सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–अमाहिबेल्हा स्थित प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा व्यवसाय विकास सेवा (BDS) कार्यक्रम सञ्चालन कार्यविधि निर्माणसम्बन्धी कार्यशाला श्रावण ८ गते सम्पन्न भएको छ ।
साकोसका अध्यक्ष चन्दन कुमार चौधरीको अध्यक्षतामा तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोगमा आयोजित कार्यशालामा व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माण गरिएको हो ।
सहकारी ऐन, २०७४ (संशोधनसहित) को दफा २८ ले प्रदान गरेको आन्तरिक कार्यविधि निर्माणसम्बन्धी व्यवस्थाअनुसार सदस्यहरूले सञ्चालन गरिरहेका उद्योग, व्यवसाय, कृषि, पशुपालन तथा प्रशोधन (प्रोसेसिङ) क्षेत्रका गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन यो कार्यविधि तयार गरिएको संस्थाले जनाएको छ ।
कार्यविधिअनुसार सहकारीमा व्यवसाय सेवा डेस्क स्थापना गरी सदस्यहरूलाई व्यवसाय विकासका पाँच आधार : इच्छाशक्ति, स्थान, प्रविधि, पूँजी र बजारलाई केन्द्रमा राख्दै निरन्तर व्यावसायिक परामर्श, वित्तीय पहुँच तथा बजार सञ्जालमा प्राविधिक सहजीकरण उपलब्ध गराइनेछ । यसमार्फत सदस्यहरूलाई दिगो, प्रतिस्पर्धी र सफल उद्यमी बनाउन सहयोग पुग्ने विश्वास साकोसले गरेको छ ।
कार्यक्रमले “उत्पादनदेखि उपभोक्तासम्म” तथा “सेवादेखि ग्राहकसम्म” को सम्पूर्ण प्रक्रियामा प्राविधिक तथा सहयोगात्मक सेवा प्रदान गर्दै सदस्यहरूको लगानीलाई थप उत्पादक, व्यावसायिक र नतिजामूलक बनाउने लक्ष्य राखेको छ । साथै, ऋणको समयमै भुक्तानी सुनिश्चित गर्नुका साथै उद्यमशीलता विकास, साना तथा मझौला व्यवसायको क्षमता अभिवृद्धि, रोजगारी सिर्जना र स्थानीय आर्थिक विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
कार्यशालामा संस्थाका कोषाध्यक्ष दयानन्द चौधरी, सञ्चालक सदस्य ताराचन्द्र चौधरी, कार्यकारी प्रमुख उमेश कुमार चौधरी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
श्रावण ७ र ८ गते भएको निर्माण कार्यशाला नेफ्स्कूनका वरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने र कार्यक्रम अधिकृत मुकेश दाहालले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको समापनमा अध्यक्ष चौधरीले व्यवसाय विकास सेवा कार्यक्रमले सहकारीका सदस्यहरूको जीवनस्तरमा सकारात्मक सुधार ल्याउनुका साथै उनीहरूलाई थप व्यावसायिक र आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
१६ घण्टा अगाडि
१९ घण्टा अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१२ दिन अगाडि
१३ दिन अगाडि
१४ दिन अगाडि
२५ दिन अगाडि
१७ दिन अगाडि
१७ दिन अगाडि
१५ दिन अगाडि
१७ दिन अगाडि
३० दिन अगाडि
२३ दिन अगाडि