दीर्घकालिन रुपमा सहकारीको कारोबार बैंकिङ शैलीबाट पुनः सहकारी शैलीमा रुपान्तरण हुनु जरुरी छ । सहकारीमा मासिक बचतको महत्व वेग्लै छ । बचतका विभिन्न खातामध्ये उक्त नियमित मासिक खाताको प्रतिशत सबैभन्दा माथि हुनुपर्दछ । यसले सहकारीको स्थायित्वमा भूमिका खेल्छ । यसैगरी संस्थाको जगेडा कोष अन्य कोषहरु संस्थाको सबैभन्दा बलियो शक्ति हो । सोही कोषहरुको कारण संस्थाको स्थायित्व सहज हुन्छ ।
ए नानी कता काम गर्छौ रे तिमी ?
हजुर, म त सहकारीमा काम गर्छु ।
ए हो र, भन त नानी तिम्रो सहकारी कहिले भाग्छ त ?
अक्क न बक्क भई उत्तर आउँछ, हामी त्यस्तो छैनौ नि !
सबैका उत्तर यस्तै छन्, तर कुनै पनि दिन सहकारी नभागेको समाचार आउँदैन त नानी !
त्यस्तो होइन, सबै सहकारी त्यस्ता छैनन्, त्यसैले सहकारी छानेर, बुझेर मात्र कारोबार गर्नुपर्छ नि !
यो कुराकानी आजकल नियमित हुने गर्दछ, सहकारी र जनताका बीचमा । नहोस् पनि किन, आर्थिक कारोबार ठूलो बनाउन व्यापारिक चहपहल हुने स्थानमा पैसाकै लागि कलेक्सन काउन्टर स्थापना भए । केही बर्षमै सामान्य हल्लाले पैसा दिन नसक्ने भएर कतिपय सहकारीको भागाभाग भयो । ती सहकारीका सटरमा ताल्चा लागे । सञ्चालकहरु वेपत्ता भए । बचतकर्ताको बिचल्ली भयो । व्यवसायका लागि रकम जम्मा गर्नेको बेहाल भयो । व्याजको लोभमा साँवा पनि सकियो । कतिपयको विल्लीबाठ भयो ।
यही बीचमा कतिपय सहकारी ठाँटले उभिएका छन् । आउनोस् तपाईको बचत फिर्ता पाउँनु तपाईको अधिकार हो । लानोस् कुनै चिन्ता छैन भन्ने सहकारी अझै गाउँ शहरमा प्रशस्त भेटिन्छन् । यसको अर्थ बलिया सहकारीको कमी छैन ।
केही बर्ष अघिसम्मको कुरा फरक थियो । सहकारी दर्ता गर्न नपाएर कतिपय छटपटिएका थिए । तर आज समय फरक बन्यो । बचतकर्ताले कहिले रकम फिर्ता माग्ला र के उत्तर दिने भन्ने पीर कतिपय सहकारीका कर्मचारी र सञ्चालकलाई छ ।
आखिर किन विग्रियो सहकारी ? सहकारीको त्यो बढ्दो साख एक्कासि किन घट्यो ?
यसको उत्तर सबैसँग छ । स्वनियमको पालना भएन, नियामक निकायबाट नियमन हुन सकेन । बजारमा जति ठूलो भाषण गरेपनि सञ्चालक भएपछि फाइदा उठाउनैपर्ने भन्ने भान परेपछि समस्या आउनु अस्वभाविक होइन । सहकारीलाई व्यवसाय र आम्दानीको स्रोत देख्ने एक जमातका कारण समस्या कुनै समय आउने पक्का थियो तर अर्थतन्त्रका सूचक नकारात्मक भईरहदा समस्या सोचेभन्दा छिटो आएको विश्लेषण गर्न सकिन्छ ।
आखिर किन आयो त समस्या ?
१) बैंकिङ प्रणालीगत कारोबार
मुलुकमा अर्बौको कारोबार गर्ने सहकारीको संख्या पनि उल्लेख्य छ । ५ करोडभन्दा माथि कारोबार गर्ने सहकारी संस्था हजारौं छन । एक दशक अघिदेखी सहकारीको बचत बैंकिङ प्रणालीभन्दा बलियो मान्न थालियो । बजारमा पैसा भएर पनि लगानी गर्न नसक्ने र नचाहने दुवैले १२ प्रतिशतदेखी १६ प्रतिशतभन्दा बढीसम्मको व्याज आम्दानीको लोभले बचत जम्मा हुन थाल्यो । सहकारी संस्थालाई सञ्चालकहरुले सहकारी नभएर आफुलाई बैंकको पर्यायवाची बनाउने प्रयास गरे । सहकारीमा सदस्यहरुको समान बचत भन्ने मान्यता हरायो । जसले पैसा ल्याउछ, उसैलाई पुजा गर्न थालियो । यहीबाट सहकारीमा समस्या शुरु भयो ।
२) कमजोर जग
सहकारी संस्थाको सबैभन्दा बलियो पक्ष हरेक शेयर सदस्यको बराबर शेयर र नियमित बचत हुनुपर्ने हो । एक सक्षम सहकारीको कुल पुँजीमध्ये १० प्रतिशत शेयर, कम्तिमा ३० प्रतिशत नियमित बचत र कम्तिमा २० प्रतिशत विभिन्न कोषमा जम्मा हुने रकम हो भने बाँकी ४० प्रतिशत रकम मात्र छिटो फिर्ता हुने रकम हुनुपर्छ । त्यसमा करिब २० प्रतिशत तरलतामा राखिँदा सहकारीमा मात्र २० प्रतिशत दायित्वका लागि मात्र सोच्नुपर्ने हुन्छ । तर यस्तो हुनुपर्ने बैंकिङ प्रणालीमा हुने जस्तै जुनसुकै बेलामा जम्मा गर्न र झिक्न मिल्ने खालका बचत खाता हाबी हुन थाले । फलस्वरुप कहिले तरलता आकाशिने र कहिले तरलता कमी हुन थाल्यो । सञ्चालक समिति र प्रशासन दुवैको टाउको दुखाइ यसैमा हुन थाल्यो ।
३) अनधिकृत कारोबारमा हिस्सा
मुलुकमा करिब डेढ दशक घरजग्गा कारोबार मौलायो । बैंकमा कारोबार गर्दा कर तिरेको सम्पत्ति मात्र देखाउन पाइने भएपछि कतिको पैसा राख्ने स्थान सहकारी भयो । यस्तै कारोबारका लागि सहकारी स्थापना गर्ने प्रवृत्ति बढेर गयो । सहकारीको सिद्धान्त शिथिल भयो । जहाँबाट आएपनि पैसा आउने र छोटो अवधिमा पैसा कमाउने उद्देश्य हावी हुन थाल्यो । यसले सहकारीलाई वैधानिकताबाट अवैधानिक बाटोतर्फ धकेल्यो ।
४) लगानीमा अनुशासनहीनता
यही प्रयासमा सहकारीको रकम लगानी हुनुको साटो प्रयोग हुनुपर्छ भन्ने मान्यता स्थापित भयो । सहकारीको रकम सही क्षेत्रमा सुरक्षित लगानी हुनुको साटो रकम आफन्तलाई सञ्चालकको इच्छाले बाँडियो । बास्तविक रुपमा अन्यथा नमान्ने हो भने सहकारीमा लगानी भएन, पैसा बाँडियो । यसले सहकारीमा अनुशासनहीनता उत्कर्षमा पुर्यायो ।
५) ऋण लिनेको बचत नगर्ने प्रवृत्ति
सहकारीमा दुइ प्रकारका सदस्यहरु बढ्दै गएका छन् । बचत गर्नेले ऋण नलिने र ऋण लिनेले बचत नै नगर्ने । नियमित बचत गर्ने सदस्य कर्जाग्राही बनेपछि बचत नै नगर्ने प्रवृत्तिले सहकारीको सीमामा तरबार लगाएको छ ।
६) बजारमा निर्भर कारोबार
सहकारीको आधार सदस्य हुनुपर्नेमा कारोबार वृद्धिका लागि शेयर सदस्यतासमेत नदिई कारोबार गरेको देखिन्छ । संस्थापक मात्र शेयर सदस्यको रुपमा रहेको र शेयर नै नलिई बनाइएका बचतकर्ता हजारौं रहेको सहकारीसमेत भेटिएका छन् । यसको अर्थ सदस्यकेन्द्रित कारोबारभन्दा बजारकेन्द्रित कारोबारले सहकारीलाई सहकारी बन्नबाट बञ्चित गरिरहेको उदाहरण सजिलै भेट्न सकिन्छ ।
७) बैंकको ब्याजदर बृद्धि
राष्ट्र बैंकको मान्यता प्राप्त वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले बजारमा तरलता अभाव हुनेवित्तिकै मासिक व्याजदर दिने गरी ब्याज वृद्धि भयो । सहकारीमा लगाइएको ब्याजको क्यापका कारण ब्याजकै लागि बचत रकम बाहिर निस्कन थाल्यो । सहकारीको तरलता एक्कासी घट्यो । सहकारीले बचत फिर्ता थाम्न सकेन । सहकारीले पैसा नदिने हल्ला चल्न थाल्यो । सहकारीका काउन्टरमा सदस्यले फिर्ता लिन लाइन बसेपछि कुनै पनि वित्तिय संस्थाले थाम्न सक्दैन । भित्री रुपमा केही सहकारीले व्यक्तिगत फाइदाका लागि संस्थाको प्रयोग भएको रकम समयमा नआउँदा एकपछि अर्को सहकारी डुबेको खबर आउँन थाल्यो ।
माथिका सबै विषय पुँजी संकलन र वितरणकै लागि बजारकेन्द्रित हुने की सदस्य केन्द्रित हुने भन्नेतर्फ बहस हो । यसको अर्थ सहकारीलाई पुँजीमैत्री बनाउने की, बजारमैत्री बनाउने वा सदस्यमैत्री यसमा छलफल गर्न पर्ने आवश्यकता नै छैन । किनकी सहकारीका लागि ७ सिद्धान्त आफैंमा यसको निर्देशक सिद्धान्त हुन् ।
अवको समयमा सहकारी क्षेत्रमा सदस्य केन्द्रित कारोबार हुन सकेमा सहकारीको अस्तित्वमा दाग लाग्दैन । कसैले नियमित बचत गर्दैन भने उसले ऋण पाउनुपर्छ भन्ने छैन । फेरी अर्को सन्दर्भ सहकारीमा सदस्यले राखेको साधारण बचत खातामा राखेको रकम फिर्ता पाउनु उसको अधिकार हो तर संकटको समयमा ऋण सुविधा हो । सुविधा अवस्था अनुसार लिनुपर्छ । दिनैपर्छ भन्ने बाध्यता होइन । सहकारीमार्फत सदस्यले प्राप्त गर्ने सुविधालाई निश्चित कसीमा राख्नु अनिवार्य छ ।
कतिपय सहकारीको प्रवृत्तिले आज समग्र सहकारी क्षेत्रलाई संकटमा पारेको छ । यो संकटको अल्पकालीन समाधानका लागि संस्था स्वयं, सदस्यहरु र नियमक निकायले अवस्थाअनुसार कदम चाल्नु आवश्यक छ । ऋणि सदस्यले लगेको ऋणको केही हिस्सा फिर्ता गर्न सकिएमा यो समस्या अल्पकालीन रुपमा समाधान हुन सक्दछ । पुरै सञ्चालक टिममध्ये केहीले गरेको बदमासीका कारण पुरै सहकारीको पहिचान धमिलिने गरेको सन्दर्भमा समस्या देखिन शुरु गरेको सहकारीका सञ्चालक सदस्यहरु चनाखो भई सहकारीका जिम्मेवार पदाधिकारी र कार्यकारीलाई जवाफदेही बनाउन ढिला भईसकेको छ ।
संकटको समयमा हरेक सञ्चालकले सहकारीको कारोबार जिम्मेवारी दिइएको कर्मचारीलाई पारदर्शिताका लागि कार्य गर्दै समन्वयात्मक सहयोग गनुपर्दछ भने सहकारीको लेखा सुपरिवेक्षण समितिको अधिकारको प्रयोग हुनु जरुरी छ । संस्थामा एकल वा दुइजनाको निर्णयका कारण ७० लाख भन्दा माथिका सदस्यहरुको बचत र शेयर संकटमा पर्नु भनेको यो क्षेत्रको आवश्यकतालाई संकटमा पार्नु हो त्यसैले अल्पकालिन रुपमा तरलता व्यवस्थापन महत्वपूर्ण हुन्छ । यसमा सबैको ध्यान जानुपर्छ ।
दीर्घकालिन रुपमा सहकारीको कारोबार बैंकिङ शैलीबाट पुनः सहकारी शैलीमा रुपान्तरण हुनु जरुरी छ । सहकारीमा मासिक बचतको महत्व वेग्लै छ । बचतका विभिन्न खातामध्ये उक्त नियमित मासिक खाताको प्रतिशत सबैभन्दा माथि हुनुपर्दछ । यसले सहकारीको स्थायित्वमा भूमिका खेल्छ । यसैगरी संस्थाको जगेडा कोष अन्य कोषहरु संस्थाको सबैभन्दा बलियो शक्ति हो । सोही कोषहरुको कारण संस्थाको स्थायित्व सहज हुन्छ ।
आजको समयमा सहकारीलाई बचाउन यसको सिद्धान्त प्रयोग हुनु अनिवार्य छ । सहकारीको प्रतिस्पर्धा आफैंसँग छ । स्वनियमको कार्यान्वयन कत्तिको भएको छ, सुशासनको अवस्था कस्तो छ, यसैले सहकारीको स्थायित्व देखाउँछ । सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्नु भनेको मूर्खता हो । बैंकले पूर्ण नाफा खोज्छ, त्यहाँ संवेदना छैन । सहकारी भनेको आवश्यकतालाई एकाकार गर्दै आर्थिक समृद्धिको बाटोमा हिडाउनु हो ।
त्यसैले सहकारीको विकल्प सहकारी नै हो र बैंकको विकल्प बैंक नै हो । सहकारीको विकल्प बैंक हुन सक्दैन र बैंकको विकल्प सहकारी कदापी हुन सक्दैन । यिनीहरुको आर्थिक प्रवृत्ति मिल्ला, तर सिद्धान्तको मिलन हुन सक्दैन र हुनुपनि हुदैन । सहकारीको बैंक बन्ने चाहनामा बैंकले ब्याजदर बढाइदिंदा ५ खर्ब आकारको सहकारीको कारोबारमा भुकम्प आयो । पैसा बैंकमा दौडिन थाल्यो । तासको घर झै सहकारीमा जोडिएका पैसा फिर्ता हुन थाले । सञ्चालकको भागाभाग हुन थाल्यो । सदस्यको विल्लिबाठ हुन थाल्यो । त्यसैले सहकारीको पुर्नसंरचना हुन जरुरी छ ।
सहकारीले बैंकको ब्याजका कारण आफ्नो बचत गुमाउनुपर्ने अवस्था आउनु भनेकै सहकारीमा थोरै व्यक्तिको धेरै रकम जम्मा हुनु मुख्य कारण हो । ब्याज आम्दानीलाई मुख्य आयस्रोत मान्ने सदस्यको लागि जहाँ ब्याज बढी आउँछ त्यहा लानु उसको बाध्यता हो । यदि बचतको सानो हिस्सा मात्रै जतिबेला पनि निस्कने खातामा रहेको भए हालको तरलता समस्या हुदैनथ्यो । यतिबेला बैंकमा पैसा फालाफाल छ । एक समय ९२ रहेको सि.डि. रेसियो घटेर करिब ८१ मा झरेको छ । संकटका कारण बैंकको ब्याज घट्दा पनि सहकारीमा तरल पुँजीको अभाव छ । सदस्यहरुमा आफ्नो बचत के हुने भन्ने डर छ । त्यसैले दीर्घकालिन रुपमा सहकारीले आयतन मात्र बढाउने भन्दा पनि आयतन र सहकारीगत व्यवस्थापन दुवैमा ध्यान दिनु अपरिहार्य भइसकेको छ ।
लेखक बडिखेल बचत तथा ऋण सहकारी संस्था लि. ललितपुरका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
१२ दिन अगाडि
५ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
२३ दिन अगाडि