काडमाडौं । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको पहिलो वार्षिक परामर्श बैठक सम्पन्न भएको छ । वैठकको उद्घाटन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले गर्नुभएको थियो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित समारोहमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डित, प्रदेश सांसद ज्ञानबहादुर तामाङ, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष देवराज रोकाय (कल्याण), नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु, संघका कानुनी परामर्शकर्ता अधिवक्ता शिव अधिकारी, स्थिरीकरण कोष सञ्चालन समितिका सदस्यहरु लगायत कोषमा योगदान गर्ने सदस्य संघ संस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।
समारोहका प्रमुख अतिथि सचिव रेग्मीले बचत तथा ऋण सहकारी अभियानले प्राप्त गरेको उपलब्धीलाई आजको दिनमा कहिँ कतै शंका नगरि समस्या समाधानतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । उहाँले समस्या सबैतिर व्याप्त रहेको जानकारी गराउँदै सहकारी क्षेत्रले समस्याको उजागार गर्ने नभई सकारात्मक सन्देश प्रवाह गर्दै अभियान भित्रैबाट समाधानउन्मुख कार्यमा जुट्न र त्यसका लागि सहकारी मन्त्रालय र विभाग हरेक गतिविधिमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । सहकारीमा समस्या छन् भने त्यो समस्या ल्याउनमा तपाईं हामी नै जिम्मेवार रहेको प्रति संकेत गर्दै सचिव रेग्मीले सहकार्यको संस्कृति विकास गर्दै नीतिगत र कार्यगत विषयहरु अगाडि बढाउने दिशामा मन्त्रालय र विभाग केन्द्रीत रहेर लागिपरेको स्पष्ट पार्नुभयो ।
महासंघका अध्यक्ष मिनराज कडेलले बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषमा रहेको रकम साकोसको योगदान रकम रहेकोहुँदा यसमा सबै साकोसको अनिवार्य आवद्धता रहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बचत तथा ऋण सहकारी संस्थाहरु जोखिममा पर्न नदिन र कथम कदाचित जोखिममा परिहाले बचाउने कोषको रुपमा स्थिरीकरण कोष रहेको छ, यो वित्तीय संकट समाधानका लागि अत्यन्त महत्वपूर्ण कोष हो र यसमा साकोसको अनिवार्य आबद्धता रहनुपर्छ ।”
सहकारी ऐनको व्यवस्था अनुरुप कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण सञ्चालनमा आएको भए र सहकारी प्रवर्धन कोष साथै बचत तथा ऋण सुरक्षण कोष लागु हुन सकेको भए विद्यमान आर्थिक समस्या सहकारीमा आइनपर्ने अध्यक्ष कडेलले बताउनुभयो ।
कार्यक्रममा कोष सञ्चालन समितिकी सदस्य ज्ञानु पौड्यालले स्वागत मन्तव्य व्यक्त गर्दै स्थिरीकरण कोष साकोसको सुरक्षा कवचको रुपमा रहेको र यसले जोखिम मुक्त, दिगो र भरपर्दो बचत तथा ऋण सहकारी अभियान निर्माणमा ठोग योगदान पुर्याउने विश्वास लिइएको बताउनुभयो । कोषको प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट कार्यविधि साथै साकोसहरुको अनिवार्य आबद्धतामा रहनुपर्नेमा जोड दिँदै कोषमा योगदान गर्नुहुने सम्पूर्ण योगदानकर्ताहरुलाई धन्यवाद सहित कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन कोषका सदस्य सचिव एवं नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले गर्नुभएको थियो । उहाँले स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७६, माथी संशोधन गरी स्वीकृतिका लागि मन्त्रालयमा पुगेको, तरलता सापटी, मानव संशाधन विकास, आर्थिक गतिविधि, वैठक सञ्चालन लगायतका कार्यविधिहरु तयार गरिएको जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा स्थिरीकरण कोष तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याले कोषको परिचय, नीति, कार्यक्रम र बजेट, आ.व.२०७८/०८९ को वित्तीय विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले योगदानकर्ताहरुको राय, सुझाव, सल्लाह र परामर्श कोषको प्रभावकारी सञ्चालनका लागि निश्कर्षका आधार बन्ने उल्लेख गर्नुभएको थियो ।
बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधिले योग्यता पुगेका सहकारी संस्थालाई तरलता सापटी दिने व्यवस्था गरेको छ । सो अनुरुप बार्षिक परामर्श वैठकका अवसरमा झापा, दमकको डाँफे बचत तथा ऋण सहकारी संस्था लि. र लतिपुरको श्री माई बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाले क्रमशः रु. ९० लाख र रु. ३० लाख तरलता सापटी प्राप्त गरेका छन् । त्यसैगरी कोषमा हालसम्म जम्मा २ सय ७२ संघ संस्थाबाट रु. १२ करोड ७६ लाख योगदान पुगेको छ । गत जेठ २७ गते कोषको औपचारिक शुभारम्भ पश्चात यो पहिलो परामर्श वैठक सम्पन्न भएको हो ।कार्यक्रमका अवसरमा कोष सञ्चालनका लागि पुग्नुपर्ने प्रारम्भिक रकम रु. १० करोडका लागि योगदान गर्ने प्रारम्भिक योगदानकर्ताहरु २ सय ४० संघ संस्थालाई प्रशंसापत्र प्रदान गरिएको थियो भने अन्य योगदान कर्ता १ सय ४० संघ संस्थालाई कोषमा सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागी योगदानकर्ता सदस्यहरुबाट कोष सञ्चालन प्रभावकारिताका लागि प्रतिनिधिमुलक परामर्श तथा सुझावहरु प्रस्तुत भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले स्थिरीकरण कोषको वार्षिक परामर्श वैठकबाट गहन छलफल र परामर्श लिएर यसको सञ्चालन प्रभावकारीताका लागि विधि र प्रक्रियाहरु निर्माण साथै परिमार्जनका लागि शुभकामना प्रदान गर्नुभयो । स्थिरीकरण कोषको कार्यविधि सचिवको टेवलमा पुगिसकेको जानकारी गराउँदै रजिष्ट्रार पण्डितले कार्यविधि छिट्टै स्वीकृत भएर आउने जानकारी गराउनुभयो । उहाँले केही अपवाद वाहेक नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा जोडिएका सहकारीहरु सुशासनमा रहेको र यसको विस्तारलाई व्यापक बनाउँदै बाँकी साकोसहरुलाई पनि जोड्ने अभियानमा नेफ्स्कून लाग्न अनुरोध गर्नुभयो । स्तरीकरण प्रमाणीकरणको कार्यक्रमलाई प्रभावकारी रुपले अगाडि लैजान विभागले गहन अध्ययन गरिरहेको हुँदा केही समय लागेको समेत उहाँले स्पष्ट पार्नुभयो ।
नेफ्स्कूनका कानुनी परामशकर्ता अधिवक्ता शिव अधिकारीले स्थिरीकरण कोष अभियानको सुरक्षा कवचको रुपमा रहेको हुँदा कोषमा साकोसहरुको आवद्धता विस्तार सँगै सहकारी क्षेत्रका लाइन एजेन्सिहरुको सामुहिक ऐक्यबद्धता आवश्यक रहने विचार व्यक्त गर्नुभयो । उहाँले कोष सञ्चालन साथै आवद्धता विस्तारका लागि ऐन, कानुन र कार्यविधिले समेटेका विषयहरुबीच नै द्धिविधा रहेको प्रष्ट पार्दै त्यसमा संशोधनको आवश्यकता रहेको औल्याउनुभयो ।
नेफ्स्कूनका पूर्व अध्यक्ष डी.बी.बस्नेतले स्थिरीकरण कोष सञ्चालनका लागि अर्थ मन्त्रालयले समयमै सहयोग नगरेका कारण दुई बर्ष पछाडि धकेलिएको बताउनुभयो । अभियानको महत्वपूर्ण कोषको रुपमा रहेको स्थिरीकरण कोष सहकारी ऐनमै प्रष्ट सँग नेफ्स्कून मातहतमा रहने व्यवस्थासँगै कोषको कानुनी पहिचान नै नेफ्स्कून रहको बताउनुभयो । स्थिरीकरण कोषको नीति र विधि बनाउने अधिकार हामीभित्रै निहित रहको उल्लेख गर्दै पूर्व अध्यक्ष बस्नेतले कोषको प्रभावकारी सञ्चालनका लागि आवश्यक सञ्चालन खर्च पनि यहि वैठकले तोक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष देवराज रोकाय (कल्याण) ले आर्थिक विकासको प्रमुख तीन खम्बा मध्ये एक प्रमुख खम्बाको रुपमा वित्तीय योगदान रहेको सहकारी क्षेत्र राज्यको उपेक्षामा रहनु विडम्बना भएको बताउनुभयो । उहाँले ७ खर्ब पुँजी परिचानल भएको सहकारी क्षेत्र उपेक्षित हुनु र बैक वित्तीय संस्था र निजी क्षेत्रले मात्र राज्यको स्रोत साधनमा रजाई गर्नु अत्यन्त दुखदायी अवस्था रहको बताउँदै सहकारी अभियान यस विरुद्ध आन्दोलनमा उत्रनुपर्ने आवश्यकता औल्याउनुभयो ।
समारोहको समापन गर्दै सभाध्यक्ष एवम् कोषका अध्यक्ष पौड्यालले कोषमा योगदान गर्ने सदस्यहरुको पैसाको सुरक्षाको नीम्ति हामीले साकोसको स्तरीकरण र स्थिरीकरणलाई एकसाथ अगाडि बढाइएको र त्यसका लागि अभियानको ऐक्यवद्धताका लागि आव्हान गर्नुभयो ।
स्थिरीकरण कोष बचत तथा ऋण विषयगत केन्द्रीय संघमा रहने व्यवस्था सहकारी ऐन २०७४ को दफा १०३ को उपदफा ३ ले गरेको छ । बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७६ को दफा (६) उपदफा (२) को देहाय (१) बमोजिम अर्थ मन्त्रालयबाट सहमती प्राप्त भएसँगै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गत जेष्ठ २७ गते बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष शुभारम्भ भएको घोषणा गर्नुभएको थियो । कोषमा २ सय ७२ संघ संस्थाबाट रु. १२ करोड ७६ लाख योगदान पुगेको संघले जनाएको छ ।
कोष सञ्चालन समितिमा नेफ्स्कून, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल राष्ट्र बैंक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, सहकारी विभाग र राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि साथै कोषमा योगदान गर्ने दुई सदस्य संघ संस्थाका एक एक जना प्रतिनिधि रहनुभएको छ ।
कोषको अध्यक्ष नेफ्स्कूनका अध्यक्ष र सदस्य सचिवमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । बैठकमा कोषमा योगदान गर्ने सहकारी संघ संस्था वा निकाय र अन्य सरोकारवालाहरु सहभागी हुने व्यवस्था कार्यविधिमै उल्लेख छ ।
७ घण्टा अगाडि
८ घण्टा अगाडि
९ घण्टा अगाडि
२३ घण्टा अगाडि
२४ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
९ घण्टा अगाडि
३ दिन अगाडि
७ घण्टा अगाडि
२३ घण्टा अगाडि
५७५ दिन अगाडि
६६४ दिन अगाडि
६८४ दिन अगाडि
६८५ दिन अगाडि