काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सहकारी अभियानको छवि पुननिर्माणको टड्कारो आवश्यकता रहेको निष्कर्षसहित त्यसका लागि देशव्यापी अभियान सञ्चालन गर्ने जनाएको छ ।
केही सहकारीमा आएको समस्या देखाउँदै समग्र अभियानप्रति हिलो छ्याप्ने र गलत भाष्य निर्माण गर्ने योजनाबद्ध प्रयास र ‘ब्लेम गेम’ विरुद्ध एकपटक फेरि अभियान जगाउने गरी देशव्यापी कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष नेफ्स्कूनले निकालेको हो । नेफ्स्कून सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, देशभरका उपसमितिहरु तथा व्यवस्थापन टीम सबैले आ–आफ्नो क्षेत्र र निर्दिष्ट भूमिकाका माध्यमबाट साकोस अभियानको सबलीकरण र शुद्धीकरण गर्दै छवि पुननिर्माणमा योगदान गर्नुपर्ने बेला आएको निष्कर्ष निकालेको हो ।
नेफ्स्कूनले सञ्चालक समिति तथा देशैभरका उपसमितिहरुबीच २०८१ सालका बडा दशैं लगायतका चाडहरुको एकमुष्ठ शुभकामना आदानप्रदानसहित सहकारी अभियानका समसामयिक विषयमा छलफल गर्न आज बिहान आयोजना गरेको भर्चुअल कार्यक्रमका सहभागी साकोस अभियानकर्मीहरुले अभियानको छवि पुनर्निर्माणका लाागि एउटै बोली, लय र ताल मिलाएर देशव्यापी कार्यक्रममार्फत सदस्य संघ संस्थाहरुमाझ पुग्ने विषयलाई अनुमोदन गर्नुभएको हो ।
यसैगरी, वर्तमान असहज परिस्थितिमा साकोस अभियानले नेफ्स्कूनको मार्गनिर्देशन झन् बढी खोजेको निष्कर्षसहित संघको सिङ्गो एक ढिक्का टीमले देशव्यापी कार्यक्रममार्फत सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने साझा निष्कर्ष आजको भर्चुअल बैठकले निकालेको हो ।
कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापासँगै सञ्चालक समिति तथा संघको २५ वटा सदस्य सेवा कार्यालय तथा १४ सेवा कार्यालयहरु गरी ३९ वटै कार्यालयका प्रतिनिधिहरु, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटासहितको उच्च व्यवस्थापनको भर्चुअल उपस्थिति थियो । नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समिति निर्वाचित भैसकेपछि उपसमितिहरु गठनभएपछिको यो पहिलो अभौतिक छलफल कार्यक्रम थियो ।
कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष ढकालले पछिल्लो समय सहकारी अभियान र नेफ्स्कूनबारे भएका गलत रिपोर्टिङहरु चिनुपर्ने आवश्यकता टड्करो रहेको भन्दै त्यसका लागि तालिका बनाएर मुभ गर्नुपर्ने अवस्था चित्रण गर्नुभयो । ‘हामी कुनै रुपमा पनि कमजोर छैनौं, हामीले बाटो बिराएका छैनौं, यो करिब ९ महिनाबीच ऋण असुलीदेखि आन्तरिक संगठन मजबुत बनाउने, सञ्जाल साझेदारी सबल बनाउने, स्तरीकरण कार्यक्रमलाई प्रभावकारी बनाउने, स्थिरीकरण कोषको कार्यविधि संशोधन गर्ने र सहभागिता बढाउनेदेखि सदस्य र समुदायको हितमा धेरै महत्वपूर्ण निर्णय र काम भएका छन्, अध्यक्ष ढकालले भन्नुभयो, ‘तथ्याङ्क र प्रतिवेदनहरुले हामी कुनै पनि रुपमा कमजोर छैनौं भन्ने देखाउँदा देखाउँदै पनि नियोजित रुपमा कुप्रचारबाजी भएका छन् जसलाई हामीले देशव्यापी कार्यक्रम गरेर चिर्नुपर्छ ।’
उहाँले नेफ्स्कूनले आगामी ३३ औं वार्षिक साधारण सभा १६ वर्षपछि काठमाडौं बाहिर लुम्बिनी प्रदेशको बुटवलमा गर्ने निर्णय गरेको अवस्थामा त्यहाँ पनि प्रस्तुत हुने प्रतिवेदनहरुले सदस्यहरुलाई विश्वस्त बनाउन दाबी गर्नुभयो । संघीय राजधानी बाहिर हुन लागेको सदस्यहरुको उक्त महत्वपूर्ण सभालाई सफल बनाउन उपसमितिहरुले पनि भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । नेफ्स्कून अध्यक्ष ढकालले विश्वास दिलाउनुभयो, ‘हामी सबै हिसाबले सबल बन्दै छौं । नेफ्स्कूनले यो बीचमा थुप्रै काम गरेको छ र गर्दै पनि छ, जसको मेसेज दिन पनि हामी देशभर पुग्नुपर्ने छ । नेफ्स्कूनलाई ड्राइभ गर्ने उपसमिति हो, यो प्रि बोर्ड पनि हो त्यही भएर तपाईहरुले जिम्मेवारीपूर्वक साकोस अभियानको छवि पुनर्निर्माण गर्न योगदान गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।’
कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले चाडपर्वको उपलक्ष्यमा व्यक्तिगत, सामाजिक र संस्थागत जीवनको उन्नयनको कामना गर्दै साकोस अभियानको छवि पुनर्निर्माण गर्न सामूहिक भावका साथ अघि बढ्नुपर्ने बताउनुभयो । ‘अहिले असहज परिस्थितिमा साकोस अभियानले नेफ्स्कूनको मार्गनिर्देशन अझ बढी खोजी रहेका छन्,’ बरिष्ठ उपाध्यक्ष अधिकारीले भन्नुभयो, ‘एकताबद्ध भएर साकोस अभियानलाई मार्गनिर्देशित गर्ने गरी अघि बढ्न यो बडा दशैंले हामीलाई शक्ति प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु ।’ उहाँले अगाडि भन्नुभयो, ‘साकोस अभियानको धरोहर नेफ्स्कून मेचीकाली पुग्छ, सदस्यको घरघरमा पुग्छ, सदस्यहरुबीचमै हुन्छ र अभियनको इमेज रिबिल्ड गर्न सक्षम हुन्छ ।’ यसका लागि एक्लै एक्लै नहिडी समूह कार्यमा विश्वासका साथ सञ्चालक समिति, उपसमिति तथा व्यवस्थापको दर्बिलो सहकार्य आवश्यक हुने उहाँले बताउनुभयो । ‘टुगेदर वी क्यान अचिभ मोर’ भन्दै बरिष्ठ उपाध्यक्ष अधिकारीले सदस्यको सर्बोच्चता कायम भएपछि बल्ल साकोस अभियानको इमेज साँचो अर्थमा रिबिल्ड हुने उल्लेख गर्नुभयो ।
संघका महासचिव घनश्याम अधिकारीले पर्वहरुको शुभकामना व्यक्त गर्दै थप उर्जाशील भएर काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले यसबीचमा महत्वपूर्ण काम गरेका छौं, निर्णय गरेका छौं र आगामी पुसमा हुने वार्षिक साधारण सभाको तयारीमा जुटेका छौं ।’ नयाँ आर्थिक वर्षको करिब ३ महिना सकिएसँगै सदस्य संघ संस्थाहरुले वार्षिक कार्यक्रमहरुसँगै साधारण सभा सफलतापूर्वक सम्पन्न गरिसकेको भन्दै उहाँले भन्नुभयो, ‘यो आर्थिक वर्ष सुखद रह्यो भन्ने विश्वास गरेका छौं ।’ नयाँ आर्थिक वर्षको करिब ३ महिना सकिएसँगै वार्षिक कार्यक्रमहरुसँगै साधारण सभा सम्पन्न गरिसकेको अवस्था छ ।
यसैगरी, संघका कोषाध्यक्ष दिपक थापाले सदस्यहरुको बचत सुरक्षणको जिम्मेवारीलाई नेफ्स्कून सञ्चालक समितिले संवेदनशील रुपमा लिएर काम गरेको र अझै धेरै गर्न बाँकी रहेको भन्दै त्यसका लागि उपसमितिको पनि सक्रिय भूमिका र साथ अपेक्षित रहेको बताउनुभयो । ‘हाम्रो कामले अझै धेरै गति लिनुपर्छ, ’कोषाध्यक्ष थापाले भन्नुभयो, ‘नेफ्स्कूनले आन्तरिक संगठन मजबुत बनाउँदै व्यावसायिकता वृद्धिका लागि रणनीतिक रुपमा काम गर्नुपर्छ ।’ ऋण असुलीलाई प्रभावकारी बनाउने र लगानीका क्षेत्रहरु निक्र्यौल गर्न सबैले आफ्नो जिम्मेवारीबोध गरी काम गर्नुपर्ने आवश्यकता कोषाध्यक्ष थापाले औंल्यानुभयो । त्यसका लागि दुर्गा भवानीले प्रेरणा र शक्ति दिउन भन्ने कामना उहाँले गर्नुभयो ।
यस्तै, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.सापकोटाले अब चाँडै प्रदेशस्तरीय कार्यक्रम आयोजना गर्ने भन्दै त्यसमा सन् २०२५ का लागि तय भएको संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्षका लागि साकोस अभियानले के कस्ता कार्यक्रमहरुमार्फत योगदान दिने विषयसँगै नेफ्स्कूनले गरेका कामहरु, लामो समयपछि काठमाडौं बाहिर हुने आगामी साधारण सभामा सबै जुटेर भव्य रुपमा सफल बनाउने, उपसमितिहरुलाई संघका वस्तु सेवासँगै आगामी मार्गचित्रबारे जानकारी गराउने, गलत रिपोर्टिङ चिर्ने र आम सदस्यहरुलाई साकोस अभियानको महत्व बुझाउन तालिका बनाएर हामी ‘मुभ’ गर्ने बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले भन्नुभयो, ‘अभियानलाई एकपटक फेरि उठाउनुपर्नेछ त्यसका लागि देशव्यापी कार्यक्रम हामी अब सञ्चालन गर्छौं ।’
कार्यक्रममा नेफ्स्कूनका सञ्चालकहरु कमलादेवी गिरी, मन्दरा मिश्र, सुशिल कुमार बस्न्यात, लक्ष्मी सापकोटा, ज्ञानु पौड्याल, नवराज अर्याल, र शालिकराम ढकालसहित उपसमितिमा रहनुभएकाहरुले प्रतिनिधिमूलक ढंगले शुभकामनासहित साकोस अभियानलाई दर्बिलो बनाउन एकजुट भएर लाग्नुपर्ने रायसहित आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकामा कुनै कमी हुन नदिने प्रण समेत गर्नुभएको थियो ।
१६ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
३ दिन अगाडि
७ दिन अगाडि
३ दिन अगाडि
२ दिन अगाडि
१६ घण्टा अगाडि
८ दिन अगाडि
४ दिन अगाडि
२२ दिन अगाडि