२ दिन अगाडि
१ दिन अगाडि