सुशासन आफैबाट सुरु गर्नुपर्छ: नेफ्स्कून कार्यवाहक अध्यक्ष अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुशासन आफैबाट सुरु गर्नुपर्छ:  नेफ्स्कून कार्यवाहक अध्यक्ष अधिकारी

चितवन । नेफ्स्कूनका कार्यवाहक अध्यक्ष दामोदर अधिकारीले संस्थागत सुशासन, वित्तीय स्वास्थ्य र सहकारीको छवि निर्माणमा सबैको भूमिका आवश्यक भएको बताउनुभयो ।सहकारीमा शुसासन अहिलेको आबश्यकता भएको बताउँदै उहाँले सुशासन आफै बाट शुरु गर्नुपर्ने सुझाउनुभयो ।

सुशासन बोलेर भन्दा व्यवहारबाट प्रदर्शन गर्नुपर्ने र त्यो आफूले दाबी गर्नेभन्दा अरुले अनुभूति गर्ने विषय भएको उहाँले स्पष्ट पार्नुभयो । नेफस्कूनले आज २०८१ मंसिर १२ गते चितवनमा आयोजना गरेको बागमती दोस्रो क्लष्टरको पहिलो पाम (कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला) को उद्घाटनमा संघका कार्यवाहक अध्यक्ष अधिकारीले साकोसका सेवाहरु गुणस्तर हुनुपर्ने, लगानी क्षमताका आधारमा गरिनुपने ऋणको शुद्धतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, अहिलेको चुनौती भनेको नै सुशासन र भाखा नाघेको ऋण व्यवस्थापन हो । उहाँले स्तरीकरण कार्यक्रम र स्तरीकरण कोषलाई साकोस अभियानका दुई पैयाँ बताउँदै दुबैमा सबैको योगदान, भूमिका र सक्रिय सहभागिताका लागि पनि आग्रह गर्नुभयो । 

साथै उहाँले आगामी पुस ५ र ६ गते बुटवलमा आयोजना हुने नेफ्स्कूनको ३३औं वार्षिक साधारण सभामा यो क्लष्टरको तर्फबाट उत्साहजनक सहभागिताको लागिआग्रह समेत गर्नुभयो । उहाँले पाम सञ्चालनको शैलीमा परिमार्जन गरिएको पनि कार्यशालामा जानकारी गराउनुभयो ।

कार्यशालाको उद्घाटनमा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले अहिले सहकारीहरुबीच ऐक्यबद्घता आवश्यक भएको बताउनुभयो । शुसासनमा प्रश्न चिन्ह खडा नहुने गरी काम गर्नपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा संघका संचालक गोपाल प्रसाद गौतम, चितवन सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु, संघका सहायक कार्यकारी अधिकृतहरु दुर्गा प्रसाद ढकाल र राधेश्याम श्रेष्ठको सहभागिता रहेको थियो ।

संघका कार्यक्रम अधिकृत बिनोद ढकालले कार्यशाला संचालन गर्नुभएको थियो । कार्यशालामा उक्त क्लष्टरमा सहभागी २५ वटा संस्थाबाट ३१ जना पुरुष र १६ जना महिला गरी जम्मा ४७ जनाको सहभागीता रहेको छ । नेफ्स्कूनले 'पाम' सञ्चालन शैलीमा गरेको परिमार्जनपछिको प्रोवेसनको यो दोस्रो कार्यशाला हो ।

भर्खरै