अघिल्लो समाचार

An Impossible Hand
२४१ दिन अगाडि
विपश्यना ध्यानः सहकारीकर्मीले अनुभूति गर्नुपर्ने साधना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विपश्यना ध्यानः सहकारीकर्मीले अनुभूति गर्नुपर्ने साधना

करिब १५ वर्ष अघिको कुरा हो । वाणीमा मौन अनुशासन पालना गरी सामूहिक कार्यसहितको एक किसिमको साधना गराइन्छ भन्ने सुनेको थिएँ । यसको अभ्यास गरेर फर्किएकाहरुको स्वभाव, आचरण र असल गतिविधिबाट पनि प्रभावित थिएँ । सुनाइ र अनुभव दुबैले नतिजा समान देखाएपछि विश्वास बलियो भयो । सँगै मनभित्र सुशुप्त इच्छाले डेरा जमायो । केही तालिम कार्यक्रमहरुमा एक दुई घन्टा सहभागीहरुबीच यस्तै आत्म अनुशासनको अभ्यास नगरिएको पनि होइन । तर, त्यसप्रकारको सात्विक साधनाको मुहानमै पुग्ने आकांक्षाले स्थायी आवास नै निर्माण गरिसकेको थियो । फलतः यही फेब्रुअरी १ देखि १२ मा अवसर मिल्यो–विपश्यना ध्यान शिविरमा सहभागी हुने । 

अनलाइन नाम दर्ता गरेको थिएँ । पालो कुनुपर्ने रहेछ । आईइएलटीएसको रजिष्ट्रेशन भन्दा कम चर्को थिएन पर्खाई । फेब्रुअरी महिनाको लागि भरें । वेटिङ लिष्टमा परें । जानु त थियो नै  फेरी मार्च १ देखि १२ को लागि पनि फर्म भरी हेरें । इमेलले स्वीकृति जनायो । यद्यपि, ८ मार्च विश्वभरका महिलाहरुको विशेष चार्ड भएकाले त्यस सयम आयोजना हुने कार्यक्रमहरुले महत्व राख्थ्यो । निर्णय गरिहाल्न सकिएन । प्रतिक्षामा बसें । असल मनले चाहेपछि पुग्दो रहेछ । फेब्रुअरीको वेटिङ लिष्टबाट मेरो नाम सहभागि लिष्टमा आयो । जान पाईने भयो । तोकिएको मितिमा इमेलमार्फत् सहभागिताको सुनिश्चिचता नगरे स्वतः अस्वीकृत हुने रहेछ । मैले अवसर गुमाइनँ । अब भने १० दिने शिविरमा सहभागी हुने पक्का भयो । 

एकै दिनमा दशौं ठाउँमा पुग्ने र सैयौं व्यक्तिसँग छलफल गर्ने सहकारी स्वयंसेवीले १० सम्पूर्ण दिन शिविरका लागि छुट्याउनुपर्ने भयो । सञ्चारका सबै साधनसँग दश दिने सम्बन्ध विच्छेद गर्नुपर्ने भयो । झट्ट सम्झदा असम्भव लागे पनि भित्री हृदयले ठहर गरेपछि संभव रहेछ । संकल्प प्रतिज्ञा लिएँ । काममा असर नपरोस् भनेर आवश्यकहरुलाई जानकारी गराएँ । कारण बताएकाहरु सबैबाट ‘असाध्यै राम्रो निर्णय लिनु भयो’ भन्ने प्रतिक्रिया पाएँ । संकल्प झन् गहिरो भयो । 

फेब्रुअरी १ । अन्ततः त्यो दिन पनि आयो । बिहान ११ देखि १ बजेभित्र पुगिसक्नु पर्ने थियो । मध्यान्न पुग्दा महिला र पुरुषको छुट्टा छुट्टै दर्ता कक्ष रहेछन् । नाम दर्ता गरेँ । अनलाइनमा भरेको फर्म प्रिन्ट गरेर राखिएको रहेछ । सँगै एउटा सानो कार्ड पनि पाएँ । अगाडी जाने ठाउँ देखाइयो । त्यहाँ अर्को फर्म भर्नु पर्ने रहेछ । ‘यहाँको सबै नियम पढ्नु भयो ? सबै मान्न तयार हुनुहुन्छ ? स्वाथ्यको अवस्था के हो ?’ भन्ने लिखित प्रतिबद्धताहरु फर्ममा दोहो¥याएँ । छुट्टाछुट्टै भेटमा पनि तिनै प्रश्न सोधिदो रहेछ । मुख्य कुरा ‘यहाँ जस्तो भनिन्छ त्यस्तै मात्र गर्नु, आफूले ध्यन सम्बन्धी कुनै अन्य विधिहरु अपनाइ रहेको छ भने पनि यहाँ भनिए अनुसार मात्र गर्नुपर्ने हुन्छ’ भन्ने कुरामा मन्जुरी लिइयो । मैले सहमति प्रदान गरेँ । 

पुनः अर्को कोठामा पठाइयो । जहाँ आवास, ध्यान सिट नम्बर, खानाको टेवलको सिट नम्बर आादि अघि दिइएको कार्डमा उल्लेख गरियो । अर्को ठाउँमा आफ्ना महत्वपूर्ण सामानहरु जम्मा गर्ने ठाउँ रहेछ । त्यहाँ आफ्नो पर्स र अफ गरेर मोबाइल दिइयो । ठूला र महंगा गर गहना, महत्वपूर्ण सामानहरु पनि लकरमा राख्न सकिने बताईयो । संभव भए सम्म त्यस किसिमका सामान नल्याउन फर्म भर्दा नै डिजिटल आग्रह गरिएको थियो । त्यहाँ तिनै कुराको भौतिक सुनिश्चितता गर्न लगाइयो । अरु बेलै त महंगा गरगहना तथा आभूषणमा अर्थ नदेख्ने मलाई ती कुराले कुनै असहज हुने कुरै भएन ।

त्यहाँको सबै काम निब्ट्याएपछि सेविकाहरुले आवास क्षेत्रमा जाने बाटो देखाइदिनु भयो । तन्ना, सिरक र तकियाको खोल दिनु भयो । गृह प्रवेश गरियो । सानो चिटिक्क कोठा । सिमेन्टेड खाटमा मोटो प्लाई माथि कपडाको ओछ्यान । एक सिरानी । एक ओड्ने । २ खण्डको फलाम र काठ मिश्रीत टेवल, टेवलमै जोडिएको ह्याङ्गि र ३ वटा ह्याङगर । भित्तावाला कपडा झुण्ड्याउने ठाउँ । त्यो तलामा ९ वटा उस्तै कोठा, ९ मध्ये १ सेविकाको लागि, २ वटा बाथरुम, २ वटा शौचालय, ३ वटा हातमुख धुने बेसिन, २ वटा ऐना, स्यानीटरी प्याड र अन्य फोहोरका लागि छुट्टै डस्टविन थिए । 

शौचालय देखि भान्सा, साधन हल (धम्मा हल भनिन्छ) जुन सुकै ठाउँमा आग्रह गर्ने कुराहरु लेखिएको सूचना टाँस गरिएको हुन्थ्यो । जस्तैः ध्यानको समयमा भित्रबाट चुकुल नलागाउनु होला, यो डस्टविन स्यानिटरी प्याडको लागि मात्र, स्यानिटरी प्याड डस्ट्बििनमा राख्दा अनिवार्य कागजमा पोकोपारेर मात्र फाल्नु होला, समय तालिकाहरु, आफूलाई आवश्यक सामाग्री खरिद गर्न टिपाउनु होला, आर्यमौन, आफूलाई चाहिने मात्र खाना लिनु होला, भाडामाझ्ने ठाउँमा मुखचुठ्ने खोक्ने जस्ता कार्यहरु नगर्नुहोला, जस्ता जुन ठाउँमा जे कुरामा ध्यान दिनु पर्ने हो सो ठाउँमा सोही कुरा लेखेर देख्ने गरी राखिएको थियो । जसले मान्छेलाई सजग र ठाउँलाई व्यवस्थित बनाएको स्पष्ट देखिन्थ्यो ।

सबै भेला भैयो । आज बोल्न छुट जस्तै थियो । दिउँसो घाम ताप्दै परिचय साटासाटका केही काम भए । तर म भने सहभागी भइनँ । अघि तन्ना खोल दिने एक जना दिदीसँग भने बोलिहालौं जस्तो भयो । २०१६ सालमा उहाँ जन्मिनुभएको रहेछ । श्रावण महिनामा १० दिनको शिविरमा भाग लिनु भएको रहेछ । सेविका बन्न अनिवार्य १० दिनको शिविर पुरा गर्नुपर्ने विधि रहेछ । किर्तिपुर निवासी उहाँको यो उमेरमा पनि सेवा भावना, प्रण र क्रियाशीलता देखेरे नतमस्तक भएँ ।

समय तालिका भित्तामा थियो । संगै घडी पनि । एक अर्कामा सम्बाद नगर्नुलाई आर्यमौन, (नोबेलसाइलेन्स) भनिंदो रहेछ । झुक्किएर बोल्न सकिने हरेक स्थानहरुमा लेखेर राखिएको थियो आर्यमौन । बोली मात्र नभइ, सांकेतिक रुपमा कुरा गर्न, एक अर्कामा आँखा जुधाउन समेत नसकिने नियम हो । महिला र पुरुषको आवास क्षेत्रको परिधि नाघ्न नपाइने, पञ्चशीलको अनिवार्य पालना, अर्काको सिटमा नबस्ने, ननाघ्ने, ध्यान बस्दा अरुको ध्यान भंग नहोस भनेर सदैव सचेत रहने, आवाज दिने कपडारुको प्रयोग सकेसम्म नगर्ने, सके सम्म आसन नबदल्ने । कतैबाट कुनै आवाज आएमा, आसन बदलेको वा केही आवाज आएमा स्वाथ्यको कारण वा केही कारणले हुन सक्छ भनी त्यसमा ध्यान नदिने । तर कुनै समस्या आइपरेमा समाधानका लागि महिलाहरु सेविकाहरुसँग पुरुषहरु सेवकहरु सँग सानो स्वरमा बोल्न र सहायक आचार्यहरु समक्ष आफ्ना जिज्ञासााहरु उस्तै गरी व्यत्तिगत भेटेर मसिनो स्वरमा राख्न पाइने लगायतका निर्देशन सहायक आचार्य बिरेन्द्र श्रेष्ठले दिनुभयो ।

ध्यान गर्ने हल ठूलो थियो । लगभग आधा महिला आधा पुरुष गरी २ सय भन्दा बढी थियौं ।  महिलाहरुका लागि २ जना चन्द्रा शाक्य र विमला श्रेष्ठ सहायक आचार्य हुनुहुन्थ्यो भने पुरुषहरुका लागि २ जना पुरुष सहायक आचार्य हुनुहुन्थ्यो । उहाँहरु पनि हामीहरुसँगै ध्यान गर्ने, सँगै प्रवचनमा भाग लिने । हाम्रा जिज्ञासाहरुको सहज मार्ग प्रशस्त गर्ने ।

३ दिन सम्म लगातार हाम्रो स्वाभाविक श्वासलाई हेर्ने ध्यान अभ्यास भयो । जसलाई आनापान ध्यान भनिदो रहेछ । बिहान ४ बजेको घण्टीसँगैको व्यस्त तालिका राती साढे ९ बजे सम्म चल्थ्यो । कोठामा पुगेर हेर्नुपर्ने पनि के नै थियो र सबका सब हेरे पनि एउटै सानो हाते घडी लगेको थिएँ । घडी कतिबेरसम्म पो हेर्नु ! फेरी सहायक आचार्य जसलाई हामी गुरुमा भनेर सम्बोधन गर्छौं उहाँले हिंड्दा, खाँदा, बस्दा, कुनै काम गर्दा पनि श्वासमा मन टिकाउने, समतामा बस्ने अभ्यास गरिरहनु, ठाउँ, सिनहरु अरु कुराहरुमा ध्यान नभड्काउनु भन्नु हुन्थ्यो । 

साँझ ५ बजेको फलफूल पछि बेलुकीको खाना सकिन्थ्यो । त्यतिखेरको थोरै खाली समयमा आवास कोठाको दक्षिण पश्चिम झ्यालबाट सुन्दर पहाडी श्रृंखला बीच देखिने सुन्दर सुर्यअस्तको दृष्यलाई कतिपटक त पर्दाले छेकी पनि दिएँ । बेला बेला एकधर्को चन्द्रले नियाल्थ्यो धम्माहलबाट ५ मिनेटको बिश्राम समयमा बाहिर निस्कदा । भैगो तिमीलाई पनि हेर्दिन ल भनेको थिएँ । फर्कने दिन सम्ममा त चन्द्रमा पनि पूर्ण स्वरुपमा देखि सकेछिन् । 

१० बजेअघि नै सुकला गरिन्थ्यो । कहिले काहीं भने अघि भनेको कुरा अझै एकपटक अभ्यास गरि हेरौं न  भन्ने लाग्थ्यो र १० पनि बज्थ्यो । सुन्दा ध्यानै त गर्ने हो नि भनेजस्तो समान्य लागे पनि यो भने बिलकुल सामान्य काम थिएन । त्यसैले त १० जना पुरुष, २ जना महिलाहरुले बीचमा नै छोडे रे । हामी ध्यान गर्नेहरुले त चाल पाएनौं तर पछि थाहा भो ।

चौथो दिन देखि विपश्यना ध्यान शुरु हुने रहेछ । शारिरका विभिन्न अंगमा मनलाई पु¥याएर । त्यहाँको अनुभूति थाहा पाउने अभ्यस विभिन्न तरिकाबाट गरियो । शरिरमा हुने ठूला समवेदनालाई मात्र ख्याल गर्ने हामी । हामी भित्र ठूला चोट वा ठूला आनन्दको अनुभूति मात्र होइन । हाम्रा प्रत्येक अंगले हरेक पल कुनै न कुनै प्रकारको अनुभूति गरिनै राखेको हुन्छ । त्यस समवेदनालाई हामीले प्रत्येक अंगअंगमा पुगेर अनुभूति गर्ने अभ्यास रहेछ यो । 

त्यसपछि लगातार सिङ्गो शरिरको, शरिरका अंग अंगको, ससाना भागहरुको शिर देखि पाउ सम्म र पाउ देखि शिर सम्म अनुभूति गर्ने । कहाँ कस्तो अनुभूति भैरहेको छ थाहा पाउने । संसार परिवर्तनशील छ । प्रत्येक पल संसारका सबै चीजहरु परिवर्तन भैरका हुन्छन् । एक छिन अघि जस्तो थियो एक्कैपल पछि पनि त्यो त्यस्तै रहंदैन । जसरी अघिल्लो दिन आज आउँदैन । त्यसैगरी अघिल्लो चिज अहिले सम्म रहिरंदैन । यो सास्वत सत्य हो । र यही शास्वत सत्य ज्ञानको स्तरबाट मात्र नभई अनुभूतिको स्तरबाट ग्रहण गर्ने अभ्यास विपश्यना ध्यान रहेछ । 

एउटा सानो बालक हिजो र आजको फरक छुट्याउन असज होला प्रत्येक ५, ७ महिनाको फेरमा उसमा आएको परिवर्तन स्पष्ट देखिन्छ । त्यही युवा अवस्थामा एक स्वरुप त बृद्धा अवस्थामा अर्कै स्वरुपमा बदलिन्छ । यो एक्कैपलमा आएको बदलाब होइन । प्रत्येक पलमा परिवर्तन भैरहेको हुन्छ । हरेक पल हरेक चिज परिवर्तनशील छ । नासवान छ । जन्म पछि मृत्यु अवश्यम्भावी  छ । यो कुरालाई बुद्धि वा ज्ञानको स्तरबाट मात्र जानेर पुग्दैन । स्वयमलाई पर्दा अधिर र अधैर्य बनिहालिन्छ । यसलाई अनुभूतिको स्तरबाट बुझ्न सक्दा यी सबैबाट हुने दुःखको सागरबाट मुक्ति मिल्छ । 

मृत्यु मुक्ति होइन । जीवन रहदै नश्वर र परिवर्तनशील चीजलाई अनूभूति गर्ने र सुखद् समवेदनामा रमाएर यस्तै संधै आईरहोस् भनेर रागको भावना र दुखद् अवस्थालाई यो परिवर्तनशील छ भनेर धैर्य नगरेर यसबाट छिटो मुक्ति पाइयोस भनेर समय भन्दा अघि आकुलव्याकुल हुँदा समस्या सुल्झनुको सट्टा बल्झन सक्छ । समाधान भन्दा व्यवधानहरु निम्त्याउन सक्छ । अझ बढी दुःखहरुको समना गर्नु पर्ने हुन्छ । तसर्थ न सुख स्थिर छ, न दुःख स्थिर छ । दुबै परिवर्तनशील छ । 

यसैले यी दुबैलाई समता भाव राखेर हेर्ने । सुखद् समवेदनामा लिप्त भएर यस्तै नै रहिरहोस भनेर रागको संग्रह र दुखसँग अत्तालिएर आकुल व्याकुल भएर दुखको संग्रह गरेर राग र द्वेषको संस्कार निर्माण होइन अनुभूतिको स्तरबाट जान्नका लागि यो ध्यान साधना रहेछ । साधनाको अर्थ थाहा भए पछि त्यो अनुभूतिको स्तरबाट अभ्यासहुँदै कल्याणको बाटो तय गर्न सकियो भने साँचो अर्थमा ध्यान सफल हुनेछ ।

आर्यमौनको पूर्ण पालना गर्दा हुने मौनताको समयको गतिविधि पनि साह्रै गजबको हुने रहेछ । बोल्न मिल्दा ठोक्किए पनि सरी भन्न पाइएयो तर यहाँ त त्यो सुबिधा पनि छैन । पहिले नै सजग हुनु प¥यो । समयको त झन कति धेरै बचत । जब आर्य मौन सक्किन्छ ९ औं दिनको अन्त्य तिर त्यस पछि त्यही समयमा लागेको घण्टी पनि नभ्याईने गरी छिटो छिटो गरी लागे जस्तो समय बितेको पत्तो नभए जस्तो हुने ।

स्वयम सेवा गर्न आएका सेवक सेविकाहरु मार्फत् हरेक गतिबिधि तोकिएको समयमा हुनु । २ सय भन्दा बढीको १२ दिनको सम्पूर्ण प्रवन्ध मिलाउनु । कुनै पनि ढिलासुस्ती असावधानी नदेखिनु ध्यान केन्द्रको व्यवस्थापनको महत्वपूर्ण पाटो थियो । कसैले कसैलाई काम अह्राएको देखिंदैन । सेविकाहरु कुनै कुनै समय सल्लाह गरिरहेका जास्ता देखिन्छन् । भित्र कुनै प्रवचन सुन्यो, भिडियो हे¥यो वा केही अनुभूति ग¥यो मनमा सवाल आउँछ । त्यसको जवाफ कोही संग सोध्नै नपर्नेगरी बाहिर कहिले पोष्टर, कहिले सूचना टाँस केही न केही कुराले जिज्ञासा समाधान भैहाल्छ । जिज्ञासा कै कुरा गर्दा कहिलेकाहीं त ध्यान अवधिमै केही समाधान मनबाटै पनि हुने रहेछ । अझै थप जिज्ञासा भए ५ मिनेटको बिश्राममा छोटा सवालहरु र लामो सवालहरु हरेक दिन १२ देखि १ बजे सम्म र राती ९ बजे देखि ९ः३० सम्म सोध्न पाइहालिन्थ्यो । सवाल भने ध्यान सम्बन्धी बाहेक नगर्नु, गुरुमाको समय ५ मिनेट भन्दा बढी नलिनु, अरु साथीहरु पनि कुरिरहेका हुन्छन् भन्ने पहिले नै जानकारी भएको हुन्थ्यो ।

जब हाम्रो आर्यमौन अवधि सक्कियो । एकआपसमा चिनजान कुराकानी गर्न थाल्यौं । कोही विपश्यनाको टिनएज कोर्ष गरेका । भोलिको आफ्नो कर्मक्षेत्रमा उत्रिंदै गर्दा हरेक विषय वस्तुलाई अनुभूतिको स्तरबाट बुझौं भन्ने बौद्धिक स्तरका मानिसहरु, कोही आफूलाई माया गर्नुपर्छ, आफ्नो लागि समय छुट्याउनु जीवनको महत्वपूर्ण पक्ष हो भन्नेहरु, कोही विभिन्न समस्याहरुबाट गुज्रदै गर्दा त्यसको समाधान म भित्रैबाट खोज्न संभव छ त भन्ने खोजमा भएकाहरु, कोही मानसिक उपचारका क्रममा थप ध्यान विधि पनि अपनाएका र कोही औषधी मुक्ति पछि पुनः ध्यान साधनामा आएका स्वदेशी अनि विदेशी नागरिकहरु थिए । नेदरल्याण्ड्स, फ्रान्स, मलेशिया, चाइना, कोरिया, इण्डिया लगायतका विदेशी नागरिकहरु । ४ पटक सम्म ध्यान साधनामा आएकाहरु भेटिनु भयो । यही अवधिमा ३० दिने शिविर पनि चलिरहेको जानकारी प्राप्त भयो । ८ वर्ष पुरा भएका बालबालिकाको लागि १ दिने, टिनएजरको लगि ७ दिने, त्यस भन्दा माथिकाको १० दिने, २० दिने, ३० दिने देखि ६० दिने शिविर समेत चल्ने रहेछ ।

कुरा गर्दै जाँदा प्रसङ चल्यो कर्मक्षेत्रको । मैले परिचय दिंदा घुमाउरो बाटोको सहारा लिएँ–अहिले सबै भन्दा बढी गाली खाने गरेको क्षेत्र कुन छ म त्यही क्षेत्रमा आवद्ध छु । पहिलो उत्तर आयो “सहकारी ?” भरखरै टिनएज सक्किएकाहरुको भनाइ थियो “रबि लामिछाने” । सम्बन्ध विच्छेद र व्यवसाय डुबेको एक साथीले भन्नुभयो,‘मेरो यो अवस्था सहकारीका कारणले पनि हो । हुन त म मेरो रिस नियन्त्रण गर्न सक्दिनँ । एकछिनपछि के हुन्छ त्यो सम्झन सक्दिनँ । म भित्रको रिसले नै मलाई यहाँ पु¥याएको हो तर सहकारीमा राखेको पैसा व्यवसाय धरापमा परेको बेला फिर्ता पाएको भए अवस्था सामान्य बनाउन सकिन्थ्यो ।’

सहायक आचार्य हाम्रो गुरुमाले परामर्शको क्रममा मलाई भन्नु भयो । कुन प्रोफेसनमा हुनुहुन्छ ? २०३२ सालमा एम एस्सी सकेर सेवामा लागेको । ११ वर्षदेखि अवकाश जीवन बिताइरहनु भएको आदरणीय गुरुमाको प्रतिक्रिया थियो “सहकारीले त जतातै बिगा¥यो भन्छन् नि हगि !” मैले  सुशासन युक्त सहकारीहरु पनि क्रियाशील रहेका र अनौपचारिक वित्तीय परिचालनलाई औपचारिक वित्तीय पहुँच निर्माणमा सहकारीले नेपालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको । साहु महाजनको प्रताडनाबाट सहकारीले मुक्ति दिएको तर केही गलत प्रवृत्तिका मान्छेको प्रवेशले निम्याएको विषम अवस्था हो भन्ने कुरा सारमा राखेँ । उहाँले “अरुको हानी, आफ्नो मात्र कल्याण सोच्नेहरुलाई पनि यो शिक्षा दिन पाए कस्तो हुन्थ्यो होला नि !” भन्नु भयो ।

पञ्चशीलको पालनाले त्यो १२ दिनको वातावरण यस्तो निर्माण भएको थियो कि चाबी खस्ला कि, ताला लगाउन भूलेँ इत्यादि केही सोच्नु परेन । कुनै ढोकामा ताला थिएनन् । सुविधाको लागि चुकुल प्रयोग हुन्थ्यो । बस् । त्यस माथि नयाँ विद्यार्थीले पञ्चशील र पुराना विद्यार्थीले अष्टशीलको पालना गर्ने प्रतिज्ञासहित प्रवेश गरेका थियौं । धन संग्रह नहुने हो भने र पञ्चशीलको पालना गर्ने हो भने त आधा दुःख, डर त्रासबाट त यत्तिकै मुक्ति मिल्ने रहेछ त !

भर्खरै
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

७ घण्टा अगाडि

अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न

७ घण्टा अगाडि

इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

८ घण्टा अगाडि

शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न
शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न

९ घण्टा अगाडि

जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न
जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न

९ घण्टा अगाडि

सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान  अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 
सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 

१ दिन अगाडि

साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता
साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता

१ दिन अगाडि

सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप