काठमाडौं । सहकारी विभागका रजिष्ट्रार एवम् उप-रजिष्ट्रारद्वयलाई आज नेफ्स्कूनमा स्वागत गरिएको छ । विभागका रजिष्ट्रार झलकराम अधिकारी र उप-रजिष्ट्रार द्वय टोलराज उपाध्याय र खिमानन्द आचार्यलाई आज साँझ नेफ्स्कून केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा स्वागत गरिएको हो । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, लेखा सुपरिवेक्षण समिति सदस्य शुभद्रादेवी महतो, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल लगायतको उपस्थिति थियो ।
कार्यक्रममा रजिष्ट्रार अधिकारीले आकस्मिक रुपमै भएपनि नेफ्स्कून केन्द्रीय कार्यालय भ्रमण गर्ने अवसर जुरेको भन्दै न्यानो स्वागतका लागि धन्यवाद व्यक्त गर्नुभयो । सहकारी अभियानलाई नीति, विधि र प्रविधि अनुरुप अगाडि बढाउनुपर्ने बताउँदै रजिष्ट्रार अधिकारीले अब पेपरेलेस, क्यासलेस, ह्युमनलेस, ब्राञ्चलेसतर्फको यात्रामा जानुपर्नेमा जोड दिनुभयो । सूचना प्रविधिको क्षेत्रमा सहकारीलाई कसरी उन्नत बनाउन सकिन्छ भन्नेमा विभाग पनि काम गरिरहेको धारणा उहाँले राख्नुभयो । रजिष्ट्रार अधिकारीले नेफ्स्कूनबाट पनि डिजिटाइजेसनका सन्दर्भमा भैरहेका पछिल्ला कामहरु बारे जानकारी पाएको भन्दै त्यसको सफलताको पनि कामना गर्नुभयो । सहकारीलाई प्रविधिमैत्री बनाउने सन्दर्भमा नेफ्स्कूनले गर्ने राम्रा प्रयासहरुमा विभागको साथ र समर्थन रहने विश्वास पनि दिलाउनुभयो ।
कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले रजिष्ट्रार र उप-रजिष्ट्रारहरुलाई आकस्मिक रुपमा भएपनि नेफ्स्कूनमा स्वागत गर्न पाउँदा खुसी मिलेको बताउनुभयो । उहाँले नीति, विधि, र प्रविधिमा जोड दिदैं आएको नेफ्स्कूनले सूचना प्रविधिको क्षेत्रमा अग्रगामी उपलब्धि हासिल गर्ने समेत दाबी गर्नुभयो । अध्यक्ष पौड्यालले डिजिटाइजेसनको क्षेत्रमा नियमनकारी निकाय विभागको नेतृत्वमा ‘साइड भेन’ को रुपमा अभियानको नेतृत्व नेफ्स्कूनले गर्नेमा आश्वस्त तुल्याउनुभयो । अबको सहकारी अभियानको जोड सूचना प्रविधिमा आमूल परिवर्तन नै भएको उहाँको भनाई थियो । सहकारी अभियानलाई जीवन्त, मर्यादित र व्यवस्थित गराउन विभागसँगको सहकार्यलाई सधै उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसअर्थमा रजिष्ट्रार र उपरजिष्ट्रारहरुको आजको संक्षिप्त भ्रमण अत्यन्तै महत्वपूर्ण भएको दाबी गर्नुभयो । डिजिटलाइजेसनको नयाँ युगमा अब सहकारी अभियान प्रवेश गर्नुपर्ने भन्दै अध्यक्ष पौड्यालले सफ्टवेयर विथ् सर्भिसको अभियानमा नेफ्स्कून लागिपरेको बताउनुभयो ।